‘कांग्रेसले पार्टी र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन सकेन’

Read Time = 4 mins

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेपाली कांग्रेसले पार्टीका विभिन्न संरचना र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन नसकेको गुनासो गर्नुभएको छ ।

उहाँले आज पत्रकार सम्मेलन गरी देशभर चार लाखभन्दा बढी श्रमिक आवद्ध रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई पार्टीले बुझ्न नसकेको गुनासो गर्नुभएको हो । “पार्टीका निर्वाचन र संसद्को निर्वाचनमा मजदूरलाई परिचालन गरे पनि कांग्रेसले पार्टी र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन सकेन”, उहाँले भन्नुभयो । उहाँले संविधानमा व्यवस्था भएअनुसार नीतिनिर्माण तहमा युवा, किसान र श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने बताउनुभयो ।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आफ्नो मताधिकारको सुनिश्चितता गर्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका बस्नेतले पार्टीले १४औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नीति अधिवेशन गर्न नसकेको भन्दै नीति अधिवेशन चाँडो बोलाएर पार्टीभित्र र मुलुकभित्र देखिएका वर्तमान समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

पूर्वअध्यक्ष बस्नेतले नेपाल ट्रेड युनियन कांग्रेसले दुई दशक पहिलेदेखि उठान गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम केही हदसम्म लागू भए पनि असङ्गठित र स्वरोजगारका लागि उक्त कार्यक्रम लागू हुन नसकेको गुनासो गर्नुभयो ।

उहाँले पार्टीका तत्कालीन सभापति सुशील कोइराला र नेपाल ट्रेड युनियन कांग्रेसले विसं २०७० भदौ ९ गते गरेको समझदारी कांग्रेसले पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । सहमतिपत्रमा पार्टीका सबै संरचनामा कम्तीमा एक महिला र एक पुरुष श्रमिकको प्रतिनिधित्वका लागि वैधानिक प्रबन्ध मिलाउने, राज्यको नीति निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्न संवैधानिक प्रबन्ध मिलाउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई मताधिकारको प्रबन्ध मिलाउने, राज्यको स्रोत र साधनमा श्रमिकको निश्चित् स्वामित्व सुनिश्चित् गर्नेलगायत सात बुँदे रहेको थियो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेडयुनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवरलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?