सकसमा दलहरू

A A- A+

विवाद भएका केही ठाउँ र पुनः मतदान हुन बाँकी रहेका ठाउँबाहेका अन्यत्रको निर्वाचन परिणाम आइसकेको छ । समानुपातिकतर्फको केही मत गणना भइसकेको छ, बाँकीको पनि अब छिटै परिणाम प्राप्त हुने क्रममा छ । मुख्य गरी स्याङ्जा र दोलखाको प्रतीक्षामा पार्टी, नेता, जनता प्रतीक्षारत छन् । जे भए पनि ती सीमित सिटबाट परिणाममा तात्विक फरक पर्ने अवस्था छैन र अहिलेसम्म देखिएको मतपरिणाम नै निर्णायक हुने देखिएको छ । राजनीतिक दलहरू सधैं कुनै न कुनै प्रकारको सकसमा रहने गर्दछन् भन्ने देखिँदै आएको छ । निर्वाचनअघि उम्मेदवार छनौट, टिकटको बाँडफाँटमा पनि नेताहरू निकै ठूलो दबाब र तनावमै रहेका हुन्छन् ।

यो सकसपछि निर्वाचन क्षेत्रमा जाने प्रतिपक्षसँगको प्रतिस्पर्धामा उत्रिने र तिनले लगाएका आरोपहरूको खण्डन र सबै प्रकारका आरोप लाञ्छना र भौतिक प्रतिस्पर्धामा उनीहरू खरो उत्रिनै पर्ने हुन्छ । निर्वाचनको प्रतिस्पर्धात्मक खेलबाट विजय हात पारेर आएपछि पुनः सरकार बनाउने खोल सुरु हुने गर्छ जुन खेल अहिले सुरु भइरहेको छ । एमालेले सरकार बनाउने सम्भावना कम छ तर सम्भावना नभएकै काम पनि कहिलेकाहीँ हुनसक्छ भनेर मान्ने हो भने यदि सरकार बनाउने कसरतमा एमाले लाग्यो भने त्यतापट्टिबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक अरूको दाबी रहने देखिँदैन । तर, त्यो सम्भावना नेपाली कांग्रेस र एमाले मिल्दामात्रको अवस्था हो जुन गठबन्धनलाई घात गरेपछिमात्र सिर्जना हुने परिस्थिति हो । अहिले त्यसको सम्भावनातर्फ नसोच्नु नै ठीक हुन्छ ।

सत्तागठबन्धनकै सरकार बन्ने प्रबलतातर्फ हालको पहिलो सम्भावना रहन्छ तर अपुग केही सीमित संख्या चाहिँ जुटाउने प्रयास गठबन्धनले गर्नैपर्छ । तर, गठबन्धनमा एउटा ठूलो समस्या भनेको प्रधानमन्त्रीका आकांक्षी धेरै संख्यामा रहनु नै हो । त्यसको व्यवस्थापन कसरी होला त्यो भन्न सकिने अवस्था छैन । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र मावधकुमार नेपालको दाबी रहने बताइँदै आएको छ । यतिमात्रै होइन नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका दावेदार धेरैजना हुनुहुन्छ । उहाँहरूमध्ये कसैको स्वर निकै ठूलो छ र कोही सानो स्वरमा यसो भनिरहनु भएको छ । सानो स्वरमा भन्नेहरूको कदम भोलि पछि हट्न सक्ला तर उहाँहरूको सानो स्वरमा ऊर्जा भरिदिने काम अरूबाट भयो भने त्यही झिनो स्वर ठूलो बनेर आउन सक्छ ।

भोलिको समीकरण कसरी बन्छ त्यो भोलि नै देखिने कुरो हो । पहिलो पुस्ताका रामचन्द्र पौडेल र त्यसपछिका डा.शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालाहरू पक्षमा सहमति बनेर उहाँहरूबीच साझा उम्मेदवार छनोट हुनसक्यो भने चाहिँ आकांक्षीहरूको संख्या कम हुन जान्छ अनि संसदीय दलको नेता छनौटका लागि सहज परिस्थिति सिर्जना हुन्छ । अरूले सानो स्वरमा म पनि प्रधानमन्त्रीको आकांक्षी हुँ भने तापनि गगनकुमार थापाले सुरुदेखि नै म आगामी प्रधानमन्त्रीको आकांक्षी हुँ भनेर चर्को स्वरमै भन्दै आउनुभएको छ । उहाँको यो उद्घोष उहाँलाई घातक बन्ने अनुमान पनि अब विफल भइसकेको छ । आपूmले जित्छु भनेर लेखाजोखा गरेको मतसंख्याभन्दा दोब्बर बढी मत पाएर उहाँले विजय हासिल गर्नु भएको छ ।

अब नेपाली कांग्रेस पार्टीभित्र संसदीय दलको नेता छनौटमा यही कारणले निकै ठूलो कसरत हुन सक्छ र यस रस्साकस्सीमा विभिन्न खालका समूह र उपसमूह बन्न सक्छन् । आपूm संसदीय दलको नेता बन्न नसक्ने परिस्थिति बन्यो भने तिनले आफ्ना पक्षमा वा मत काट्न अरू केही उम्मेदवारहरू उठाउन सक्छन् । यसका लागि सहज र असहज खालका अनि जायज र केही नाजायज खालका समेत अभ्यास हुन सक्लान् । अबको सकस भनेको यही हो र प्रधानमन्त्रीको निर्णय भइसक्नासाथ उपप्रधानमन्त्री र वरिष्ठमन्त्रीहरूका लागिसमेत अनेकौं दोडधुप हुनेछन् । पार्टी र नेताहरूका लागि यस्ता कार्यमा जति नै सकस भए पनि यस्ता सकसमा परेर देश र जनताले भने निस्सासिनु नपरोस् भन्ने सबैको अहिलेको चाहना हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?