ओमिक्रोनको उपप्रजाति ‘बिएफ वान’ नेपालमा पनि भेटियो, दीर्घ रोगीलाई बढी असर गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बिएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बिएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो । ‘नयाँ भेरियन्टबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलाई जानकारी गराएका छौंँ,’ अस्पतालका एक चिकित्सकले भन्नुभयो, ‘यो भेरियन्ट छिटो सर्ने खालको छ ।’

यसअघि ओमिक्रोनको नयाँ प्रजाति बिए फाइब पुष्टि भएको थियो । बिएफ प्वाइन्ट वान बिए फाइब भेरियन्टको उपप्रजाति हो । यो भेरियन्ट अफ्रिका र अमेरिकामा समेत देखिएको थियो । चिकित्सकका अनुसार यो भेरियन्टले दीर्घ रोगीलाई बढी असर गर्छ । यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन ।

थप ४३५ जनामा संक्रमण
बिहीबार थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय एक हजार ६६७ पिसिआर परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबारको परीक्षणमा कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ । असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो । संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिनापछि यताकै सबैभन्दा उच्च हो ।

स्वास्थ्य मन्त्रालय र विज्ञहरूले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ । तर, असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?