‘गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपाललाई होइन’

Read Time = 5 mins

काठमाडौं । भारतले पछिल्लो समय गहुँ र चिनीलगायतको निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि नभएको दाबी गरेको छ । भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालस्थित नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार नवनियक्त राजदूत श्रीवास्तवको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुु निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगलाई समस्या पर्न थालेको बताउनुभएको थियो । तर, राजदूत श्रीवास्तवले भन्नुभयो, ‘भारत सरकार भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ, हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहन्छौँ ।’

अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूमा पूर्वाधार विकास, प्रयोगशालाको स्तरीकरण तथा थप प्रयोगशाला विस्तार, गैरभन्सार अवरोधका विषयमा राजदूतको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालको भारतसँगको व्यापारघाटा नेपालका लागि चिन्ताको विषय भएको भन्दै व्यापारघाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो । लामो समयदेखि वीरगञ्ज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष गोल्छाले निर्माणका लागि समेत आग्रह गर्नुभयो । त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्ग विस्तारमा जोड दिँदै प्रयोगशाला अभावमा कृषिजन्य उत्पादन निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको थियो । गैरभन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडीबुटी निर्यातमा समस्या देखिएको छ । त्यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि गोल्छाले आग्रह गर्नुभयो ।

राजदूत श्रीवास्तवले सडक, रेल, हवाई साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्या समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार रहेको जानकारी गराउँदै ल्याब टेस्ट सम्बन्धमा भारतले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको बताउनुभयो । अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका उद्योग, वाणिज्य तथा वाणिज्यमन्त्रीसमक्ष अनुुरोध गरेको पनि उहाँले जानकारी गराउँदै महासंघलाई पनि आवश्वक पहलका लागि आग्रह गर्नुभयो ।

उहाँले गैरभन्सार अवरोधका सम्बन्धमा महासंघका गुुनासातर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यसप्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले समस्या भए समाधान गर्न तयार रहेको बताउनुभयो । अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अघि बढाएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्नुभएको साथै राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ । सो अवसरमा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघाई, कार्यकारिणी समितिका सदस्य, विभिन्न संघका अध्यक्ष, महासंघका महानिर्देशकसमेतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?