सीपीसीका विदेश विभाग प्रमुख लिउले प्रचण्डसँग भेट्दै(यस्तो छ कार्यतालिका)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उहाँले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट गर्नु भएको थियो । लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार राति होटल मेरियटमा रात्रिभोजको आयोजना पनि गर्नुभएको थियो ।

त्यसअघि चिनियाँ पाहुना टोली बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित बीपी संग्रहालयको अवलोकनमा जाने कार्यक्रम छ। त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ।

अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

लिउ जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ ।

लिउ आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको थियो । लिउ काठमाडौंको होटल द्वारिकामा रहनुभएको छ ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट यो दोस्रो उच्च तहको भ्रमण भएको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीनदिने भ्रमण गर्नुभएको थियो ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ भने थप प्रक्रिया अघि बढेको छैन । नेपाली नेताहरूसँगको कुराकानीमा ‘पोलिटिकल पार्टीज प्लस’ सहकार्यबारे चर्चा गर्दै आउनुभएका लिउ राजनीतिक भेटवार्ताका लागि काठमाडौं आउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?