भारतले आफ्नो भ्रमणलाई महत्व दिएको प्रचण्डको दाबी

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फिर्ता हुनुभएको छ । तीनदिने भारत भ्रमण सकेर काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभयो । उहाँले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरि जाँदाभन्दा पनि अहिले बढी सम्मान पाएको बताउनुभयो ।

उहाँले भारतीय अधिकारी विशेष गरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान जारी हुनुअघि नमिठो संवाद भएको थियो’, उहाँले भन्नुभयोे, ‘तर, सात वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको थियो । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’

‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा हुने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अचानक रोकिएको पनि बताउनुभयो । प्रचण्डले आइतबार बिहान पौने एक बजेसम्म पनि आफूहरूलाई मोदीसँग भेट हुन्छ भनिएको भए पनि पछि सम्भव भएन भन्ने कुरा आएको बताउनुभयो ।

‘लास्ट आवरमा के कारणले भेट सम्भव भएन भन्ने मलाई पनि तपाईंंहरूलाई जस्तै थाहा छैन । भारतमा बाढी आएर ठूलो जनधनको क्षति भएर प्रधानमन्त्री काममा व्यस्त भएर हो कि,’ प्रचण्डले भन्नुभयो, ‘पार्टी अध्यक्षले निम्ता दिएकाले अध्यक्षले भेटिसकेपछि हुन्छ भनेर हो । कारण मलाई पनि थाहा छैन ।’

मोदीसँग भेट नभए पनि आफ्नो भ्रमण अपेक्षाअनुसार नै भएको प्रचण्डले बताउनुभयो । आफूलाई विमानस्थलदेखि भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयसम्म गरिएको स्वागत भव्य रहेको उहाँले बताउनुभयो । आफूले भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशमन्त्री एस जयशंकर र भाजपा अध्यक्ष जेपी नड्डासँग भेटेको उहाँले जानकारी दिनुभयो । ‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भन्नुभयो, ‘म निकै आशावादी भएर फर्किएको छु ।’

भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहाल भारतीय जनता पार्टी र माओवादीबीच एक–अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरू गर्दै जाने समझदारी भएको पनि जानकारी दिनुभयोे । ‘दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भन्नुभयोे, ‘कहिले बिजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरू संयुक्त रूपमा गर्ने समझदारी भएको छ ।’ दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताउनुभयो ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग महत्वपूर्ण कुरा भएको बताउनुभयो, ‘अजित डोभालसँगको भेट निकै महत्वपूर्ण रह्यो । उहाँसँग दुई घण्टा लामो कुराकानी भयो’, उहाँले भन्नुभयोे, ‘खुलेर समस्या सम्भावना, अवसर र चुनौतीबारे कुराकानी भएको छ । मैले तेलको मूल्य, खाद्यान्न र डुबानबारे पनि कुरा उठाएको छु । केही दिनमा प्रगति हुन्छ ।’

दिल्लीमै रहनुभएकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजू राणासँग शिष्टाचार भेट भएको प्रचण्डले बताउनुभयो । ‘उहाँ उपचारका लागि जानुभएको हो । प्रधानमन्त्रीकी पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य पनि भएकाले उहाँको उपचारमा चासो राखेर शिष्टाचार भेट गर्नु स्वाभाविक हो । हामीले नेपाली दूतावासमा भेटेका हौँ,’ उहाँले भन्नुभयो, ‘त्यो भेटमा उहाँको स्वास्थ्यलगायत सामान्य विषयमा कुरा भएको हो । त्योभन्दा बढी बुझ्नुभयो भने गलत हुन्छ ।’

स्वागत गर्न विमानस्थलमा ऊर्जा, जलस्रोत तथा, सिँचाइमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, जनार्दन शर्मा लगायतका नेताहरू पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?