प्रीति आत्रेयको अनुभूतिको इन्द्रेणी लोकार्पण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नवप्रतिभा प्रीति आत्रेय ‘अनुभूतिको इन्द्रेणी’ कविता संग्रहका साथ नेपाली साहित्य भण्डारमा उपस्थित हुनुभएको छ । लामा-छोटा गरी ५९ वटा कविताहरूको कृति एक समारोहबीच काठमाडौंमा लोकार्पित भएको हो ।

पद्म कन्या क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.दुर्गाप्रसाद अर्याल, वरिष्ठ पत्रकार तथा साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहाल, लेखक कवि रामप्रसाद ज्ञवाली, प्रा.यज्ञेश्वर निरौला, प्रा.डा.कमला सुवेदी, कवि माता आर्या आत्रेय, साहित्यकार गीता सापकोटाले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

अनुभूतिको इन्द्रेणीका विषयमा सापकोटा, ज्ञवाली र निरौलाले समीक्षा गर्दै कविता सरल, सरस र जीवन उपयोगी मार्मिक भएको विचार प्रकट गर्नुभएको थियो । यस्तै प्रमुख अतिथि डा.अर्यालले कविता सुख र दुःखको अभिव्यक्ति भएको र प्रीतिको सिर्जना प्रशंसनीय रहेको बताउनुभयो ।

आफूभन्दा शिष्य र सन्तानको उन्नतिमा मातापिता र गुरुले सुखानुभूति गर्ने भएको हुनाले प्रीतिले गरेको सिर्जनाबाट आफूलाई प्रसन्नता मिलेको सभापतिको आसनबाट प्रा.दाहाल बताउनुभयो । वाल्मीकि विद्यापीठकी छात्राका रूपमा उहाँलाई आफूले नेपाल परिचयको कक्षा लिएको र उहाँका पिताजी डा.आत्रेय आफ्नोसमेत गुरु रहेको दाहालले स्मरण गर्नुभयो ।

प्रीति आत्रेय प्रसिद्ध साहित्यकार, पूर्वीय व्याकरणका निष्णात प्रा.डा.विष्णुराज आत्रेयकी छोरी हुनुहुन्छ । सर्जक एवं पत्रकार डा.अलका आत्रेय उहाँकी दिदी हुनुहुन्छ । परिवार नै शिक्षित र लेखक भएकोमा गौरव अनुभव गरेको र पिताजीबाट नै प्रेरणा मिलेको प्रीतिको विचार थियो । पितृलाई स्मरण गर्ने दिन पारेर कृति विमोचन गर्नुको कारण पनि पिताजीप्रति श्रद्धाञ्जलिका लागि भएको प्रीतिको भनाइ थियो ।

अनुभूतिको इन्द्रेणीको प्रकाशन शब्दार्थ प्रकाशनले गरेको हो भने कायक्रमको आयोजन प्रा.डा.विष्णुराज आत्रेय ‘लाटो साथी’ स्मृति प्रतिष्ठानले गरेको थियो । प्रीति यतिखेर सपरिवार कम्बोडियामा कार्यरत हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि रचना गरेका कृतिलाई छोटो समयमा प्रकाशन गरेको जानकारी दिनुभयो । प्रा.डा.दुर्गाप्रसाद अर्यालको कृतिगत समीक्षा र प्राज्ञ डा.देवी नेपालको शुभेच्छा कृतिमा समेटिएको छ ।

प्रीति आत्रेय संस्कृत, हिन्दी अंग्रेजी नेपालीमा समान अधिकार राख्नुहुनछ । उहाँले नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट ज्योतिषमा आचार्यसमेत गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?