स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण हुँदै

हिमालय टाइम्स
Read Time = 8 mins

-राधिका बुढाथोकी

सिन्धुली । सिन्धुलीमा स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण हुँदैछ । दुई वटा पालिकामा निर्माण भएर कार्यान्वयको चरणमा रहेको र अन्य सात वटा पालिकामा निर्माण हुने भएको हो ।

मरिण गाउँपालिका र सुनकोसी गाउँपालिकाले कार्यविधि बनाइसकेको जिल्ला युवा समिति, सिन्धुलीका अध्यक्ष देवराज वाइवाले जानकारी दिनुभयो । उहाँले शुक्रबार सिन्धुलीमाढीमा आयोजित स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण तथा कार्यान्वयन विषयक वृहत अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भयो । कार्यक्रम अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सञ्चालन गरिएको थियो ।

अध्यक्ष वाइवाका अनुसार पालिकाले आउँदो कार्यपालिकाको बैठकबाट कार्यविधि पारित गरी स्थानीय राजपत्र, पालिकाको वेवसाइटमा प्रकाशन गरी पालिकाभित्रका सम्पूर्ण वडा कार्यालयहरुलाई कार्यान्वयन गर्नको लागि परिपत्र गर्ने छन् ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र तीनपाटन गाउँपालिकामा कार्यविधि निर्माण गरिएको छैन । यी पालिकाहरुमा कार्यविधि निर्माण गर्न÷गराउन कार्यदल गठन गर्ने, बजेट विनियोजन सहित सहयोग आवश्यक परेमा प्राविधिक सहयोगको लागि जनजाती समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीसँग माग गर्ने अन्र्तक्रिया कार्यक्रमका सहभागिहरूले निर्णय गरेका छन् ।

राष्ट्रिय युवा परिषद नेपाल, प्रदेश युवा परिषद बागमति, जिल्ला युवा समिति, सिन्धुलीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल, जनजाती समाज विकास कार्यक्रम (जेएसडिपी), सिन्धुली, रिलिफ नेपाल तथा सामुदायिक विकास कार्यक्रम सिन्धुली नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा पालिका प्रमुख तथा प्रतिनिधिहरु, युवाका मुद्धामा काम गदैँ आएका संघसंस्थाका प्रतिनिधिहरु, युवा तथा किशोरी सञ्जालका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति थियो ।

राष्ट्रिय युवा परिषद नेपालका अध्यक्ष देवराज वाइवाको अध्यक्षता तथा जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कार्साङ लामाको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा जिल्ला समन्वय समिति, सिन्धुलीको अगुवाईमा जिल्ला युवा समिति, जिल्ला स्तरीय युवा सञ्जाल, जिल्ला स्तरीय किशोरी सञ्जाल तथा युवाको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहभागिता रहने गरी कार्यदल गठन गर्ने, कार्यदलले कार्यविधि निर्माण तथा कार्यान्वयनको अवस्था र युवाहरूको सहभागिताको मुल्याङ्कन गर्ने निर्णय गरिएको छ । उक्त कार्यका लागि जिल्ला समन्वय समितिका सभापति संयोजक, जिल्ला समितिका अध्यक्ष, गैरसरकारी महासंघका अध्यक्ष, युवाका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि सहित दुई जना, पत्रकार महासंघको अध्यक्ष र जिल्ला युवा सञ्जालको अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै, पालिकाहरुमा युवा सञ्जाल गठन/पुर्नगठन, किशोरी सञ्जाल गठन/पुर्नगठन, जिल्ला स्तरीय युवा सञ्जाल तथा किशोरी सञ्जालको गठन गर्नको लागि आवश्यक सहयोग गर्ने र यी कार्यहरुको नेतृत्व जिल्ला युवा समिति, सिन्धुलीले गर्ने निर्णय भएको छ ।

स्थानीय सरकारले युवा मैत्री कानून बनाएर प्रभावकारी रुपमा कार्यान्वय गर्नु पर्ने कुरालाई कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा सहभागी अमृत पाख्रिनले ऐन, विधान, कार्यविधि बनाए मात्र नहुने बताउनु भयो । ‘बनाएका ऐन, विधान, निर्देशिका, कार्यविधि प्रभावकारी रुपमा कार्यान्वयन पनि गर्नु पर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका कार्साङ लामाले स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि निमार्ण गरी कार्यान्वय गराउन जिल्ला समन्वय समिति, सिन्धुलीले पालिकाहरुसँग समन्वयकारी भूमिका खेल्ने बताउनु भयो । उहाँले युवा बेरोजगारी अहिलेको मुख्य समस्या रहेको बताउनु भयो । बेरोजगारी समस्या न्यूनिकरणका लागि सबै संयुक्त रुपमा जुट्न आवश्यक रहेको उहाँको धारणा छ । ‘सरकारी पक्षको एकल प्रयासले मात्रै बेरोजगारी समस्या समाधान गर्न कठिन छ, युवाहरू विदेशीने भन्दा पनि आफैँले स्थानीय स्तरमा स्वरोजगार बन्ने उपाय खोज्नु पर्छ,’ उहाँले भन्नु भयो ।

युवालाई प्राथमिकतामा राखेर नै काम गरिरहेको पालिका प्रमुख तथा प्रतिनिधिहरूको दाबी छ । दुधौली नगर प्रमुख दिनेश अधिकारी (दनुवार), गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकर बराल र फिक्कल गाउँपालिका प्रमुख पार्वती सुनुवारले आ–आफ्ना पालिकामा युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताउनु भयो । युवाहरूलाई रोजगारीमुलक सीप तथा प्राविधिक सहयोग दिएर स्थानीय स्तरमा नै स्वरोजगार बनाउने उहाँहरूको भनाइ छ । युवाका थु्रपै समस्या तथा चुनौतीहरु देखिएकाले यसको न्यूनिकरण गर्न ऐन, कानून, कार्यविधि बनाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उहाँहरूले प्रतिवद्धतासमेत जनाउनु भएको छ ।

मरिण गाउँपालिका प्रमुख विर्मश मोक्तान (प्रख्यात) ले आफ्नो गाउँपालिकाले युवा सम्बन्धि कार्यविधि बनाइसकेको बताउनु भयो । ‘अब बनाईएको कार्यविधि कार्यान्वयन गछौँ, यसले युवा सम्बन्धि थुप्रै समस्या न्यूनिकरण गर्न सहयोग पुग्ने छ,’ उहाँले भन्नु भयो ।

सहजकर्ता संजोक ठकुरी र विवेक बस्नेतले सहजिकरण गर्नु भएको कार्यक्रमको संचालन जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष हेम कार्कीले गर्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?