पुस्तक : किताबको नामकरण : ‘लोकप्रिय राष्ट्रवादी गीत’

हिमालय टाइम्स
Read Time = 22 mins

✍️ तिलकप्रसाद लुइँटेल 

नेपाली आधुनिक साहित्य-क्षेत्रमा परिचयको पटक्कै अभाव नभएका, विविध विधामा छाप चम्किलो बनाएका विशिष्ट व्यक्तित्वको नाम हो डा.बमबहादुर जिताली । जहाँ छन् बुद्धका आँखा बोलको, अति लोकप्रिय राष्ट्रिय गीत दुई हजार पैँतलीस सालमा भक्तराज आचार्यको स्वर-संगीतमा रेकर्ड भएर सुनिँदै आएको छ । दुई हजार चवालीस साल वैशाख एक गते यस गीतको रचना श्रीजितालीबाटै भएको रहेछ । देशव्यापी रूपमा यो गीत गुञ्जिन थालेपछि सर्जक प्रत्येक राष्ट्रवादी नेपालीका मनमा अझ बलियोसँग स्थापित भएका छन् । उसै गीतको बोलमा पुस्तकको नाम जुराएर सर्जक बमबहादुर जितालीको गीति-कविता संग्रह विसं २०७८ मा प्रकाशित भएको छ ।

त्यसैले पुस्तकको नाम ‘जहाँ छन् बुद्धका आँखा’ रहेको छ । पुस्तकको एक सय उन्नाइस पृष्ठमा यही गीत समावेश भएको छ । माथि गाढा नीलो रंगभित्र सुनौला अक्षरमा किताबको नाम छ र त्यसका तल विधा उल्लेख गरिएको छ । क्रमशः तलतिर नीलो कम हुँदै पृष्ठभूमिमा काठमाडौँ बौद्ध स्तुपको चित्र छ । स्तुपमा बुद्धका चम्किला आँखा र नाक जस्तो चित्र देखिएर किताबको नाम अझ प्रष्ट भएको छ ।

प्रकाशक मञ्जुश्री साहित्यिक समाज र मूल्य पाँच सय रुपैयाँ रहेको उक्त पुस्तक श्रद्धेय माता स्व.वसुन्धरा थापा (बस्नेत) र स्व.पिता प्रेमबहादुर थापाको फोटो राखेर समर्पण गरिएको छ । फोटाका मुनि नाम र नामका मुनि जीवन अवधि पनि उल्लेख छ । त्यसभन्दा पछिल्लो पृष्ठमा मञ्जुश्री साहित्यिक समाजका सल्लाहकार श्रीहरि फुँयालले छ शुभकामना शीर्षक राखेर श्लेषको आभास दिने गरी चारहरफे कविता छ र बट्टामा शुभकामना लेख्नुभएको छ ।

त्यसभन्दा पछिल्लो पृष्ठमा गीति कविता रचयिताको भूमिका शीर्षक राखेर लेखकीय मन्तव्य थालनी भएर चार पृष्ठ भरेको छ । यस लेखमा सबै काव्य सर्जकको साझा प्रवृत्तिसँग मिल्नेगरी आफ्नो साहित्य सिर्जन यात्रा र त्यसका आरोह अवरोह, प्राप्ति चुनौती सबै पक्षको अति छोटकरीमा जानकारी गराउँदै यो पुस्तक प्रकाशन हुने बेलासम्मको कुराकानी छ ।

सबै गीति कविताहरू एकसे एक दमदार छन् र अब्बल छन् । सबैका विषयमा लेखेर साध्य नहुनाले कुनै कुनैको एकएक अंशको चर्चा गरियो । गीत लेखिएको रेकर्ड भएका र गाइएका गीतको जानकारी सबैमा दिइएकै छ ।

प्रकाशकीय लेख मञ्जुश्री साहित्यिक समाजले लेखेको छ । सो समाजको स्थापना र जि.प्र.का.मा दर्ता भएको मितिसमेत अन्त्यमा उल्लेख छ । एकै पृष्ठमा समाप्त भएका त्यस लेखको अन्तिम अनुच्छेद जस्ताको तस्तै हेर्दा, ‘अन्त्यमा, प्रतिष्ठित कवि, गीतकार, कथाकार, निबन्धकार, समीक्षक, तथा समालोचक डा.जितालीको प्रस्तुत गीति-कविता–सङ्ग्रहका गीत, सङ्गीत र शब्दसंयोजन हेर्न, सुन्न र सानन्दको स्वाद पाउने समग्र पाठक, गायक र संगीतकारले समेत खोजी खोजी पढेर सुमधुर रसपान गर्नुहुनेछ र रेकर्डका निम्ति गीतकारसँग अनुमति लिनुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’ यस्तो लेखेको पाइयो । यस अनुच्छेदले उहाँका कवित्वका विषयमा केही जानकारी भयो ।

पाना पल्टाउँदाको पृष्ठबाट चार खण्डको विषयसूची सुरु भयो । विषयसूचीको खण्ड कमा सवाई र सेलो लोकछन्दका सतासीवटा गीति कविताका शीर्षक छन् । खण्ड खमा झ्याउरे लोकछन्दका तेइसवटा गीति कविताका शीर्षक छन् । तेस्रो खण्ड ‘ग’मा विविध छन्दका गीति कविता भनेर बीसवटा शीर्षक राखिएका छन् भने खण्ड ‘घ’मा परिशिष्ट व्यक्तिगत तथा संस्थागत गीति कविता भनेर तेइसवटा शीर्षक आएका छन् ।

यसरी जम्मा एकसय त्रिपन्न गीति कविताका विषयसूचीले चार पृष्ठ ओगटेको छ । सबै गीति कविता एकसे एक दमदार छन् र अब्बल छन् । सबैका विषयमा लेखेर साध्य नहुनाले कुनै कुनैको एकएक अंशको चर्चा गरियो । गीत लेखिएको रेकर्ड भएका र गाइएका गीतको जानकारी सबैमा दिइएकै छ । सबै गीति कवितामा कथ्यवस्तु जे छ त्यो शीर्षकबाटै थाहा हुन्छ । गीति कविताको भाव पक्ष र कलाको सजावट हेर्न त पाठकहरूले पुस्तककै पाना पल्टाएर हेरेको राम्रो ।

‘सरस्वती वन्दना’ शीर्षकमा पृष्ठ एकमा रहेको सवाई छन्दको कविताले वैदिक सनातन संस्कृति र आस्थालाई संकेत गरेको छ । वाणीकी देवीको आराधनाबाट ग्रन्थ रचना गरेको हुनाले यस गीति कविताले मंगलाचरणको परम्परा निर्वाह गरेको देखिन्छ । सरस्वती संस्कृति हुन्, संस्कृति प्रकृति हो त्यसैले सरस्वतीको आराधना नै प्रकृतिको आराधना हो । हाम्रो संस्कृति सधैँ प्रकृतिका पक्षमा छ भन्ने कविताको चौथो पद्यमा देखिन्छ । सभ्यता प्रकृतिसँग गाँसिएको, जीवन प्रकृतिसँग गाँसिएको र समाजको विश्वास ईश्वरीय आस्थासँग जोडिएको छ । पुर्खाले पत्ता लगाएको ज्ञान र विज्ञान, विधि र प्रविधिसँगै वैदिक सनातन जीवनपद्धति अघि बढेको छ भन्ने तथ्य यस गीति कविताको अन्तर्वस्तु हो छ भन्न सकिन्छ ।

‘पद, पैसा र पावरको कमाल’ शीर्षकको, सवाई छन्दको गीति कविता पन्ध्रौं पृष्ठमा छ । सबै समाजमा पद, पैसा र पावर भएका मानिसको सान सौकत कस्तो छ भन्ने सबैले जानेको छ । विद्या, धन र अधिकार यी तीन कुरा दुष्टले अरूसँग जोरी खोज्न, सान देखाउन र सताउन प्रयोग गर्छ तर यिनै तीनलाई सज्जनले यिनै तीन कुरा ज्ञान बाँड्न, सहयोग गर्न र सुरक्षा गर्नमा सदुपयोग गर्छ भन्ने नीतिशास्त्रमा उल्लेख छ । यही भावना यसै कविताको तेस्रो पद्यमा देखिन्छ । पैसालाई केही होइन भन्न पनि सकिन्न र सबै थोक पैसा नै हो भन्न हुँदैन । साधनलाई नै साध्य मानेर मानिसले दुःख पाएको कुरा यस कविताको केन्द्रीय कथ्य हो भन्न सकिन्छ ।

‘शिवलिंगभित्रको रहस्य’ नामको, सवाई छन्दको पृष्ठ एकतीसमा आएका कविताले कोइला, गोबर काला भइकन उपयोगी छन्, कालो छ र त सेतोको महत्व पनि छ भन्ने भाव व्यक्त गरेको छ । शिव संस्कृतिको बोधक, प्रकृतिको द्योतक, शिव शब्दले भगवान् शिवबाट समाजले शिक्षा, कला, सुरक्षा र अन्य धेरै कुरा प्राप्त गरेको आस्था र विश्वासलाई यस गीति कविताले अघि सारेको छ । सात रंग प्राकृतिक हुन् र सबै रंगको समान मिश्रण सेतो हो र रंगहरूको अभाव कालो हो भन्ने रंगका विज्ञहरू भन्छन् । रंगको उपस्थिति जसरी आवश्यक छ अभाव पनि उस्तै महत्वपूर्ण छ । सेतोदेखि कालोसम्मका अर्थात् सबै रंगको उपस्थितिदेखि सुरु भएर विविध रंगका वा सबै रंगको अभाव रहेका भौतिक वस्तुहरुको पनि आफ्नै महत्व छ भन्ने यस गीति कविताले दोस्रो पद्यमा देखाइएको छ ।

‘ज्योतिको खोजीमा धर्ती’ शीर्षकको, सवाई छन्दको गीति कविता पृष्ठ छयालीसमा छ । दिवाचर प्राणीले अँध्यारो होइन उज्यालो पछ्याउँछ, बोटबिरुवाले उज्यालो खोज्छ भने मानिस त शिक्षा, सिप, प्रविधि, सुन्दरता, सम्मान आदिले सम्पन्न हुँदा नै सजिलो जीवन बाँच्न पाउँछ । यसै सत्यलाई पुर्खाले फेला पारे र ‘तमसो मा ज्योतिर्गमय’ भनेका थिए, शीर्षकले लिएको लक्ष्य पनि यही नै हो । मानिस चोर, ठग, भ्रष्ट, झुटो, अपराधी नै भए पनि त्यसै रूपमा कसैले बोलाएको उसलाई मन पर्दैन । समाजमा ऊ आफूलाई सज्जन, शिक्षित, सिपालु, विज्ञ र सम्मानित देखाउन खोज्छ । यस गीति कविताको तेस्रो पद्यमा हेर्दा प्रष्ट हुन्छ ।

सवाई छन्दमै पृष्ठ एकसठ्ठीमा ‘देश बन्छ रहरिलो’ शीर्षकको गीति कविताले समाजका सबैलाई कर्तव्यप्रति सचेत रहने भाव दर्साएको छ । देश मानिसको जीवनको आवश्यकताका साथै साझा परिचय पनि हो । आफ्नो परिचय उच्च रहोस् भनेर मानिसले युगौँदेखि लगानी गरेको छ । त्यो व्यक्तिगत हुन्छ र राष्ट्रिय हुन्छ । आफ्ना देशमा कमाइको अवसर नहुने विश्वका कैयौँ देशका बासिन्दाहरू अर्काका देशमा कमाउन जाने बाध्यता भए पनि कमाएको धन आफ्ना देशमा ल्याएर अचल सम्पत्ति जोड्दै सदुपयोग गर्दै देशलाई धनी बनाउने प्रयास गर्छन् ।

त्यसको विपरीत हाम्रा देशमा पाइलैपिच्छे कमाउने अवसर छ तापनि यहाँका धेरै मानिसले देशभित्रको आफ्नो अचल सम्पत्ति बेचेर पराई देशमा लगेर लगानी गरेको तथ्य जति खोजे पनि पाइन्छन् । नेता बदल्नु वा नीति बदल्नु नै सबै कुरो होइन, नियत बदलियो भनेमात्रै नियति बदलिन्छ भन्ने भाव बोकेका यस कविताको तेस्रो पद्यले अवसर र स्रोतसाधन हामीसँग छ भन्ने दर्साएको छ ।

अर्काको भलो गर्नेको नै आखिरमा भलो हुन्छ, अन्त्यमा सत्यको नै जित हुन्छ भन्ने हाम्रो विश्वास छ र उसै विश्वासलाई अभिव्यक्त गर्ने सामाजिक सांस्कृतिक पर्वका विविध पक्ष दर्साउने सवाई छन्दकै, तिहार शीर्षकको कविता पृष्ठ एकसठ्ठीमा छ । सत्यको जित र असत्यको पराजय प्राकृतिक नियम नै हो । प्राकृतिक आस्थामा विश्वास अडिएको हुन्छ । कविताको भाव यही हो तर व्यावहारिक रूपमा समाज र आफ्नो जीवन हेर्न पनि मानिस बाध्य छ । मानिसको जीवन चल्न शिक्षा र प्रविधिको अपरिहार्य आवश्यकता हुन्छ । अशिक्षा अन्धकार हो र शिक्षाले उज्यालो बाटो दिन्छ तर मानिसले कुशिक्षाले समाजलाई बर्बाद बनाउँछ ।

मानिसले शिक्षालाई दुरुपयोग गर्नु नै कुशिक्षित हुनु हो । प्रविधिलाई सदुपयोग गर्दा समाजलाई सहज र सुविधा हुन्छ र दुरुपयोग गर्दा सानो जस्तोसुकै दुर्घटना हुन सक्छ । मानिसको जीवन अस्थायी हुनाले समाजमा सत्यको जित भएको सबै मानिसले देख्न पाउँछ भन्ने जरुरी छैन । जीवनभरि अन्याय नै खपेर धेरै मरेको देखेकै छौं र कैयौँ पटक हामी आफैँले पनि अन्याय खप्न बाध्य हुनुपरेको पनि छ । त्यति हुँदा पनि हामी सत्यको जित भन्न छोड्दैनौं किनभने त्यही विचार सही हो । अर्को पुस्तालाई दिइने प्राकृतिक व्यवहार उही हो । यही मानेर असल व्यवहार गर्नुपर्छ भन्ने भाव यस कविताको अन्तिम पद्यमा आएको छ ।

संस्कृति, चालचलन, चाडपर्व, भाषा, भेष आदि धेरै पक्षको परिवर्तनसँगै समाजले सभ्यताको परिवर्तन खोज्छ । पहिलेका हतियार, साधन, औजार, प्रविधि समयक्रममा बदलिन्छन् । यसै क्रमले परिवर्तन हुँदै आउँदा मानिसको बसोबास भएका ठाउँमा पनि परिवर्तनको अपेक्षा गरिन्छ । दुःखद अवस्थामा भएको सामाजिक परिवर्तनले विनाश निम्त्याउँछ र सुखद् रूपमा भएको परिवर्तन सबैको अपेक्षा हो । यसै परिवर्तनलाई सामाजिक सभ्यताको परिमार्जन भन्न सकिन्छ । गाउँबहुल देश भएको हुनाले हाम्रा देशको सुधार र त्यस सुधारबाट नयाँ सभ्यता प्राप्त गर्छ ।

भावका दृष्टिले यस्तै अभीष्टलाई आत्मसात् गर्दै असारे झ्याउरे छन्दमा, पृष्ठ पन्चानब्बेमा गाउँको शिर नउठेसम्म शीर्कषको कविता देखा परेको छ । बसोवासका लागि कामचलाउ कटेरा, झुप्राहरू क्रमशः राम्रा पक्की घरमा परिणत होऊन्, टुकी र दियालोका ठाउँमा बिजुली बाल्न पाइयोस् भन्ने भाव गीति कविताका अन्तिमतिर आएको छ ।

‘यो मेरो छाती चिरेर हेर’ शीर्षकको असारे झ्याउरे छन्दको कविता पृष्ठ एक सय एघारमा छ । यस गीति कविताले देशभक्तको हृदयलाई संकेत गरेको छ । भ्यागुताले पनि आफू जन्मिएको हिलोलाई माया गर्छ, त्यहीँ आफ्नो आहारा खोज्छ, शत्रु आउँदा त्यहीँ लुकेर ज्यान बचाउँछ । उसलाई आफू जन्मिएको हिलो प्रिय हुन्छ । नेपालीको जन्मस्थल नेपाल हो, यो उसलाई प्रिय छ । बोटबिरुवा, चराचुरुंगी, पशुप्राणी, हावापानी, भूवनोट आदिले प्राकृतिक सुन्दरता र सम्पन्नत रहेको यस देशलाई नछोडेर यहीँ नयाँ कुरा खोज्ने प्रयास गर्दा सम्मान पाइन्छ भन्ने गीति कविताको भाव हो । अन्तिम चार हरफमा नेपालीले सधैँ स्वाभिमानपूर्वक यसै देशमा स्वतन्त्र रहन पाएको हुनाले स्वर्गभन्दा सुन्दर लाग्दो छ भन्ने आशय देखिन्छ । अत्यन्त लोकप्रिय, अनुष्टुप् छन्दको राष्ट्रिय गान र उसैबाट पुस्तकको नामकरण गरिएको जहाँ छन् बुद्धका आँखा शीर्षकको गीति कविता पृष्ठ एकसय उन्नाइसमा रहेको छ ।

‘को भुल्ने वीरको नाउँ’ शीर्षक रहेको अनुष्टुप् छन्दको, राष्ट्रिय गान, गीति कविता पृष्ठ एक सय छब्बीसमा छ । प्रकृतिमा पशुप्राणीको आआफ्नो विभिन्न स्वभाव हुन्छ तापनि बच्चा र वासको सुरक्षामा प्रायः सबै सचेत हुन्छन् । वास र बच्चाको सुरक्षाका लागि सबै आक्रामक हुन्छन् । घारमा रहेका विभिन्न थरि मौरीले आआफ्नो काम गरेका हुन्छन् । आफ्नो गुँडमा आएका शत्रुलाई मौरीले आक्रमण गर्छ । हमला गर्दा शत्रुलाई मौरीले खिल गाडेर दुखाउँछ । शत्रुलाई खिल गाडेको मौरी केही समयमा मर्छ । आफ्नो वास, बच्चा आदिको सुरक्षा गर्नुपर्छ भन्ने जानेका मौरीलाई पक्कै पनि शत्रुसँग जुधेर खिल गाडिदिँदा मरिन्छ भन्ने थाहा हुन्छ तर पनि ऊ आफ्नो ज्यान जोगाउन कायरपना देखाउँदैन ।

यस गीति कविताले यिनै मौरीको जस्तै वीरता देशका लागि अपेक्षा गरेको छ । पानीमा डुब्यो भने मौरीले आफ्नो पूर्ववृत्तान्त सबै बिर्सन्छ । आफ्नो गुँड, वास, साथी, बाटो, सबै भुलेर रनभुल्ल हुन्छ । आजको नेपाली कतै पानीमा भिजेको मौरी हुने हो कि भनेर कविताले सचेत गराएको छ । कविताका चौथोदेखि छैटौं हरफसम्म मौरीलाई बिम्ब बनाइएको छ । अब तीनवटा शीर्षकमा सुसेलीहरू लेखिएका छन् र त्यसपछि यही गीति कविता पृष्ठ एक सय तीसमा पनि दोहोरिएको रहेछ ।

संस्कृति, चालचलन, चाडपर्व, भाषा, भेष आदि धेरै पक्षको परिवर्तनसँगै समाजले सभ्यताको परिवर्तन खोज्छ । पहिलेका हतियार, साधन, औजार, प्रविधि समयक्रममा बदलिन्छन् । यसै क्रमले परिवर्तन हुँदै आउँदा मानिसको बसोबास भएका ठाउँमा पनि परिवर्तनको अपेक्षा गरिन्छ ।

यसरी अरू गीति कविता विभिन्न महत्वपूर्ण व्यक्तिका नाममा पनि छन् भने कोरियन लयका पनि गीति कविता छन् । अन्तिम गीति कविताको शीर्षक ‘धूम्रपान : लिन्छ ज्यान’ रहेको छ । जनचेतनामूलक सवाई छन्दको यस गीति कवितामा धूम्रपान गर्नु स्वास्थ्यका लागि घातक हो भन्ने कुरा त बोलेको छँदै छ । यसमै अम्मलीले अरू कामका लागि पैसा छैन भने पनि अम्मल खाने पैसा जसरी पनि जुटाउँछ भन्ने आठौँदेखि दशौँ हरफसम्ममा प्रभावकारी रूपमा बताइएको छ । कुन कुन गीतलाई कसले संगीत दिएका हुन् र कुन अवसरमा कहिले कसले गाएका हुन् भन्ने कुरा पनि जानकारी गराइएको छ ।

पछिल्लो आवरणमा लेखकको सचित्र परिचय छ र अन्तमा राष्ट्रकवि माधव घिमिरेको गद्यमा, छन्दसारथि रमेश खकुरेल, छन्दकवि भुवनहरि सिग्देल र छन्दकवि प्रहृलाद पोख्रेलको छन्दमै छोटो शुभकामना मन्तव्यसहित पुस्तकको समाप्ति भएको छ । लेख लामो हुन लागेको हुनाले सबै शीर्षकबाट टिपोट गरिएन । कतै कतैबाट एक–एक शीर्षकको पनि दुई चार हरफ टिपेर नै कुरा गरियो । पुस्तक आकर्षक र यहाँ पस्किएको वस्तु भाव र कला दुवै दृष्टिले सुन्दर, पठनीय छन् । कवि जिताली धन्य र प्रशंसनीय हुनुहुन्छ । यस पुस्तकको व्यापक सफलताका साथसाथै उहाँबाट यस्तै अरू धेरै र उत्कृष्ट कृतिको अपेक्षा गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?