मुलुकको बढ्दो वेथितिले राजनीतिमा आउन बाध्य बनायो : महर्जन

Read Time = 4 mins

काठमाडौं । यसपालीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कलकारहरूको उम्मेद्वारीले चर्चा पाएको छ । नेपाली कला क्षेत्रमा रहेर योगदान पुर्‍याएका थुप्रै व्यक्ति राजनीतिमा होमिएर उम्मेद्वारको रुपमा निर्वाचनको मैदानमा छन् । यसै मेसोमा विगत तीन दशकदेखि कलाकारिता क्षेत्रमा संलग्न रहँदै आउनुभएका बुद्ध रत्न महर्जन पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ ललितपुरको क्षेत्र नम्बर २ बाट घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिनुभएको हो ।

वि.सं २०५४ मा आयोजना गरिएको नेपाल टप कार्यक्रममा प्रथम स्थान हासिल गरेर चर्चामा आउनुभएका महर्जन देशमा बढदै गएको राजनीतिक विकृति र विसंगती विरुद्ध आफ्नो उम्मेद्वारी रहेको दाबी गर्नुहुन्छ । मुलुकमा सुशासनको अनुभुति गराउनको लागि आफूले उम्मेदवारी दिएको उहाँको दावी छ ।

नयाँ दल भएको र संगठन राम्रोसँग बिस्तार हुन नसकेको वर्तमान परिवेशमा पनि जनताहरूको साथ र समर्थनले आफूहरूलाई निरन्तर रुपमा अघी बढ्न ठूलो हौसला मिलेको महर्जनको अनुभव छ ।

आफू निर्वाचित प्रतिनिधि बनिसकेपछि पनि राज्यबाट कुनै सेवासुविधा नै नलिने मनस्थिति बनाउनु भएका महर्जनले राज्यबाट आफूले पाउने तलबभत्ता विभिन्न सामाजिक गतिविधिहरूमा प्रयोगमा ल्याउने बताउनुभएको छ । सही अर्थमा मुलुकलाई उचित ट्रयाकमा हिँडाउने पाठ स्थापित कहलिएका राजनीतिक दलहरूलाई समेत सिकाउन र मुलुकलाई व्यवस्थित प्रणालीमा हिँडाउनको लागि आफ्नो उम्मेदवारी निकै महत्वपूर्ण हुने महर्जनको धारणा छ । ‘राजनीतिमा आउनु मेरो रहर होइन, बाध्यता हो । म कुनै कुराको लाभ वा अपेक्षा गरेर राजनीतिमा आएको होइन । मेरो लागि व्यक्तिगत रुपमा केही कुराको अभाव छैन । यद्यपि मुलुकको परिस्थितिले म आफूलाई आत्म सन्तुष्टि प्राप्त हुन नसकेको कारण नयाँ शक्तिको रुपमा उदाउँदै गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मार्फत चुनावी मैदानमा होमिन पुगेको हुँ’, महर्जन भन्नुहुन्छ ।

आफूहरूले घरदैलोको क्रममा नयाँ शक्ति हुँदाहुँदै पनि पुराना र शक्तिशाली भनिने राजनीतिक दलहरू नयाँ एवं स्वतन्त्र व्यक्तिहरू समेटिएको आफूहरूको दल प्रति शंसकित भइरहेको स्थिति छ । यो अवस्था आउनु आफैँमा ठूलो उपलब्धि भएको महर्जनको धारणा छ ।

आफूले बाटोघाटो, स्वास्थ्य, खानेपानीको सहजीकरण, क्षमता अनुसारको रोजगारीको उपलब्धता लगायतमा गुणस्तरीय विकासको लागि महत्वपूर्ण पहल गर्ने महर्जन बताउँनुहुन्छ । उहाँ हात्तिगौंडा स्थित कान्तिपुर मेटल एण्ड इन्जिनियरिङ वर्कसपका सञ्चालकसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?