कुशेऔँसी र पितृमहिमा

डा. नारायणप्रसाद निरौला
Read Time = 13 mins

भाद्रकृष्णपक्षको औँसी तिथिलाई कुशेऔँसी भनिन्छ । यस दिन पवित्र कुश घरघरमा भित्र्याउनुका साथै पितृप्रति श्रद्धाभक्तिभाव प्रकट गरिन्छ । हामी पितृअंशकै प्रतिरूप हौँ । हामीमा पितृबीज रहेकाले पितृप्रति श्रद्धाभाव नित्य रहनुपर्दछ । विशेषतः औँसी तिथिमा पितृलोकमा मध्याहृन भोजन गर्ने समय हुने र उक्त समयमा पितृप्रति भक्ति भाव राखेर गरिने कार्यले पितृ खुशी भई आशीर्वाद प्रदान गर्छन् भन्ने धार्मिक मान्यताका आधारमा यसदिन पितृस्मरण स्वरूप इह लोकका पितृको सम्मान गर्ने र परलोक भएका पितृप्रति श्रद्धाभाव व्यक्त गर्ने धार्मिक एवं सांस्कृतिक मान्यता रहिआएको छ ।

कुशको महिमा :
कुश देव र पितृकार्यको निम्ति प्रयोग हुने पवित्र वनस्पति हो । भाद्र कृष्ण औँसीका दिन घरमा कुश भित्र्याउने पनि विशेष विधि विधान रहेको छ । प्रातः पवित्र गंगामा स्नान गरी कुश भएको स्थलतर्फ प्रस्थान गर्नु पर्दछ । कुश पवित्र स्थानमा उम्रिएको छ छैन विशेष अवलोकन निरीक्षण पनि गर्नुपर्ने हुन्छ । विशेषगरी तिल उम्रिएका ठाउँमा रहेको कुश उत्तम मानिन्छ ।
‘कुशाग्रे वसतो रुद्रः कुशमध्ये तु केशवः ।
कुशमूले वसेद् ब्रहृमा कुशान् मे देहि मेदिनि ।।’
अग्र भागमा शिव, मध्य भागमा विष्णु र मूलभागमा ब्रहृमा निवास गर्नेवाला कुश मलाई प्रदान गर्नुहोस् भन्दै पृथ्वी मातासँग प्रार्थना गर्नुपर्दछ ।

पूर्वोत्तर फर्की विशेष मन्त्र उच्चारण पूर्वक कुश उखेली घरमा भित्र्याउनुपर्दछ । ‘पूर्वं मन्त्रं समुच्चार्य ततः पूर्वोत्तरा मुखः । हुँफट्कारेण मन्त्रेण सकृच्छित्वा समुद्धरेत् ।।’ यसरी कुश उखेल्नु पूर्व निम्न मन्त्र उच्चारण गर्नुपर्दछ : ‘विरञ्चिना सहोत्पन्नः परमेष्ठी निसर्गतः । नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव ।।’ यसरी प्रार्थना गरिसकेपछि हुँ फट् भन्दै कुशलाई उखेल्नु पर्दछ । यसरी उखेलेको कुश घरमा ल्याई पवित्र स्थानमा राख्नुपर्ने विधान छ । यसपछि सोही नयाँ कुश प्रयोग हुने गर्दछ । यसरी राखिएको कुश वर्ष दिनसम्म देव र पितृक कार्यका निम्ति प्रयोग गर्न योग्य मानिन्छ ।

औँसी परलोक भएको पितृको दिन हो । चन्द्रमाको माथिल्लो भागमा पितृको निवासस्थान रहेको छ । हाम्रो दुई पक्ष अर्थात् एक महिना बराबर पितृलोकमा एक दिनरात हुने गर्दछ । औँसीका दिन पितृलोकमा भोजन गर्ने मध्य दिन रहन्छ ।

कुश देवकार्य र पितृ कार्यका निम्ति आवश्यक पर्दछ । जसको धारण र प्रयोगले हरेक कुरा र कार्यमा पवित्र बनाउनो गर्दछ । देवकार्यमा कुशका पवित्र, उपयवन, ब्रहृमा, कंकण, दण्ड आदि बनाएर धारण गरिन्छ भने पितृकार्यमा ब्रहृमा, पवित्र, मोटक आदि बनाउने गरिन्छ । कुश नभएको स्थानमा दुवोको प्रयोग पनि गरिन्छ । जुन कुशको विकल्प हो । कुश, कास, जौ, दुवो, उशिर, गहुँ, धान, मुज र बावियो दर्भका दश भेद रहेका छन् । सात पात एकै नालमा भएको दर्भ वा तिलको खेतमा उम्रेको कुशलाई शुभ मानिन्छ । यसरी प्राप्त कुश धार्मिक कार्यका निम्ति पवित्र रहने गर्दछ ।

पितृमहिमा :
कुशेऔँसीका दिन पितृप्रति श्रद्धाभाव व्यक्त गरिन्छ । हाल बुबाको मुख हेर्ने पितृ दिवसका रूपमा पनि यो दिनले सांस्कृतिक मान्यता पाएको छ । पाणिनीय व्याकरण अनुसार ‘पा’ रक्षणे धातुमा ‘तृच्’ प्रत्यय लागेर पितृ शब्दको निर्माण हुन्छ । जसको अर्थ रक्षा गर्ने, संरक्षण गर्ने अभिभावक भन्ने हुन्छ । पिताका थुप्रै पर्यायवाची नाम रहेका छन् जस्तै : पितृ, पिता, जनक, गुरु, जनयिता, जन्मद, तात, बुबा आदि । यो संसारमा कर्मको मार्गमा अघि बढाउने आमा पछिका गुरुका रूपमा पितालाई शास्त्रले पूज्य स्थान प्रदान गरेको छ ।

वेदले पनि पितालाई सम्मानपूर्वक नमन गरेको छ : ‘नमो वः पितरो रसाय नमो वः पितरः शोषाय नमो वः पितरो जीवाय...’ (यजुर्वेद, २।३२) पितृ खुशी भए रसात्मक जीवन र सृष्टिको चक्र चलाउँछन् र रुष्ट भए ग्रीष्मजस्तै यो सृष्टिलाई सुकाउछन् भन्ने वैदिक ऋचाको अर्थ रहेको छ । इहलोकका साथै परलोक गए पनि पितृको स्थान सदा स्मरणीय रहन्छ । आफ्ना पिता पुर्खाको नित्य स्मरण गर्नुपर्दछ, नमन गर्नुपर्दछ भनेर वेदले पाठ सिकाएको छ ः ‘पितृभ्यः स्वधायिभ्यः स्वधा नमः, पितामहेभ्यः स्वधायिभ्य स्वधा नमः, प्रपितामहेभ्यः स्वधायिभ्य स्वधा नमः ।।’ (यजुर्वेद, १९।३६) ।

वेदकै व्याख्याका रूपमा आएका उपनिषद्ले पनि पितृको स्थान सर्वोपरि रहेको बताएका छन् । ‘पितृ देवो भव ।।’ (तैत्तिरीयोपनिषद्, १।११) अर्थात् पितृ देवता समान हुन्छन् । यसैले सदा पितृको देवताजस्तै पूज्य स्थान रहेको छ । ‘आचार्याणां शतं पिता...’ (मनुस्मृति, २।४५) भनी शिक्ष दिने गुरुभन्दा जन्म दिने पिता सय गुण माथि रहन्छन् ।

औँसीमा पितृस्मरण गर्नुको कारण :
औँसी परलोक भएको पितृको दिन हो । चन्द्रमाको माथिल्लो भागमा पितृको निवासस्थान रहेको छ । हाम्रो दुई पक्ष अर्थात् एक महिना बराबर पितृलोकमा एक दिनरात हुने गर्दछ । औँसीका दिन पितृलोकमा भोजन गर्ने मध्य दिन रहन्छ : ‘विधूध्र्वभागे पितरो वसन्तः स्वाधः सुधादीधितमामनन्ति । पश्यन्ति तेऽर्कं निजमस्तकोध्र्वे दर्शे यतोऽस्माद्द्युदलं तदैषाम् ।।’ (सिद्धान्तशिरोमणि, २४।१३) अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृ निवास गर्दछन् । औँसीको दिन पितृले आफ्नो शिरमाथि सूर्य दर्शन गर्न पाउँछन् जुन समय मध्याहृन अर्थात् भोजन गर्ने बेलाको हो । अतः औँसीका दिन पितृका निम्ति जल, पिण्ड, सिदा दान एवं ब्राहृमण भोजन गराउनु भनिएको हो ।

जसले पितृ तृप्त हुने गर्दछन् र भूर्लोकवासी सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । भाद्र कृष्ण औँसी पनि यस्तै पितृप्रति श्रद्धाभक्ति भाव व्यक्त गर्ने दिन हो । श्राद्ध लाग्दो तिथिमा गरिने भएकाले कहिलेकही श्राद्ध अघिल्लै दिन पनि पर्न सक्छ । यो समयमा गोकर्ण, उत्तरगया, कागवेनी आदि गरिएका तीर्थमा पितृको भक्तिभावपूर्वक श्राद्ध गरिन्छ । तीर्थ श्राद्धका निम्ति यो उत्तम दिन हो । पिताको तिथि थाह नभएकाले यस दिन श्राद्ध गर्ने चलन छ ।

भाद्रकृष्ण औँसीका दिन नयाँ कुश घरमा भित्र्याइन्छ । यसरी नयाँ कुशको प्रयोग गरी सर्वप्रथम पितृलाई जल दान (तर्पण) गर्नुपर्दछ । पितृको पूजापश्चात् नै देवपूजा गर्ने शास्त्रीय विधि रहेकाले पनि नयाँ कुशको प्रयोग गरेर पिताप्रति भक्तिभाव प्रकट गरिएको हो । यही पितृप्रति श्रद्धाभक्ति प्रकट गर्ने दिनलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाउने चलन छ । किनकि औँसीको अन्धकारमा पनि पिताजीले उज्यालो ज्योति प्रदान गर्नुहुन्छ । किनकि पितालई गुरुको संज्ञा शास्त्रले प्रदान गरेका छन् । गुरुको अर्थ अन्धकार हटाएर ज्ञानको ज्योति प्रदान गर्ने भन्ने हुन्छ । गुरु साक्षत् अन्धकारलाई नाश गर्ने व्यक्ति भएकाले औँसीको अँध्यारोबाट पार लगाउने एकमात्र मार्गदर्शक पिता अर्थात् बुबा भएकाले यस दिन बुबाको मुख हेर्ने चलन रहेको हो ।

परलोकवासी पिताको जसरी श्रद्धाभक्तिपूर्वक श्राद्धादि कर्म गरिन्छ त्यसैगरी आफ्ना बुबाको सम्मानपूर्वक पूजा भाद्रकृष्ण औँसीका दिन गर्नुपर्दछ । बुबालाई मनपर्ने वस्तु प्रदान गर्नुका साथै जीवनभर खुशी राख्ने वाचा पनि गर्नुपर्दछ ।

परलोकवासी पिताको जसरी श्रद्धाभक्तिपूर्वक श्राद्धादि कर्म गरिन्छ त्यसैगरी आफ्ना बुबाको सम्मानपूर्वक पूजा भाद्रकृष्ण औँसीका दिन गर्नुपर्दछ । बुबालाई मनपर्ने वस्तु प्रदान गर्नुका साथै जीवनभर खुशी राख्ने वाचा गर्नुपर्दछ । एकदिनको स्मरणले मात्र पिताप्रति सन्ततिको दायित्व पूरा हुँदैन । सदा पिताको मुखमा प्रसन्नता प्रदान गर्ने यत्न गर्नुपदर्छ । जसले हामीलाई पितृऋणबाट मुक्ति मिल्दछ । सन्तान नराम्रा हुन् भन्ने पिताको भावना कदापि हुदैन । पिताले पनि सदा सन्ततिको उन्नति प्रगति नै चाहेका हुन्छन् । अतः आफ्ना पिताको मनोभावना बुझेर तदनुसारको व्यवहार गर्न सकियो भने पितृप्रति सच्चा सम्मान हुनेछ ।

यो अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुको रूपमा पिताको स्थान सर्वोपरि रहेको छ । वेददेखि उपनिषद्, स्मृति ग्रन्थले पनि पितलाई उच्च स्थान प्रदान गरेका छन् । हामी पिताकै बीज लिएर आएका छौँ । हामीमा पनि पितृको गुण रहेको हुन्छ । यसरी सन्ततिलाई संसारको बाटोमा अघिबढ्न सिकाउने पितृको स्थान सदा आदरणी, पूज्य र स्तुत्य रहेको छ । त्यसैले पनि पितृप्रति श्रद्धा भक्तिभावपूर्वक पितृको सम्मान गर्नुपर्दछ, बुबाको मुख हेर्नुको सार्थकता पनि यसैमा रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?