‘नवौँ राष्ट्रिय खेलकुद समयमै’

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने प्रतिबद्धता जनाउनुभएको छ । आयोजनास्थल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि समयमै राष्ट्रिय खेलकुदको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरू समावेश गरिएको छ भने दुईवटा खेल प्रदर्शनी खेलका रूपमा राखिएकोे छ ।

सदस्य–सचिव घिसिङले तोकिएको मितिमै प्रतियोगिता हुनेमात्र नभई गण्डकी प्रदेशको अपनत्वसमेत रहेको बताउनुभयो । घिसिङले मंसिरमा हुने निर्वाचन र राष्ट्रिय पर्वलाई हेरेर नै मन्त्रिपरिषद्बाट राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरिएको बताउनुभयो । ‘दसौँ राष्ट्रिय खेलकुद हुने समयमा नवौँ गर्न लागिरहेका छौँ । अब फेरि ११औँ हुने बेलामा नवौँ लैजाने भन्ने सोच हुदैँन,’ उहाँले भन्नुभयो, ‘यो मन्त्रिपरिषद्बाट भएको निर्णय हो । अब मिति सर्दैन । मन्त्रिपरिषद्ले निर्वाचनलाई समेत हेरेर मिति तय गरेको छ त्यसैले यो समयमै हुन्छ ।’

घिसिङले अहिले प्रतियोगिताको तयारी तीव्र गतिले अघि बढेको र विभिन्न उपसमिति संयोजकहरू सबै गण्डकी प्रदेशकै रहेकाले यसलाई अन्यथा नलिन आग्रहसमेत गर्नुभयो । नवौँ तयारीका क्रममा पोखरा आउनुभएका उहाँले पूर्वाधारअनुसार प्रदेशका विभिन्न जिल्लामा प्रतियोगिता गर्नेसमेत बताउनुभयो ।

यस्तै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौँ खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सदस्य-सचिव घिसिङले मेयर आचार्यले भेटका क्रममा नवौँलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाएको जानकारी गराउनुभएको थियो ।

यस्तै मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनोट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकरी गराउनुभएको थियो । यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारका तर्फबाट नवौँ खेलकुदलाई सफल बनाउन अन्य तयारीमा छलफल तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । राखेपका अनुसार सहभागी टिमले ३९३ स्वर्ण, सोही संख्यामा रजत पदक र ६०१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेलमा ४०७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिइने भएको छ । प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरिएको छ । प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने र प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ ।

प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार दिइनेछ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गराइने राखेपले निर्णय गरेको छ । परिषद्का कर्मचारीको सेवा, शर्तसम्बन्धी विनियम तयार गर्न परिषद् सदस्य प्रकाश कुसारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यस्तै परिषद्को भौतिक संरचना तथा सम्पत्ति यकिन तथा प्रदेशमा हस्तान्तरणसम्बन्धी परिषद् सदस्य अञ्जन धमलाको संयोजकत्वमा समिति गरिएको छ । खेल संघ विवाद सहजीकरणका लागि उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ । परिषद्अन्तर्गत कार्यरत कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाइने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइने जनाएको छ ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य आयोजनाका लागि १४ मुख्य उपसमितिमध्ये १२ उपसमिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा बसेको मूल आयोजक समितिको दोस्रो बैठकबाट १२ समिति तय भएको कार्यकारी समितिका संयोजकसमेत रहनुभएका राखेप सदस्य-सचिव टंकलाल घिसिङले जानकारी गराउनुभयो । विभिन्न उपसमितिको संयोजकसमेत राखेपले घोषणा गर्दै सबै समितिलाई आ-आफ्नो जिम्मेवारी सुम्पिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले ३६ खेलमा सहभागी हुने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेल संख्याको टुंगोे लगाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय खेलकुदका सबै स्पर्धामा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । कर्णालीले प्रतियोगितामा आफ्नो प्रदेशबाट ५६० जनाको सहभागिता रहने उल्लेख गरेको छ । सदस्य–सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८०० खेलाडीसहित एक हजार प्रशिक्षक, ५०० व्यवस्थापक, ११४ संघका प्रतिनिधि र एक हजार निर्णायक सहभागी हुने जानकारी दिनुभयो ।

नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?