विश्वसामु नेपालको इज्जत जोगाउने शुक्लाफाँटा

हिमालय टाइम्स
Read Time = 11 mins
A A- A+

-राजेन्द्र भट्ट

महेन्द्रनगर । थोरै क्षेत्रफलमा धेरै पाटे बाघ। नेपालका बाघ संरक्षित क्षेत्रमध्ये एक कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यही हो। त्यतिमात्रै नभएर विश्वसामु नेपालले गरेको प्रतिबद्धतासमेत शुक्लाफाँटाले त्यस अगावै पुरा गरिसकेको छ। त्यो हो, सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर गर्ने।

प्रतिबद्धताको आठ वर्षमा नै शुक्लाफाँटामा बाघको संख्या दोब्बर भैसकेको थियो। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। जुन प्रतिबद्धता अनुरूप नेपालमा पनि बाघको बासस्थान रहेका संरक्षित क्षेत्रमा संरक्षणका गतिविधि तीव्र थालिएका हुन।

शुक्लाफाँटाका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार पछिल्लो तथ्याङ्क अनुसार विश्वमै दुर्लभ पाटे बाघको संख्या १९ रहेको छ। जसमा ११ वयस्क पोथी, छ वयस्क भाले, एक लिङ्ग पहिचान हुन नसकेको र एक ‘तथ्याङ्क विश्लेषण’ का आधारमा थप गरिएको उहाँले जानकारी गराउनु भयो।

दोब्बर गर्ने प्रतिबद्धता हुँदा ८ वटा बाघ रेकर्डमा रहेको र सन २०१८ मैं बाघको संख्या दोब्बर अर्थात १६ पुगेको निकुञ्जले जनाएको छ। स्वचालित क्यामरा ‘क्यामरा ट्रयापिङ’ प्रविधिबाट बाघको गणना गरिन्छ।

शुक्लाफाँटामा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बर्सेनी बाघ गणना तथा अनुगमन भैरहेको छ। यसअघि बाघको पाइला र दिशापिसाब संकलन गरी बाघको तथ्याङ्क संकलन गरिने गरिएको थियो।

निकुञ्ज ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षार्थ तैनाथ नेपाली सेना बाघ गणनामा सहभागि हुँदै आएका छन्। शुक्लाफाँटामा बाघको आहारा प्रजातिको पर्याप्तता यसको सङ्ख्यामा वृद्धि भएको निकुञ्जको भनाई छ। तथ्याङ्क अनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमिटर आहारा प्रजातिको घनत्व छ।

वि.सं. २०२६ सालमा शिकार आरक्षका रुपमा संरक्षण गरिएको यो निकुञ्जको १५५ वर्ग किलोमिटर क्षेत्रफललाई वि।सं। २०३२ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो। त्यसको चार वर्षपछि वि।सं २०३६ सालमा आरक्षको पूर्वतर्फ १५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरि यसको कुल क्षेत्रफल ३०५ वर्ग किलोमिटर पुर्‍याइएको हो।

नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्तरगत पर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने गरेका छन्। एक तथ्याङ्क अनुसार औसतमा सबै भन्दा बढी चितवनमा र सबै भन्दा कम बाघ बाँकेमा फेला परेका थिए।

नेपालमा प्रतिबद्धताका बेला रहेका बाघको सङ्ख्यालाई बढाएर दुई सय ५० पुर्‍याउने लक्ष्य राखेको थियो। नेपालमा रहेका बाघको संख्या एक सय २१ लाई दोब्बरभन्दा पनि बढी पुर्‍याउने त्यतिबेला प्रतिबद्धता जनाएको थियो। उक्त बाघको संख्या सन् २००९ को गणनाको हो। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा बाघको संख्या दुई सय ३५ रहेको छ।

नेपालको तराई-भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १ सय ६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि ९६८ प्रतिशतमा बाघको उपस्थिति रहेको देखिएको छ। बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्यांकमा उल्लेख छ।

नेपालले विसं २०६७ देखि २९ जुलाईका दिन बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना समेत गर्दै आएको छ।

पाटे बाघ संरक्षित बन्यजन्तु हो। यसको चोरी शिकार तथा आखेटोपहारको व्यापार, ओसार पसार गरेमा १५ वर्ष कैद र ५ लाख देखि १० लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था छ। संरक्षित बन्यजन्तुको चोरी शिकार तथा व्यापारमा सहयोग गर्ने मतियारलाई पनि प्रत्यक्ष दोषी सरह कानुनी प्राबधान छ।

विश्वमा बाघ

विश्वको तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा र सबैभन्दा कम लाओसमा बाघ छन्।

एक शताब्दीअगाडि झण्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिब तीन हजार दुई सयको संख्यामै सीमित भएको विभिन्न अनुसन्धानहरूले देखाएका छन्।

त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजातिमध्ये तीन प्रजाति बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन्। बाँकी रहेका पाँच प्रजाति आमुर, सुमात्रा, साउथ चाइना, ईण्डो चाइनिज र रोयल बँगाल (पाटे बाघ) को अवस्था पनि दयनीय रहेको वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ–संस्थाको तथ्याङ्कले देखाएको छ।

बाघका नौ उपप्रजाति

१. पाटे बाघ २. मलाय बाघ ३. अमुर (साइबेरियन) बाघ ४. इन्डो चाइना बाघ

५. साउथ चाइना बाघ ६. क्यासपियन बाघ ७. बाली बाघ ८. जाभा बाघ ९. सुमुमत्रन बाघ

संसारबाट लोप भइसकेका बाघहरूः

१. बाली बाघ २. क्यासपियन बाघ ३. जाभा बाघ।

शारीरिक बनावट र तौलः

शारीरिक रंंगः छालाको पहेँलो भुईँमा कालो पाटा परेको हुन्छ। घाँटी, छाति र चिउँडोमा कालो र पहेँलोमा साथै सेता पाटाहरू हुन्छन्।

शारीरिक आकारः ठुलो टाउको, लामो शरीर, मझौला आकारको बलियो खुट्टा, बलिया दाँतहरू, आकर्षक तथा सुगठित शरीर भएको बलियो जनावर हो।

तौलः भाले १८० देखि २३० किलोग्रामसम्म र पोथी १३६ किलोग्रामसम्म।

लम्बाइः भाले २ दशमलव ९ मिटरसम्म र पोथी २ दशमलव ४ मिटरसम्म (पुच्छर सहित)

उचार्ईः शुन्य दशमलव ९ मिटर देखि १ दशमलव ८ मिटरसम्म।

जीवनचक्रः भाले बाघ ४-५ वर्षमा र पोथी बाघ ३-४ वर्षमा प्रजनन योग्य हुन्छ। पोथी बाघ जुनसुकै समयमा पनि गर्भधारण गर्न सक्छे तर प्रायः जसो नोभेम्बर देखि अप्रिल सम्म गर्भधारण गर्दछ। प्रायः जसो फेब्रुअरी र मे महिनामा बच्चाहरू जन्मेको देखिन्छ। बाघको गर्भधारण अवधि १०४-१०६ दिनको हुन्छ।

वयस्क बाघले २-२.५ वर्षको फरकमा एक चोटिमा १-४ वटासम्म बच्चा जन्माउँछ। जन्मँदा बाघका बच्चाहरू आँखा नदेख्ने हुन्छन्। बच्चाहरू ६ महिनाको उमेरपछि माउसँग शिकार गर्न साथै जाने गर्दछन्। २ देखि ३ वर्षको उमेरमा आमासित अलग्गिएर आफ्नो आधार इलाका बचाउँदछन्। बाघ सामान्यतया २० वर्षको उमेरसम्म बाँच्छ।

वासस्थान र आहार

बाघले वासस्थानको रुपमा प्रसस्त आहार प्रजाति भएको घनाजंगल, झाडी क्षेत्र, अग्लो घाँस भएको तथा प्रसस्त पानी भएको क्षेत्र मन पराउँदछ। यस्तो स्थान उसलाई शिकार गर्न, आराम गर्न, बच्चा जन्माउन र लुकाएर हुर्काउन सजिलो हुन्छ। साँझ परेपछि बाघ आहाराको खोजीमा सक्रिय हुन्छ। बाघले आहारालाई पछाडि वा छेउबाट आक्रमण गर्दछ। बाघले एक पटकमा ४० केजी सम्म मासु खाने गर्दछ। बाघले सात दिनको फरकमा शिकार गर्दछ। एक अध्ययनअनुसार २०-२२ पटकको अथक प्रयासबाट मात्र बाघ शिकार गर्न सफल हुन्छ। बाघले आफ्नो इलाका भित्रका कुल आहारा प्रजातिमध्ये ९ देखि ११ प्रतिशतलाई शिकार गर्दछ।

बाघ लोप हुनुको मुख्य कारण

बासस्थानको विनाश र चोरी शिकारी। यसको छाला, दाँत, हड्डीले रोग निको हुन्छ भन्ने भ्रम।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?