डी मारिया युभेन्ट्समा

Read Time = 4 mins

लन्डन । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित हुनुभएको छ । मिडफिल्डर डी मारियाले फ्री ट्रान्सफरमार्फत् युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्नुभएको हो ।

३४ वर्षीय डी मारियाले सात वर्षपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्नुभएको हो । सन् २०१५ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट इंग्ल्यान्डको कीर्तिमानी मूल्य ५९.७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड आउनुभएका डी मारिया त्यसको एक सिजनपछि ४४.३ मिलियन पाउन्डमा पिएसजी जानुभएको थियो ।

पिएसजीमा सात सिजन खेल्दा उहाँले २९४ खेलमा ९१ गोलसँगै १११ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको छ । पिएसजीका लागि उहाँले १८ उपाधि जित्नुभएको छ । जसमा उहाँले पाँच फ्रेन्च लिग वानको उपाधिसमेत जित्नुुभएको छ ।

यस्तै फ्रान्सेली मिडफिल्डर पउल पोग्वा पनि युभेन्ट्समा अनुबन्धित हुनुहुने भएको छ । २९ वर्षीय पोग्वा पनि म्यानचेस्टर युनाइटेडबाट फ्री एजेन्टमा युभेन्ट्समा आबद्ध हुन लाग्नुभएको हो । उहाँ ६ वर्षपछि युभेन्ट्स फर्कन लाग्नुभएको हो । ६ वर्षअघि युनाइटेडले पोग्वालाई त्यतिबेलाको विश्व कीर्तिमानी ८९ मिलियन पाउन्डमा भिœयाएको थियो ।

यस्तै इंग्लिस क्लब टोटेनहम हटस्परले क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली सेन्टर ब्याक क्लेमेन्ट लेङलेटलाई अनुबन्ध गरेको छ । २७ वर्षीय लेङ्लेट एक सिजनका लागि ऋणमा टोटेनहममा अनुबन्धित हुनुभएको हो ।

उहाँले गत सिजन बार्सिलोनाका लागि केवल २७ खेलमा खेल्नुभएको थियो । २०१८ मा अर्काे स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुग्नुभएका लेङ्लेटले चार सिजनमा १६० खेलमा ७ गोल गर्नुभएको छ । २०१९ देखि फ्रान्सेली टोलीमा रहनुभएका उहाँले बार्सिलोनाबाट एकपटक ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जित्नुभएको छ ।

बार्सिलोनाले लेङ्लेटलाई २०१८ मा ३२ मिलियन युरो खर्चेको थियो । सम्झौतामा उहाँको रिलिज क्लज २६५ मिलियन युरो राखेको थियो । यता इंग्लिस क्लब टोटेनहम हटस्परका विंगर मिडफिल्डर स्टेभन वर्गवाइन डच क्लब आयाक्समा अनुबन्धित हुनुभएको छ । वर्गवाइनले ३० मिलियन युरोमा आयाक्ससँग पाँच वर्षको सम्झौता गर्दै नेदरल्यान्ड्स पुग्नुभएको हो । टोटेनहममा साढे दुई सिजन बिताउँदा उहाँले ८३ खेलमा आठ गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?