विश्वराज पोखरेलको रिट सर्वोच्चबाट खारेज

यज्ञराज पाण्डे
Read Time = 7 mins

काठमाडौं । एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ । नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई गरिएको नियुक्ति कानुनसम्मत नभएको भनी एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गर्ने फैसला गरेको हो । रिट खारेजीसँगै आइजिपीमा धीरजप्रताप सिंहलाई गरिएको सरकारको नियुक्ति सदर भएको छ । सिंह प्रहरीको आइजिपी कायम हुनुभएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यस्तै, यसअघि तीन डिआइजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको सर्वोच्चले जनाएको छ ।

आइजिपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो । मुद्दामा शुक्रबार निवेदक एआइजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गर्नुभएको थियो । पोखरेलका कानुन व्यवसायीले ज्येष्ठता, कार्य सम्पादन मूल्यांकनलगायत प्रहरीको बढुवामा आवश्यक सबै मापदण्डका आधारमा पोखरेल नै अगाडि रहेकाले उहाँलाई प्रहरीको महानिरीक्षक बनाइनुपर्ने जिकिर गरेका थिए । सरकारले मापदण्ड मिचेर ‘कानुनविपरीत’ सिंहलाई आइजिपी नियुक्त गरेर स्वेच्छाचारिता प्रदर्शन गरेको कानुन व्यवसायीहरूको दलिल थियो । सरकारको स्वेच्छाचारितामा ‘ब्रेक’ लगाउन भए पनि पोखरेललाई आइजी नियुक्त गर्न परमादेशको आदेश जारी हुनुपर्ने उनीहरूले माग गरेका थिए । तर, सर्वोच्चले भने सरकारको निर्णय नै सदर हुने गरी रिट खारेज हुने फैसला गरेको हो ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आइजिपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँपटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआइजी पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

सरकारले वरीयताको तेस्रो नम्बरमा रहेका सिंहलाई नयाँ आइजी बनाएको पोखरेलको दाबी थियो । आफूभन्दा डेढ वर्ष जुनियरलाई आइजिपी नियुक्त गरेको भन्दै उहाँले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । पोखरेलले आइजी बढुवाका लागि आफू मात्र योग्य रहेको जिकिर रिटमा गर्नुभएको थियो । आइजिपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता उहाँ काममा फर्किनु भएको छैन । अब श्रावण २० मा अनिवार्य अवकाशमा जाने भएकाले एक महिना कार्यकाल बाँकी रहँदै बिदामा बस्नुभएको हो ।

राजीनामा दिने तयारीमा एआइजी पोखरेल
सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजी)मा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गर्नुभएको छ । पोखरेलले एक दुई दिनमै राजीनामा दिने तयारी गरेको उहाँनिकट स्रोतले जानकारी दिएको छ । पोखरेलले बिदा माग गर्दै फारम पेश गरे पनि आइजिपी सिंहले बिदा स्वीकृत गर्नुभएको छैन । प्रहरी नियमावलीअनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिने तयारी गर्नुभएको हो । पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्दैछ । बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधासमेत नपाउने हुँदा पोखरेल राजीनामा दिने अवस्थामा पुग्नुभएको बताइएको छ ।

त्यसो त उहाँ आउँदो साउन २० गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । तर, त्यतिन्जेल उहाँको गयल प्रहरी नियमावलीअनुसार ४५ दिनभन्दा बढी हुन जान्छ । ४५ दिन नाघेपछि आइजिपीले बर्खास्त गर्न मिल्ने कानुनी व्यवस्था छ । यसर्थ काममा फर्किनु वा राजीनामा दिनुबाहेक उहाँसँग विकल्प छैन ।

विगतमा पनि आइजिपी बढुवाविरुद्ध मुद्दा खारेज भएपछि तत्कालीन प्रतस्पर्धीहरूले राजीनामा दिएका थिए । यसअघि आइजिपी बढुवाविरुद्ध मुद्दा खारेज भएपछि तत्कालीन डिआइजी नवराज सिलवालले राजीनामा दिनुभएको थियो । यसैगरी, सरकारले सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि असन्तुष्ट रमेश खरेलले पनि राजीनामा दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?