यातायात कार्यालय नसार्न स्थानीयको दबाब

Read Time = 2 mins

भक्तपुर । भक्तपुरको जगातीमा रहेको सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय ठिमीस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भएपछि स्थानीयवासी तथा लेखापढी व्यवसायी विरोधमा उत्रिएका छन् । स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउनेबित्तिकै कार्यालय सार्न लागिएको आरोप लगाएको छ ।

सूर्यविनायक नगरपालिका-८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको यातायात व्यवस्था कार्यालय पाँच वर्षपछि राधे राधेमा सर्न लागेको हो । संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्डभित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आएलगत्तै ठूलो रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको आरोप लगाउनुभएको छ । कार्यालयका प्रमुख भट्टराईसँग घरभाडा सम्झौता नवीकरणमा आर्थिक लेनदेनको कुरा नमिलेपछि बिनासूचना र कोटेसनसमेत आहृवान नगरी कार्यालय सारिनुले आर्थिक चलखेलको पुष्टि भएको उहाँको भनाइ थियो ।

कार्यालय सार्न खोजेको घर भूकम्पअघि बनेको, मापदण्डभन्दा साना कोठा, भर्‍याङ, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको संघर्ष समितिको दाबी छ । मध्यपुरठिमीको राधे राधेमै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एकतले भवन हुँदाहुँदै विधि र प्रक्रियासमेत पूरा नगरी कार्यालय अन्यत्र सारिनुमा आर्थिक चलखेल नै रहेको संघर्ष समितिको जिकिर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?