नेपाली गीतसंगीतमा अमृतको लोकप्रियता

Read Time = 6 mins

काठमाडौं । ‘मनमा तिमी वनैमा ढुकुर, तिमी मेरो मुटुको टुकुरा...’ बोलको गीत यतिबेला जनजिब्रोमा झुण्डिएको छ । यसै गीतका गायक हुनुहुन्छ अमृत भारती । हुन त उहाँका दर्जनौँ गीतहरू कर्णप्रिय छन् । सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिकाका स्थानीय अमृत भारती विसं. २०५२ मा बुबा ज्ञानबहादुर भारती र आमा देवकुमारीको कान्छो पुत्रको रूपमा जन्मिनुभएको हो ।

कलिलै उमेरदेखि गीत, संगीतमा रुचि राख्ने गायक तथा सर्जक भारती गाउँघरमा हुने मेलापात, जात्रा, पूजापाठ, सांस्कृतिक कार्यक्रममा उपस्थिति जनाउने गर्नुहुन्थ्यो । उपस्थिति जनाउनेमात्र नभए रत्यौली, जुहारीमा सबैलाई उछिनेर चकित पार्दै उहाँ स्यावासीसँगै पुरस्कारसमेत हात पार्नुहुन्थ्यो । चञ्चल र रमाइलो स्वभावका उहाँ बौद्धिक क्षमतामा आफूलाई अब्बल ठान्नुहुन्छ । कला र साहित्यको फाँटमा कलम चलाउनुभएका उहाँले २०६६ सालदेखि अनवरत रूपमा नेपाली गीतसंगीतलाई पेशाका रूपमा अंगाल्दै आउनुभएको छ ।

पहिलो सांगीतिक कोसेली गीति एल्बम ‘कन्या राशि’ बाट सांगीतिक क्षेत्रमा आउनुभएका उहाँको पहिलो कोसेली ‘कन्या राशि’ ले नै उहाँलाई गायनमा स्थापित गराउन मद्धत मिल्यो । निकै फरक र ठट्यौली शैलीको गीत भएका कारण आमदर्शक, श्रोताले औधी रुचाएका थिए । गायक भारतीको ‘कन्या राशि’ सँगै क्रमशः ‘मन परेको केटी’, ‘फेरि आयो दशैँले घेरेर’, ‘भलो हुँदैन’, ‘पशुपतिनाथ’, ‘नाचिदेऊ मायाले छम्म-छम्म-छम्म’, ‘नाच माया’, ‘शुभ दशैँ’, ‘कति मज्जा-मज्जा’, ‘मेरो प्यारो सिन्धुपाल्चोक’, ‘जिन्दगानी’, ‘आखिर के रैछ र’, ‘के छ खबर भन्निलाई ठीकै छ’ जस्ता दर्जनौँ गीत बजारमा ल्याइसक्नुभएको छ । गायक भारतीले ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतबाट आमदर्शक, श्रोताको मन जित्दै क्रमशः तीनवटा अवार्ड हात पार्नुभएको छ ।

नेसनल पावर न्यूज अवार्ड २०७६, सर्वोत्कृष्ट गायकको अवार्ड चुम्नुभएका उहाँले २०७७ मा सम्पन्न भएको एपिक म्युजिक अवार्डमा ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीतबाट जुरी अवार्डको उपाधि हासिल गर्नुभएको थियो । त्यस्तै २०७७ सालमा सम्पन्न ज्योति फिल्मस् म्युजिक अवार्डमा पनि ‘मेरो प्यारो सिन्धुपाल्चोक’ ले सर्वोत्कृष्ट अवार्ड पाएको थियो । यसरी उहाँको एउटै गीतले अवार्डमा हृयाट्रिक नै गरेको थियो । एकपछि अर्को सफलता हासिल गर्दै जाँदा गायक भारतीको सांगीतिक क्षेत्रमा चर्चा चुलिएको र फरक पहिचान बनेको छ । गायक भारतीले विभिन्न कार्यक्रममा आफ्नो गायन कला प्रस्तुतिमार्फत् विभिन्न पुरस्कार तथा सम्मान हात पार्नुभएको छ ।

गीतसंगीतको क्षेत्रमा उहाँको चर्चा, परिचर्चा हुन थालेसँगै चाहना मिडिया प्रालिले आयोजना गरेको नेपालको सबभन्दा ठूलो धनराशि भएको मौलिक रियालिटी शो ‘नेपाल लोकस्टार’ को ७७ वटै जिल्लाको जुरी संयोजकका रूपमा निर्णायकको भूमिका निर्वाह गर्ने उहाँलाई अवसर जुरेको थियो । त्यसैगरी कान्तिपुर टेलिभिजनबाट नियमित प्रसारण हुने लोकप्रिय र मौलिक कार्यक्रम ‘खेलौँ  जुहारी’ को निर्णायकको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुभएका उहाँ सोही कार्यक्रमको अर्काे सिजनको तयारीमा हुनुहुन्छ ।

असंख्य दर्शक, श्रोताले रुचाएको ‘ए साथी बाँचे पो जिन्दगी’ सर्वाधिक लोकप्रिय गीतको सूचीमा पर्दछ उहाँको । ‘बाँचे पो जिन्दगी’ गीतमा सम्पूर्ण मानव जातिको जन्मदेखि मृत्युसम्मको भोगाइ र जिन्दगीको चित्रणका साथै मानव जातिको प्रेरणादायी गीत भएकाले आमदर्शकको मनमस्तिष्कमा बस्न सफल भएको छ । भारतीको ‘मेलो बाबाले’ बोलको गीतले छोटो समयमा सर्वाधिक चर्चा बटुलिरहेको छ । गायक भारतीले आफ्ना सबैजसो गीत भारती पिक्चर्स प्रालिमार्फत् बजार व्यवस्थापन गर्नुभएको छ । भारती पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक समेत रहनुभएका गायक भारतीका छिट्टै बजारमा आउँदै गरेका गीतहरू ‘छानु’, ‘जाम भो माया’, ‘सिन्दुर’ र ‘केसरी’ जस्ता निकै सम्भावना बोकेका सिर्जना रहेका छन् । नेपाली गीतसंगीतलाई थप उचाइमा पु¥याउन योगदान पुर्‍याउँदै आउनुभएका गायक भारतीको नेपाली मौलिक गीतसंगीत, संस्कृति जगेर्नामा अझै योगदान रहने कुरामा विश्वस्त रहन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?