ट्रेलरमा ऐना झ्यालको पुतली

Read Time = 4 mins

काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । चलचित्र भदौ २४ मा सार्वजनिक हुँदैछ ।

‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेष्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेष्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेष्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेष्टिभलमा छनौट भइसकेको चलचित्र हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रूपमा इतिहास बनाएको चलचित्रले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो ।

लेखक÷निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु चलचित्र थियो ।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको शहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उहाँ सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उहाँको त्यो सपना भताभुंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताउनुभयो । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ, ‘सुजितले भन्नुभयो, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं ।’ किशोरी र उहाँको नौ वर्षको भाइबीचको बालसुलभ सम्बन्ध पनि फिल्मको रोचक पक्ष रहेको सुजितले बताउनुभयो ।

चलचित्रमा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, विशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु विष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् । आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त व्यानरमा बनेको चलचित्रलाई आकाश पौडेल, प्रवीन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गर्नुभएको हो । चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउण्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?