अवैध संरचना हटाउने महानगरको अभियान जारी, राहदानी विभागको बेसमेन्ट खाली गराइयो

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरूप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान जारी राखेको छ । महानगरले नक्सापास नगरी निर्माण भएका र नक्साअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नगरिएका अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो । महानगरले अवैध संरचना हटाउने अभियानअन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको जनाएको छ । शुक्रबार दिउँसो महानगरको टोलीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयको बेसमेन्ट खाली गराएको छ । महानगरीय प्रहरीलगायत सुरक्षाकर्मीले त्यहाँस्थित राखिएका कुर्सी र अन्य सामान बाहिर हटाएका थिए ।

पार्किङस्थलको लागि नक्सापास गरिएको ठाउँमा सेवाग्राही बस्ने कुर्सीहरू राखिएको थियो । बेसमेन्ट खाली गराउन महानगरका मेयर बालेन्द्र साह (बालेन)स्वयं फिल्डमा पुग्नुभएको थियो । मेयर साहले दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन निर्देशन दिनुभएको छ । निर्देशन अटेर गरे भत्काउन बाध्य हुने मेयर साहको चेतावनी छ । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याइने कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले बताउनुभयो । ‘कामपाको ३२ वटै वडामा निर्माण भएका यस्ता संरचना बाँकी राखिने छैन,’ उहाँले भन्नुभयो, ‘अब विगतमा झैँ मनोमानी चल्दैन ।’ अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो ।

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङकै प्रयोजनमा आउने
त्रिपुरेश्वरस्थित राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा पार्किङ खुल्ला गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले बेसमेन्टमा रहेको प्रतीक्षा कक्ष हटाउन भन्दै कुर्सीहरू उठाएर खाली गरेपछि विभागले अण्डरग्राउण्ड खुल्ला गर्ने भएको हो । ‘साबिकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकहरूका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा अबदेखि सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने काठमाडौं महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकाले भदौ १२ गते आइतबारदेखि उक्त बेसमेन्ट सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले जारी गरेकोे सूचनामा भनिएको छ । बाहिरको सडकमा अनावश्यक भिडभाड नगर्न पनि विभागले अनुरोध गरेको छ । विभागले आइतबारबाट बेसमेन्ट खुल्ला गर्ने भन्दै विभागबाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन अनुरोध गरेको हो ।

जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस् : मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जुन प्रयोजनका लागि बनेको संरचना हो त्यही रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । महानगरको यो अभियान जारी रहने भन्दै नियमको पालना गरिदिन उहाँले आग्रह गर्नुभएको छ । ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यही रूपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिक रूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ,’ उहाँले भन्नुभएको छ, ‘अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ । महानगरको यो अभियान सधैँ रहनेछ । हामी पुनः अनुरोध गर्दछौँ, कृपया ! नियमको पालना गरिदिनुहोला ।’

‘अधिकार छ भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नुभयो भने के हुन्छ ?’ : विश्वकर्मा
सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर साहले भौतिक संरचनाहरू हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्तिसमेत जनाउनुभयो । कामनपाका मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू हटाउने अभियानलाई तीव्रता दिइरहँदा उहाँको यस्तो प्रतिक्रिया आएको हो । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताउनुभयो ।

‘मेयर साब भत्काउँदै हिँड्नुभएको छ त्यसको कानुनी प्रक्रिया छैन ?,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ । अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैँले बन्दुक बोकेर हिँड्नुभयो भने के हुन्छ ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ ।’ नेता विश्वकर्माले मेयर साहले आतंकित बनाउने काम गरेको गुनासोसमेत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?