चिनियाँ विदेश विभाग प्रमुख लिउको नेपाल भ्रमण, वामपन्थी दलहरूको एकता र तिब्बती सुरक्षामा बढी चासो

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । चारदिने नेपाल भ्रमण पूरा गरी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्छाओ स्वदेश फिर्ता हुनुभएको छ । ६ सदस्यीय टोलीको नेतृत्व गर्दै २६ असारमा काठमाडौं आउनुभएका चिनियाँ नेता लिउ चियान्छाओ बुधबार साँझ बेइजिङ प्रस्थान गर्नुभएको हो । नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन भएपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुनुहुन्छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो ।

चीनले नेपालमा दुई देशबीचको द्वीपक्षीय सम्बन्ध र सुरक्षा मामिलालाई मात्र नभई राजनीतिक दलहरूबीचको सम्बन्धलाई समेत जोड दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग गरेको कुराकानीका आधारमा हेर्दा सके पार्टी एकता नभए चुनावी गबठन्धन गर्न सन्देश दिएको देखिन्छ ।

चिनियाँ प्रतिनिधिसँगको भेटपछि नेपाली नेताहरूको प्रतिक्रियाले पनि त्यही संकेत गरेको छ । त्यसैगरी, पछिल्ला दिनमा नेपालमा तिब्बतीहरूको गतिविधिका कारण चीन तिब्बतको सुरक्षामा नेपालसँग विश्वस्त हुन नसकेको देखिन्छ । सरकारी अधिकारीहरू प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा तिब्बती सुरक्षाको चासो राखिएको थियो । सरकारी प्रतिनिधिका अलवा राजनीतिक दलका प्रतिनिधिहरूसँग चिनियाँले यो कुरा उठाएका छन् ।

नेपालको बढ्दो अमेरिकीसँगको सहकार्य र सम्बन्धले चीनको सुरक्षामा खतरा पर्न सक्छ भन्ने सन्देश दिन खोजेको पनि देखिन्छ । खासगरी, एमसिसी अनुमोदनसँगै आएको एसपिपीको कुराले चीनलाई बढ्ता झस्काएको देखिन्छ । यसप्रति पनि चीनले चासो राखेको देखिन्छ ।

चियान्छाओले अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटवार्ताको क्रममा राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि सबै मित्र राष्ट्रको सहयोग नेपाललाई आवश्यक रहेको बताउनुभयो । नेपाल र चीनको सम्बन्ध हार्दिक रहेको बताउँदै राष्ट्रपति भण्डारीले सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको धारणा राख्नुभयो । ‘चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धले नयाँ आयाम लिएको छ,’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीका प्रेस सल्लाकार टिका ढकालले भन्नुभयो, ‘हामी हाम्रो विकासमा चिनियाँ सहयोगको अपेक्षा गर्छाैँ ।’

यस्तै, राष्ट्रपतिसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले चीनले नेपालका सबै राजनीतिक पार्टीसँग सम्बन्ध बढाउन चाहेको बताउनुभयो । राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लिउको कुराकानी उद्धृत गर्दै ढकालले भन्नुभयोे, ‘चीन नेपालका सबै राजनीतिक पार्टीसँगको सम्बन्ध विस्तार गर्न चाहन्छ । नेपालका सबै राजनीतिक पार्टीले नेपालबाट हुनसक्ने चीनविरोधी गतिविधिलाई रोक्न खेलेको भूमिकाका हामी प्रशंसा गर्छौँ ।’

२६ असारमा काठमाडौं आउनुभएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नुभएको थियो । उहाँको सम्मानमा परराष्ट्रमन्त्री खड्काले सोही दिन रात्रिभोजको आयोजनासमेत गर्नुभएको थियो । यस्तै, २७ असार बिहान सुन्दरीजलस्थिल बिपी संग्रहालय पुग्नुभएका लिउले अपराह्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका पार्टीका नेताहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो । उहाँको सम्मानमा सोही दिन दाहालले रात्रिभोजको आयोजना गर्नुभएको थियो भने रात्रिभोजअघि दुई नेताबीच एकल वार्ता भएको थियो । २८ असारमा उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्नुभएको थियो । करिब ६ घण्टा चलेको भेटवार्तासँगै लिउको सम्मानमा ओलीले बालकोटस्थित आफ्नै निवासमा दिवाभोजको आयोजना गर्नुभएको थियो । ओलीसँगको भेटवार्तापछि चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको थियो ।

चीनविरुद्ध नेपालको भूमि प्रयोग नहोस् भन्ने लिउको चिन्ता : खनाल
पूर्व–प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गरेको बताउनुभयो । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले विदेशीले चीनविरुद्ध नेपालको भूभाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता लिउमा रहेको बताउनुभएको हो । उहाँले लिउको भ्रमण सो कुरा जाहेर गर्नका लागि भएको बताउनुभयो । उहाँले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो । पूर्व-प्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त हुनुभएका लिउले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताउनुभयो । यो भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उहाँले उल्लेख गर्नुभयो ।

चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको छ : ज्ञवाली
नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताउनुभयो । नेपालको भूमि चीनविरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशील देखिएको उहाँले बताउनुभयो । त्यस्तै, राजनीतिक स्थायित्व हुन सबै राजनीतिक दलबीच समझदारी गरेर अगाडि बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताउनुभयो । त्यस्तै उहाँले एशियामा शक्ति राष्ट्रको हस्तक्षेप बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चीनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चीनको चिन्ता : गजुरेल
नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताउनुभयो । उहाँले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदीक्षा रहेको भन्दै पछिल्ला निर्णयका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताउनुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरू एकै ठाउँमा आइदिऊन् भन्ने चाहना राख्नु स्वाभाविक भएको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?