मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जित्नुभएको हो ।

उहाँले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जित्नुभएको हो । उहाँको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भियतनाम, ब्रुनाई, अस्ट्रेलिया र लाओसका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको प्रतिस्पर्धाबाट आठजना खेलाडी फाइनल प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

फाइनलमा रेखमायाले ७.७७ अङ्क ल्याउँदै स्वर्ण जित्नुभयो । दोस्रो स्थानमा रहनुभएकी मलेसियाकी खेलाडीले ७.६५ र तेस्रो स्थान हात पार्नुभएकी इन्डोनेसियाकी खेलाडीले ७.०५ तथा मलेसियाकी खेलाडीले ६.५९ अङ्क ल्याएको नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिनुभयो ।

यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईंले रजत पदक जित्नुभयो । उहाँको समूहमा पनि विभिन्न देशका ११ खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । ११ मध्ये फाइनल चरणका लागि आठ खेलाडी छनोट गरिएको थियो । मलेसियन खेलाडीले ८.०३ अङ्क ल्याउँदै स्वर्ण जित्दा सन्दीपाले ७.४० अङ्कका साथ रजत पदक पक्का गर्नुभएको थियो । भियतनामकी खेलाडीले ६.५९ र मलेसियन खेलाडीले ६.०० अङ्क ल्याउँदै कास्य पदक जित्नुभएको थियो ।

यही उमेर समूहको पुरुषतर्फ मोहमद उमर खानले पनि रजत पदक जित्नुभयो । सातजनाले प्रतिस्पर्धा गरेको यस समूहमा फाइनल चरणमा पाँच खेलाडी छनोट भएका थिए । उनीहरूमध्ये मलेसियाका खेलाडीले ७.७७ अङ्कका साथ स्वर्ण जित्नुभयो । खानले ७.४९ अङ्क ल्याउनुभएको थियो । तेस्रो स्थान हात पारेका मलेसियन खेलाडीले ७.३९ र ७.२३ अङ्क ल्याउनुभयो ।

यसैगरी पुरुषको ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले पनि रजत पदक पक्का गर्नुभएको थियो । सातजना सहभागी यस समूहमा फाइनल चरणका लागि पाँच खेलाडी छनोट गरिएको थियो । फाइनलमा रोशनले ५.०७ अङ्क ल्याउँदै रजत पदक पक्का गर्नुभएको थियो । ६.०५ अङ्क ल्याएका मलेसियन खेलाडीले स्वर्ण जित्दा ५.०५ अङ्क जोडेका इन्डोनेसिया र ५.०३ अङ्क ल्याएका मलेसियाका खेलाडीले कास्य पदक जित्नुभयो ।

मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औँ एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?