श्रीलंका हालका दिनहरूमा आर्थिक संकटमा फसिरहेको छ । कुनै समय दक्षिण एसियाको सम्पन्न मुलुक मानिने श्रीलंका हाल किन यस्तो अवस्थामा पुग्यो यो गम्भीर विषय हो । श्रीलंका हिन्द महासागरको तटीय देश हो । झण्डै तीन दशकसम्म गृहयुद्धमा फसेको देश भएर पनि युद्धको समाप्तिपछि यसले राम्रो गति लिएको थियो । आर्थिक रूपमा कमजोर हुन पुगेको भए पनि त्यसपछिका दिनहरूमा त्यसबेला भएको क्षतिको पूर्ति गर्दै आएको थियो । गृहयुद्धको समयमा धेरै वर्षसम्म बन्द रहेका शैक्षिक प्रतिष्ठानहरू सुचारु भएका थिए । सार्कका सदस्य राष्ट्रमै सबैभन्दा उच्च साक्षरता प्रतिशत भएको देश हो श्रीलंका । भेल्लुपिआई प्रभाकरणले नेतृत्व गरेको तमिल टाइगरको पृथकतावादी आन्दोलन उनलाई मारेपछि समाप्त भएको थियो ।
यसपछि गृहयुद्धले जर्जर भएको देश प्रगतितिर जानुपर्ने थियो तर त्यसो हुन सकेन । यसको अन्तर्यमा त राजनीतिज्ञहरूमाथि नै नैतिक प्रश्न तेर्सिन जाने हो । यो जुनसुकै देशको ठूलो समस्या हो । त्यहाँ पनि त्यही नै भयो । देश विकासका लागि भनेर श्रीलंकाले चीनसँग ठूलो धनराशिको ऋण लियो । राजनीतिज्ञहरूले त्यसको दुरुपयोग गरे । राज्यको धनमा मोजमजा, ऐसआराम गर्न थाले । परिणामतः हाल सरकारी कोष रित्तिँदै गएर आर्थिक रूपमा देश टाट पल्टिएको घोषणा नै गर्नुपर्यो । विदेशी मुद्राको सञ्चिति समाप्त प्रायः भएको वर्तमान अवस्थामा त्यहाँका शैक्षिक निकायहरू बन्द गर्न सरकार बाध्य भयो ।
विद्यार्थीहरूका लागि कपी किन्ने पैसा नभएर परीक्षा नै स्थगित गर्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण नियति नै हो । अहिले शिक्षा आर्जन गर्न नपाएपछि भविष्यमा देश चलाउने योग्य पिढीको उत्पादनको बाटो पनि यसले गर्दा छेकिन पुगेको छ । श्रीलंकाले विश्वबैंकलगायत अन्तर्राष्ट्रिय वित्तीय निकायसँग अनुदान माग गरिरहेको छ तर तिनले त्यस्तो रकम दिने घोषणा गरेका छैनन् । अब श्रीलंकालाई जोगाउन कि सम्पन्न राष्ट्रहरूले उसलाई अनुदान दिनुपर्छ कि सुलभ ऋण दिनुपर्छ । एउटा मित्रराष्ट्रलाई बचाउन ऋण दिएका चीनलगायत राष्ट्रहरूले ऋण मिनाह गरिदिने हो भने पनि उसलाई अवश्य पनि राहत पुग्न सक्छ ।
हाल यही आर्थिक संकटले गर्दा त्यहाँ राजनीतिक संकट पनि निम्तिएको छ । जनता आक्रोशित भएर प्रधानमन्त्री कार्यालय तथा राष्ट्रपति भवनमै कब्जा जमाए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले सर्वदलीय सरकार बनाउने सहमतिमा पदत्याग गर्ने घोषणा गर्नुभएको छ भने राष्ट्रपति गोताबाया राजापाक्षे आफ्नो सरकारी निवास छोडेर भाग्नुभएको छ । भनिरहनु पर्दैन यस्तो अवस्थाको सिर्जना भनेको देश अप्ठ्यारो अवस्थामा पुग्नु हो । दक्षिण एसियाकै सम्पन्न भनिएको मुलुक श्रीलंकामा त यस्तो अवस्था सिर्जना भयो भने अरूले यसबाट केही सिक्नैपर्छ । नेपाल त सानो र दक्षिण एसियाकै एउटा गरिब देश हो । सार्कका भुटान, माल्दिभ्स र बंगलादेशहरू हाल राम्रो आर्थिक उन्नतिको मार्गमा लम्किरहेका छन् ।
नेपालले भने राजनीतिज्ञहरूको इमानदारी नभएका कारणले पनि यथास्थितिमा रहिरहनसमेत मुस्किल भइरहेको छ । आर्थिक सञ्चिति कम भइरहेको छ भनिएको छ । ‘नेपाल पनि श्रीलंकाकै बाटोमा’ भन्ने हल्लाहरू चल्ने गर्छन् । यसमा आधिकारिकता नहोला तर हाम्रा अधिकार सम्पन्न व्यक्तिहरू यसबारेमा बोल्ने गरेका छैनन् । राजनीतिज्ञहरूले आफ्नो व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय चिन्तनमा लाग्नु आवश्यक छ । अन्यथा भोलि देशको अवस्था नाजुक बन्न पुग्यो भने जनताको पनि दुर्गति हुनेछ । त्यसैले समय छँदै सबैले यसबारे सोच्नु जरुरी छ । घरमा आगलागी भइसकेपछि इनार खन्नुको कुनै अर्थ रहने छैन । राजनीति गर्नेहरूले केवल चुनाव केन्द्रित राजनीतिको बाटो छोडेर अब राष्ट्रियस्तरमा साझा चिन्तनका आधारमा काम गर्नु नै उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच