स्पट फिक्सिङको आरोपमा दुई क्रिकेटर पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । तीन साताअघि सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । स्पट फिक्सिङको आरोपमा पूर्वक्रिकेटर महबुब आलमलाई सोमबार बिहान विराटनगरको भिन्तुना होटलबाट पक्राउ गरिएको एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेलगत्तै महबुबलाई प्रहरीले काठमाडौं पठाएको छ । कान्तिपुर कलेजको प्रशिक्षकका रूपमा हिसान मिटमा विराटनगर सहभागी हुन गएका बेला उनलाई पक्राउ गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा नेपाल टी-२० लिगको आयोजना गरेको थियो । उक्त कम्पनीका मालिक जतिन अहुवालियाको योजनाअनुसार स्पट फिक्सिङमा सहयोग गरेकालाई महबुबलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । महबुबले कम्पनीका मालिकलाई अन्य खेलाडीहरूसँग पनि सम्पर्क गर्न सहयोग गरेको प्रहरीले जनाएको थियो । उनी कुनै टोलीमा आबद्ध थिएनन् । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । मोजाम्बिकविरुद्ध १० विकेट लिएका उनको नाममा विश्व कीर्तिमानसमेत छ ।

यस्तै, पक्राउ परेका अर्का क्रिकेटर अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी-२० लिगमा सहभागिता जनाएका थिए । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी-२० लिग भएको थियो । खेलका दौरान काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको र यसबारे एन्टी करप्सन युनिट (एसियू) लाई जानकारी दिएको बताउनुभएको थियो ।

यस्तै, राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल टी-ट्वान्टी लिगको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ । काठमाडौंमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्वकप्तान खड्काले निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको हो ।

त्यस्तै, कमेन्टेटरका रूपमा काम गर्दै आउनुभएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको आरोप लगाउनुभएको थियो । लगत्तै सिआइबीले प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।
उक्त खेलका दौरान स्पट फिक्सिङमा चार नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीको निष्कर्ष रहेको छ । पक्राउ परेकाबाहेकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुने जनाएको छ ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलेमतो गरे राष्ट्र हितविरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।

त्यस्तै, यस्तो कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसुर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?