क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ६४ जना कैदीबन्दी छन् । ५३ जना कैदी र ११ जना थुनुवा गरी ६४ जना रहेको जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापन र सुरक्षा चुनौती थपिएको उहाँले बताउनुभयो ।

‘२५ जनाको क्षमता हो, कैदीबन्दी र थुनुवा गरी ६४ जना रहेका छन् । बसाइ व्यवस्थापनमा एकदमै चुनौती छ, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा एउटा खाटमाथि अर्काे खाट थपेर राखेका छौँ,’ प्रमुख भण्डारीले भन्नुभयो । बसाइ व्यवस्थापनसँगै कारागारभित्र खानेपानीको समेत समस्या रहेको छ । धारामा तीन दिनमा मात्रै पानी आउने गरेको उहाँले बताउनुभयो ।

जिल्ला कारागारमा बसोबासका लागि उचित व्यवस्था नभएको भन्दै कैदीबन्दीहरूले गुनासो गर्ने गरेका छन् । कारागारको भवन पनि जीर्ण बन्दै गएको छ । विसं २०४० सालमा निर्माण गरिएको भवन अहिले जीर्ण बन्दै गएको कारागार प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो । कारागार भवन निर्माणका लागि पटक-पटक पत्र पठाउँदासमेत कुनै सुनुवाइ नहुँदा जीर्ण भवनभित्र नै कैदीबन्दीहरूलाई राख्नुपरेको उहाँले बताउनुभयो । ‘एकातिर क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी छन्, कारागारको भवन जीर्ण छ,’ भण्डारीले भन्नुभयो, ‘सुरक्षा चुनौती एकदमै बढेको छ ।’

कारागारभित्र सुरक्षा चुनौती बढेपछि महिला कैदीबन्दीलाई डडेल्धुरा पठाउने गरिएको छ । महिला कैदीबन्दीहरूका लागि कारागार भवनमा राख्नलाई सुरक्षित किसिमको व्यवस्था नभएकाले उनीहरूलाई डडेल्धुरा पठाउने गरिएको भण्डारीले बताउनुभयो । सुरक्षाका लागि ब्यारेकको समेत समस्या रहेको जिल्ला कारागार बैतडीले जनाएको छ । ठाउँ अभावका कारण कारागारभित्र रहेका कैदीबन्दीहरूलाई अन्य सीपमूलक काममा लगाउनसमेत समस्या हुने गरेको कारागारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?