सामाजिक सुरक्षा कोषले बिनाधितो कर्जा दिने

Read Time = 5 mins

काठमाडौं । सामाजिक सुरक्षा कोषले सस्तो व्याजदरमा बिनाधितो पनि कर्जा उपलब्ध गराउने भएको छ । कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृतसँगै योगदानकर्ताले अब बिनाधितो पनि कर्जा पाउने भएका हुन् । योग्य योगदानकर्तालाई अनलाइन प्रणालीबाट सेवा सुरु गरिने कोषले जनाएको छ । निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, घर मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था छ । कोषमा कम्तीमा तीन वर्ष अर्थात् ३६ महिना योगदान गरेका योगदानकर्ताले यस्तो सापटी सुविधा लिन सक्नेछन् ।

निर्देशिकाअनुसार कोषमा रकम जम्मा गरेका, उमेर र सेवा अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गर्न सकिने व्यवस्था छ । घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिमध्ये जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी प्रदान गर्न सकिने व्यवस्था छ । उल्लेखित विधामध्ये पहिलो विधिअनुसार धितोका आधारमा ७५ लाख, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबका आधारमा सापटी दिन सकिने निर्देशिकामा उल्लेख छ । योगदानकर्ताको शैक्षिक तथा सामाजिक कार्य सापटीमा ९.७५ प्रतिशत व्याजदर तोकिएको छ । योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशत रकम कोषले ऋणका रूपमा दिनेछ । जसको व्याजदर ९.१ प्रतिशत रहनेछ तर योगदानकर्ताको रकमको ऋणमा भने कोषले आठ प्रतिशतमात्रै व्याज लिनेछ ।

घर निर्माणका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम् चार किस्ता कायम गरिनेछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिने निर्देशिकामा उल्लेख छ । त्यस्तै शैक्षिक सापटी लिई सो सापटीको व्याज नियमितरूपमा चुक्ता नगर्ने योगदानकर्तालाई घर सापटी नदिइने पनि निर्देशिकामा उल्लेख छ । उल्लेखित सुविधा पाउन निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचयपत्रको प्रतिलिपि, धितो राखिने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, घरजग्गा प्राप्तिको स्वामित्वसम्बन्धी लिखतको प्रतिलिपि तर नामसारीको हकमा जग्गाधनी पूर्जामा नामसारी भएको बेहोरा जनाइएको हुनुपर्नेछ ।

त्यसैगरी धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लु प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति, धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि, धितो राखिने जग्गाको जग्गा धनी र निवेदक फरक व्यक्ति भएमा निजहरूको नाता खुल्ने प्रतिलिपि, घर खरिद गर्दा खरिदकर्ता र बिक्रीकर्ताबीच हुने सम्झौता, सम्बन्धित स्थानीय तहबाट प्रमाणित चारकिल्ला खुलेको सक्कल पत्र, सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलबमान खुलेको सक्कल पत्र पेश गर्नुपर्नेछ । घर र जग्गा दुवै धितो राख्नुपरेमा घर निर्माण सम्पन्न प्रमाणपत्र तर जग्गाको मूल्यांकनले मात्रै सापटी रकमलाई खाम्ने भएमा जग्गाको मूल्यांकनबाट मात्र पनि सापटी लिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?