साना तथा मझौला व्यवसाय प्रवद्र्धनमा आइएफसी

Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सन् २०२३ सम्म ३० हजारभन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई) माझ पुग्ने बृहत् रणनीतिले नेपालमा साना व्यवसाय र आममानिसमा वित्तीय पहुँच थप सुदृढ हुने बताइएको छ । आर्थिक वर्ष २०२२ मा आइएफसीले चार करोड ५० लाख डलर लगानी गर्ने भएको छ । जसबाट ३० हजारभन्दा धेरै साना व्यवसायसम्म पुग्ने लक्ष्यलाई बढावा दिनेछ ।

आइएफसीको उक्त कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशिता, प्रतिस्पर्धी क्षमता तथा दिगोपनमा सुधारका लागि सहयोग पुग्ने बताइएको छ । आइएफसीले पुनरुत्थान हुँदै गरेको नेपालको वित्तीय क्षेत्रमा चार करोड ५० लाख अमेरिकी डलर लगानी गर्न लागेको हो । साथै आइएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्रामअन्तर्गत व्यापार वित्त सुविधा अर्थात् ट्रेड फाइनान्सिङ फ्यासिलिटी पनि प्रदान गर्दै छ । जसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ ।

वित्तीय संस्था समूहका लागि आइएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भन्नुभयो, ‘कोभिड-१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम/व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आइएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ । यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौँ ।’

आइएफसीका अनुसार एसएमई नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हो, जसले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २२ प्रतिशत योगदान गर्छ । अझै पनि ४४ प्रतिशत एसएमईका लागि वित्तीय पहुँच प्रमुख अवरोध रहेको छ ।

सीमित वित्तीय सुविधाका कारण नेपालका साना व्यवसायीहरू नगदमा आधारित भएर सञ्चालित छन् । परिणामस्वरूप आवश्यक लगानी र उपलब्ध वित्तीय पहुँचको ठूलो खाडलमा विस्तार हुन संघर्षरत छन् । उक्त प्रतिक्रियामा यस आर्थिक वर्षमा आइएफसीले नेपालमा तीव्र विस्तार गरिरहेको सबैभन्दा पछिल्लो वाणिज्य बैंक सानिमा बैंकलाई दुई करोड अमेरिकी डलर र मुलुकको अर्को प्रमुख वाणिज्य बैंक एनएमबी बैंकलाई दुई करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । नेपालमा आइएफसीले सन् १९७५ देखि सबैभन्दा बढी आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म आइएफसीको बक्यौता लगानी ६० करोड अमेरिकी डलर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?