ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गर्नुपर्छ : मिश्र

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । राजनीतिकर्मी रवीन्द्र मिश्रले ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो आउन लागेको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’मा यस्तो उल्लेख गर्नुभएको हो । उहाँले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको समेत उल्लेख गर्नुभएको छ । नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको उहाँको निष्कर्ष छ ।

उहाँले भन्नुभएको छ, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’ अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उहाँले बताउनुभएको छ । नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अंगीकार गर्नुको विकल्प नभएको मिश्रको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्रकेन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर-बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०-७० लाख युवा विदेशिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेख्नुभएको छ । फाइनप्रिन्टले प्रकाशन गर्न लागेको उक्त पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गर्नुभएको छ ।

मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिवर्तन : ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गर्नुभएको थियो । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गर्नुभएका उहाँले एकताको प्रतीकका रूपमा राजाको स्वीकार्यता उच्च देखिएको बताउनुभएको थियो । राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेकशील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिनुभएको थियो ।

यसैबीच मिश्रनिकट स्रोतका अनुसार मिश्रले राजसंस्थाका एजेण्डा अघि सारेपछि राप्रपासँग एजेण्डा मिलेको छ । ‘राप्रपासँग एजेण्डा मिले पनि राजेन्द्र लिङ्देन लगायतसँग ठोस छलफल भएको छैन,’ उक्त स्रोतले भन्यो ।

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारी
विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने हुनुभएको छ । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने लागेको छैन । मिश्रनिकट एक नेताले हिमालय टाइम्ससँग भन्नुभयोे, ‘मिश्रजी काठमाडौं क्षेत्र नम्बर १ बाटै उठ्नुहुन्छ । पार्टीबाट वा स्वतन्त्र रूपमा उठ्ने टुंगो लागेको छैन ।’ मिश्र यसअघि २०७४ सालको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै उठ्नुभएको थियो । त्यतिबेला उहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित हुनुभएको हो । सिंहले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाउनुभएको थियो । त्यस्तै, वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले पाँच हजार ३३६ मत पाउनुभएको थियो । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बमले आगामी चुनावमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलगायतसँग तालमेल हुन सक्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?