सि-आस्वा शुल्क पाँच रुपैयाँभन्दा बढी लिन नपाइने

Read Time = 4 mins

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आस्वा शुल्क घटाएको छ । आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सि-आस्वा शुल्क अधिकतम् पाँच रुपैयाँ कायम गरेको हो ।

सोमबार आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमालले पाँच रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको बताउनुभयो । अब बैङ्क तथा वित्तीय संस्थाले आइपिओ भर्ने आवेदकबाट सि–आस्वा शुल्कबापत बढीमा पाँच रुपैयाँमात्र लिन पाउनेछन् ।

हाल बैङ्क तथा वित्तीय संस्थाले सि-आस्वा शुल्कबापत १० देखि सय रुपैयाँसम्म लिने गरेका छन् । तथापि केही बैङ्कले भने सि-आस्वा सेवा निःशुल्क प्रदान गर्दै आएका छन् । सेयर आवेदन हुँदा सङ्कलन हुने पाँच रुपैयाँमध्ये एक रुपैयाँ बिक्री प्रबन्धकले र एक रुपैयाँ केन्द्रीय निक्षेप प्रणालीले पाउने पनि अध्यक्ष हमालले जानकारी दिनुभयो ।

सेयर बजारमा ७.४१ अङ्कको गिरावट
साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक ७.४१ अङ्क घटेर २०५३.१३ अङ्कमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४७, फ्लोट इन्डेक्स ०.५१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५६ अङ्कले घटेको छ । कारोबारमा आएका दुई सय २२ कम्पनीका ५२ लाख ३० हजार कित्ता सेयर एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सोमबार नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार दुई अर्ब चार करोड ७० लाख ९३ हजार रुपैयाँको कारोबार भएको थियो ।

सोमबार नेप्सेका १३ समूहमध्ये म्युचुअल फन्ड समूहबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड समूहको भने ०.२० प्रतिशतले बढेको छ तर होटल तथा पर्यटन समूहको १.०५, विकास बैङ्कको ०.६०, जलविद्युत्को ०.६८ र निर्जीवन बिमाको ०.५७ प्रतिशतले घटेको छ । दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सामलिङ पावरको सेयरमूल्य ५.६६ प्रतिशतले बढेको छ भने दोर्दीखोला जलविद्युत्को ५.२४ प्रतिशतले घटेको छ । श्वेतगङ्गा हाइड्रोपावरको सेयरमूल्य ४.१५ र तारागाउँ रिजेन्सी होटलको ३.८९ प्रतिशत घटेको छ । हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारभन्दा बढीको सेयर कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?