फोहोरको समस्या पोहोरकै जस्तो, महानगर नयाँ-नयाँ उपाय खोज्छ, कार्यान्वयन हुँदैन

डिबी शर्मा
Read Time = 9 mins

डिबी शर्मा/हिटा
काठमाडौं । उपत्यकामा फोहोर उठेन भन्दा पनि उठाउन थालियो भन्दा अनौठो मान्नुपर्ने अवस्था छ । नियमित फोहोर उठ्न छोडेको महिनौँ भइसक्यो । कहिलेकाहीँ आंशिक रूपमा उठ्ने गरेको छ । त्यो पनि सीमित ठाउँको मात्रै । उपत्यकाका सडकमा थुपारिने फोहोर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि सामान्य भइसकेको छ । काठमाडौंका चोक-गल्ली र सडकका ठाउँठाउँमा फोहोर थुप्रेका छन् । बाटोमा नाक थुनेर हिँड्डुल गर्नुपर्ने नागरिकको बाध्यता छ । दुर्गन्ध उस्तै फैलिएको छ ।

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहोर नियमित जान सकिरहेको छैन । काठमाडौंमा महानगर र निजी क्षेत्रले फोहोर उठाउँदै आएका छन् । नौ वडामा महानगरले फोहोर संकलन गर्छ । कुल ३२ मध्ये बाँकीमा निजी क्षेत्रले फोहोर उठाउने जिम्मा पाएका छन् । नौ वडामा सबै दिन नियमित फोहोर व्यवस्थापन भइरहेको महानगरले जनाएको छ । निजीले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको उनीहरूको आरोप छ ।

महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन भनेको थियो । तर, नियमित फोहोर नउठ्दा छुट्याएको फोहोर पनि मिसिएर सडकमा आउन थालेको छ । व्यवस्थापनको समस्या पनि थप जटिल बन्ने देखिएको छ । उपत्यकाको १८ स्थानीय तह र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ ।

सहमतिअनुसार रातिको समयमा फोहोर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्ने लगायतका विषय समावेश छ । सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहोर व्यवस्थापनको काम रोक्ने चेतावनी दिएका छन्् । काठमाडौं उपत्यकाको १८ पालिकाको फोहोर दैनिक रूपमा सिसडोलमा पुग्छ । हाल काठमाडौंमा झण्डै एक हजार ३०० टन फोहोर उत्पादन हुँदै आएको छ । त्यसमध्ये झण्डै ६०० टन काठमाडौं महानगरको मात्रै हुन्छ ।

दीर्घकालीन उपाय खोज्दै महानगर
गत स्थानीय निर्वाचनताका फोहोरको समस्या विकराल थियो । चोकचोकमा फोहोर उछिन्दै उम्मेदवारहरू मत माग्न हिँड्थे । यो समस्या गत निर्वाचनताका मात्रै देखिएको अवश्य होइन । उपत्यकामा फोहोरको समस्या देखिन थालेको वर्षौं भइसक्यो । पोहोर पनि उस्तै थियो । पाँच वर्षअघिको समस्या पनि उस्तै हो । अहिले पनि उस्तै छ ।

गत स्थानीय निर्वाचनमा महानगरका उम्मेदवारको मूल मुद्दा नै फोहोर व्यवस्थापन थियो । मेयरमा निर्वाचित बालेन्द्र साहले त फोहोर व्यवस्थापन नगरी खादा र मालासमेत नलगाउने उद्घोष गर्नुभएको थियो । मेयर साहले आफ्नो पहिलो प्राथमिकता फोहोर व्यवस्थापन नै रहेको बताउँदै आउनुभएको छ । गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा निर्वाचित घोषणा भएकै दिन बालेन बञ्चरेडाँडा पुग्नुभएको थियो । आर्थिक वर्ष २०७९/८० को बजेटमा समेत फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । चालु आर्थिक वर्षको बजेटमा फोहोर व्यवस्थापनका लागि अत्याधुनिक उद्योग सञ्चालन गर्न ६५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, फोहोर व्यवस्थापनकै अन्य उपशीर्षकमा पनि महानगरले बजेट छुट्याएको छ ।

तर, हालसम्मको नतिजा हाल लाग्यो शून्य । समस्या ज्यूँका त्यूँ छ । अब भने काठमाडौं महानगर फोहोर व्यवस्थापनको दीर्घकालीन उपायको खोजीमा लागेको छ । काठमाडौं उपत्यकाको फोहोर यही व्यवस्थापन गर्ने महानगरको योजना छ । त्यसका लागि उपयुक्त ठाउँको खोजीमा महानगर लागेको छ । वातावरण विभाग प्रमुख सरिता राईले उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन भइरहेको बताउनुभयो । ‘अहिले फोहोरको प्रकृति, जनघनत्व फेरिएको छ । यसबारे पनि अध्ययन हुन्छ,’ उहाँले भन्नुभयो, ‘यी सबै कुरामा अध्ययन भएर उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन हुन्छ । यसको खोजी भइरहेको छ ।
कीर्तिपुरमा कुहिने फोहोरबाट मल निकाल्ने तयारी

महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । अहिले दैनिक ४० हजार किलो फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने महानगरको योजना छ । महानगरले यसबाहेक थप स्थान पनि खोजिरहेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ ।

सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक-पटक समस्या आएकाले प्रभावकारी रूपमा फोहोरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको उहाँले बताउनुभयो । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यकाबाहिर बनेपासम्म पनि जग्गा खोज्ने काम भइरहेको छ । हरेक वर्ष बाटोकै कारण उपत्यकाको फोहोर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । मुड्खुखोलादेखि बञ्चरेडाँडासम्मकै बाटोमा पटक-पटक समस्या आएकाले विकल्पको तीव्र खोजी गरिएको हो । उसो न महानगरले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न थालेको यो पहिलोपटक होइन । यसअघि पनि थुप्र पटक अध्ययन र अनुसन्धान भएका छन् । तर, योजना कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । यसको ताजा उदारहण साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन जारी उर्दी हो । सूचना जारी गरेर उठाउने कार्यतालिकासमेत सार्वजनिक गरेको महानगरले त्यसयता फोहोर नै उठाउन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?