आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक रोचक हुने अनुमान, शेखर पक्षले सरकारको कार्यशैलीबारे गम्भीर समीक्षा गर्ने

नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले आज (सोमबार)बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेण्डा तय गरेको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

त्यसैगरी, पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोमबारदेखि केन्द्रीय समिति बैठक हुँदैछ । त्यो बैठकमा समीक्षा, चाहे स्थानीय तह निर्वाचनको होस् वा सरकारको समीक्षा होस् । यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस् । पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरूमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने ? र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’

बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाब दिने निर्णय गरेको छ । पार्टीको भ्रातृ संस्था र विभागहरूलाई विधिवत् रूपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताउनुभयो । बैठकमा पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा.रामशरण महत लगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रूपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ ।

पार्टीको विधानअनुसार विभागहरू समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रूपमै आलोचना गर्दै आएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगियो
नेपाली कांग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मस्यौदा तयार गरिएको बताइएको छ । यस्तै, सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?