विश्वराज पोखरेलको रिट सर्वोच्चबाट खारेज

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 7 mins

काठमाडौं । एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ । नेपाल प्रहरीको आइजिपीमा धीरजप्रताप सिंहलाई गरिएको नियुक्ति कानुनसम्मत नभएको भनी एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गर्ने फैसला गरेको हो । रिट खारेजीसँगै आइजिपीमा धीरजप्रताप सिंहलाई गरिएको सरकारको नियुक्ति सदर भएको छ । सिंह प्रहरीको आइजिपी कायम हुनुभएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । यस्तै, यसअघि तीन डिआइजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको सर्वोच्चले जनाएको छ ।

आइजिपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो । मुद्दामा शुक्रबार निवेदक एआइजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गर्नुभएको थियो । पोखरेलका कानुन व्यवसायीले ज्येष्ठता, कार्य सम्पादन मूल्यांकनलगायत प्रहरीको बढुवामा आवश्यक सबै मापदण्डका आधारमा पोखरेल नै अगाडि रहेकाले उहाँलाई प्रहरीको महानिरीक्षक बनाइनुपर्ने जिकिर गरेका थिए । सरकारले मापदण्ड मिचेर ‘कानुनविपरीत’ सिंहलाई आइजिपी नियुक्त गरेर स्वेच्छाचारिता प्रदर्शन गरेको कानुन व्यवसायीहरूको दलिल थियो । सरकारको स्वेच्छाचारितामा ‘ब्रेक’ लगाउन भए पनि पोखरेललाई आइजी नियुक्त गर्न परमादेशको आदेश जारी हुनुपर्ने उनीहरूले माग गरेका थिए । तर, सर्वोच्चले भने सरकारको निर्णय नै सदर हुने गरी रिट खारेज हुने फैसला गरेको हो ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आइजिपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँपटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भइसकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआइजी पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

सरकारले वरीयताको तेस्रो नम्बरमा रहेका सिंहलाई नयाँ आइजी बनाएको पोखरेलको दाबी थियो । आफूभन्दा डेढ वर्ष जुनियरलाई आइजिपी नियुक्त गरेको भन्दै उहाँले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । पोखरेलले आइजी बढुवाका लागि आफू मात्र योग्य रहेको जिकिर रिटमा गर्नुभएको थियो । आइजिपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसयता उहाँ काममा फर्किनु भएको छैन । अब श्रावण २० मा अनिवार्य अवकाशमा जाने भएकाले एक महिना कार्यकाल बाँकी रहँदै बिदामा बस्नुभएको हो ।

राजीनामा दिने तयारीमा एआइजी पोखरेल
सरकारले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजी)मा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै सर्वोच्चमा हालेको रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गर्नुभएको छ । पोखरेलले एक दुई दिनमै राजीनामा दिने तयारी गरेको उहाँनिकट स्रोतले जानकारी दिएको छ । पोखरेलले बिदा माग गर्दै फारम पेश गरे पनि आइजिपी सिंहले बिदा स्वीकृत गर्नुभएको छैन । प्रहरी नियमावलीअनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था भएकाले पोखरेलले त्यसअघि नै राजीनामा दिने तयारी गर्नुभएको हो । पोखरेल गैरहाजिर भएको साउन ८ गते ४५ दिन पुग्दैछ । बर्खास्त भएको अवस्थामा पेनसन लगायतका सेवासुविधासमेत नपाउने हुँदा पोखरेल राजीनामा दिने अवस्थामा पुग्नुभएको बताइएको छ ।

त्यसो त उहाँ आउँदो साउन २० गते अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । तर, त्यतिन्जेल उहाँको गयल प्रहरी नियमावलीअनुसार ४५ दिनभन्दा बढी हुन जान्छ । ४५ दिन नाघेपछि आइजिपीले बर्खास्त गर्न मिल्ने कानुनी व्यवस्था छ । यसर्थ काममा फर्किनु वा राजीनामा दिनुबाहेक उहाँसँग विकल्प छैन ।

विगतमा पनि आइजिपी बढुवाविरुद्ध मुद्दा खारेज भएपछि तत्कालीन प्रतस्पर्धीहरूले राजीनामा दिएका थिए । यसअघि आइजिपी बढुवाविरुद्ध मुद्दा खारेज भएपछि तत्कालीन डिआइजी नवराज सिलवालले राजीनामा दिनुभएको थियो । यसैगरी, सरकारले सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि असन्तुष्ट रमेश खरेलले पनि राजीनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए