निर्वाचनको मितिबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक आज बस्दै छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गर्नुभएको छ। गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् ।

त्यसैले, कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाक्नुभएको हो ।

निर्वाचन आयोगले गत असार २२ गते नै आगामी मंसिर २ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगले तयारीको लागि १२० दिनको समय आवश्यक पर्ने भएकाले असार मसान्त वा साउन ५ गतेभित्र मिति घोषणा गरिसक्न सरकारलाई सिफारिस गरे पनि सरकारले भने आयोगको सिफारिसविपरीत मिति घोषणा गर्न ढिलाइ गरेको छ ।

प्रधानमन्त्री देउवाको व्यक्तिगत चाहनाअनुसार निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा दुई दिन पर मंसिर ४ गते निर्वाचन गर्न गठबन्धनका अन्य नेताहरू सहमत भएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरूलाई मंसिर ४ मै निर्वाचन गर्ने तयारी रहेको जानकारी दिँदै चुनावको मिति तोक्ने अधिकार मन्त्रिपरिषद्लाई नै छोडिदिन गठबन्धनका नेताहरूसँग आग्रह गर्नुभएको थियो । गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे सहमति जुटे पनि वर्तमान संसद्को कार्यकालबारे फरक(फरक धारणा सार्वजनिक भइरहेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?