सिट बाँडफाँटबारे कांग्रेस नेतृत्वमाथि दबाब

१०० सिटभन्दा तल झरे पार्टीभित्र विद्रोह हुने चेतावनी, गत निर्वाचनको समानुपातिक मत परिणामलाई आधार बनाउनुपर्ने अडान

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले सत्तारूढ गठबन्धनबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्दा कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले सिट बाँडफाँट सम्बन्धमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको पदाधिकारी र पूर्व-पदाधिकारीसँगको परामर्श बैठकमा अधिकांश शीर्ष नेताहरूले कांग्रेस एक सय सिटभन्दा तल झर्न नहुने अडान राखेका हुन् । नेताहरूले गठबन्धनका नाममा पार्टीले जित्ने आधार भएका ठाउँमा सम्झौता नगर्न सभापति देउवालाई दबाब दिएका छन् । कांग्रेसको मत र कार्यकर्ताको भावना सम्बोधन हुने गरी गठबन्धन गर्नुपर्ने र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीमा प्राप्त मतको आधारमा सिट बाँडफाँट गर्न पनि नेताहरूले सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कहाँ कुन दलले उम्मेदवारी दिँदा परिणाम गठबन्धनको पक्षमा आउँछ भन्ने कुरालाई ध्यानमा दिनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘कुन क्षेत्रमा कसको कति पकड छ ? जनमत कति छ ? त्यो कुरालाई गहिरो अध्ययन गरौँ, त्यहीअनुसार सिटको बाँडफाँट गरौँ । ०७४ मा कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो, अहिले गठबन्धनमा भएका अन्य दलले भने अरू दलसँग चुनावी तालमेल गरेका थिए । त्यसैले त्यो बेलाको मत तत्कालीन गठबन्धन टुटेसँगै विभाजित भइसक्यो, त्यसलाई आधार मान्न सकिँदैन ।’

कांग्रेसभित्र संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बैठकमा कांग्रेसले जित्न सक्ने कुनै पनि सिट अर्को दललाई छोडेर गठबन्धन गर्नु नहुने जिकिर गर्दै भन्नुभयो, ‘गठबन्धन गरेर जाने निर्णय नै भइसक्यो । तर, कांग्रेसले जित्ने सिट अर्को दललाई दियो भने त्यसले कांग्रेसलाई मात्रै होइन, गठबन्धनलाई नै फाइदा हुँदैन भन्ने कुरा ध्यान रहोस् । जति धेरै सिट कांग्रेसले लिन्छ, त्यति धेरै सिटमा गठबन्धनका उम्मेदवार विजयी हुन सक्छन् । कांग्रेसले १०० सिटको अडानबाट तल झरे पार्टीभित्र आकांक्षीबीच विद्रोह हुनसक्छ ।’

बैठकमा पूर्व-सहमहामन्त्री अर्जुननरसिंह केसीले कुनै पनि निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारको रिक्तता हुन नहुने सुझाव दिएको जानकारी दिँदै भन्नुभयो, ‘हरेक क्षेत्रमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुईवटा सिट हुन्छ । हामीले पाँच दलबीच गठबन्धन गर्दैछौँ, सिट बाँडफाँट गर्दा हरेक प्रतिनिधिसभा क्षेत्रका तीन सिटमध्ये कम्तीमा एकजना कांग्रेसको उम्मेदवार हुनैपर्छ । अहिले सिट बाँडफाँटको आधार ०७४ को निर्वाचन परिणाम नै हो । तर, त्यसबेला प्रत्यक्षतर्फको परिणाम होइन, समानुपातिकतर्फको परिणामलाई मात्रै आधार मान्न सकिन्छ । त्यो बेला माओवादी र माधव नेपालहरूले एमालेको मतमा चुनाव जितेका हुन् । अहिले पनि त्यो जनमत छ भनेर त्यही आधारमा जोडघटाउ गर्नु मूर्खता हुन्छ ।’

लचकता अपनाउन गठबन्धन दललाई कांग्रेसको आग्रह
नेपाली कांग्रेसले गठबन्धनमा आबद्ध दलहरूलाई सिट बाँडफाँटका विषयमा लचकता अपनाउन आग्रह गरेको छ । पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गरेको पार्टीका पदाधिकारी र पूर्व-पदाधिकारीहरूसँग गरेको छलफलबारे जानकारी दिँदै सहमहामन्त्री किशोरसिंह राठौरले भन्नुभयो, ‘हामीले केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय गरिसकेका छौँ । त्यही निर्णयको कार्यान्वयन गर्ने र गठबन्धनका दलहरूलाई समेत लचक भएर प्रस्तुत हुन आग्रह गर्ने निर्णय भयो । कांग्रेसको आफ्नै दाबी छ, अन्य दलका पनि दाबी छन् । तर, गठबन्धनको मर्म र भावनाबमोजिम सहमतिको विकल्प छैन भन्ने नै निष्कर्ष हाम्रो छ ।’

एक्लै जित्ने क्षेत्र नछोड्न नेताहरूको दबाब
पार्टी सभापति शेरबहादुर देउवालाई कांग्रेसका शीर्ष नेताहरूले कांग्रेस एक्लै जित्न सक्ने क्षेत्र नछोड्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको पार्टी पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकमा नेताहरूले कांग्रेसले एक्लै जित्ने क्षेत्रलाई नछोड्न सुझाव दिएको जानकारी दिँदै पूर्व-सहमहामन्त्री सुनीलबहादुर थापाले भन्नुभयो, ‘बैठकमा सहभागी नेताहरूले कांग्रेसले एक्लै जित्न सक्ने क्षेत्र नछोड्न सुझाव दिनुभएको छ ।’

गठबन्धनको खिलाफमा नबोल्न देउवाको निर्देशन

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी र पूर्व-पदाधिकारीको बैठकमा गठबन्धनका विरुद्ध एक शब्द पनि नबोल्न निर्देशन दिएको जानकारी दिँदै बैठकमा सहभागी एक पदाधिकारीले भन्नुभयो, ‘गठबन्धनको खिलाफमा कसैले नबोल्नू । गठबन्धन व्यक्तिगन निर्णय होइन, यो केन्द्रीय समिति बैठकको निर्णय हो । त्यसकारण सबैको एक स्वर हुुनुप¥यो । कार्यदलमा हुनेहरूले गठबन्धन नटुट्ने गरी वर्कआउट गनुर्हाेला । सबैलाई सम्मान हुने गरी सिट मिलाउनुहोस् ।’

चुनावी गठबन्धनमा लोसपालाई समेट्न सुझाव
कांग्रेस पदाधिकारी र पूर्व–पदाधिकारीको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि चुनावी गठबन्धनमा जोड्नुपर्ने विषय पुनः उठेको छ । बैठकमा नेता डा.शेखर कोइराला र विमलेन्द्र निधिले लोसपालाई पनि चुनावी गठबन्धनमा समेटेर जानुपर्ने बताउनुभएको हो । बैठकमा लोसपालाई पनि गठबन्धनमा समेटेर अघि बढ्नुपर्ने कुरा उठेको जानकारी दिँदै सहमहामन्त्री महेन्द्र यादवले भन्नुभयो, ‘विमलेन्द्र निधिले लोसपालाई पनि गठबन्धनमा समेटेर जानुपर्ने कुरा राख्नुभयो । त्यसबारे सकारात्मक छलफल नै भएको छ । सभापतिजीले त्यसबारे गठबन्धनमा छलफल गर्ने भन्नुभएको छ ।’

प्रधानमन्त्री देउवा आफैँ पनि लोसपालाई गठबन्धनमा जोड्नेबारे सकारात्मक हुनुहुन्छ । देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग पटक-पटक छलफलसमेत गरिसक्नु भएको छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका अन्य दलले भने लोसपालाई गठबन्धनमा जोड्ने विषयमा आनाकानी गर्दै आएका छन् ।

बैठकमा गठबन्धनको सिट बाँडफाँटबारे भइरहेको छलफलको प्रगतिबारे कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्य तथा महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनुभएको थियो । कार्यदलमा रहेका नेताहरूले गठबन्धनका अन्य दलको १६५ मध्ये १३२ सिटमा दाबी रहेको विवरण सुनाएका थिए । गठबन्धनमा कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् । गठबन्धनले साउन २० गते सिट बाँडफाँट कार्यदल गठन गरेको थियो । त्यसयता सिट बाँडफाँट गर्न निरन्तर प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

‘जम्मै आफूले लिने, उब्रेको हामीलाई दिने ? मान्य हुँदैन : अध्यक्ष नेपाल
सत्तारूढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा धेरै सिट आफूले लिएर अरू दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको आरोप लगाउनुभएको छ । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन सक्ने तर फाइदा नहुने हो भने गठबन्धन गर्नुको अर्थ नहुने जिकिर गर्दै भन्नुभयो, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन । फाइदा हुने हो भने गठबन्धन हुने हो,फाइदा हुँदैन भने बलिदान हुन सक्दैन ।’

चुनावी तालमेलका लागि लोसपाद्वारा समिति गठन
लोसपालाई पनि गठबन्धनमा सहभागी गराउन नेपाली कांग्रेसभित्र दबाब परिरहेको बेला साना दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न तीन सदस्यीय समिति बनाएको छ । लोसपाले नेता उमाशंकर अरगरियाको संयोजकत्वमा नेताहरू केशव झा र डा.सुरेन्द्र झा सदस्य रहेको समिति बनाएको हो । समितिको काम विशेषगरी मधेश प्रदेश र अरू तराईका जिल्लामा रहेका साना दलहरूसँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेल गर्नु रहेको बताउँदै समिति सदस्य केशव झाले भन्नुभयो, ‘विशेष गरेर मधेश प्रदेश र तराईका जिल्लाहरूमा रहेका अरू राजनीतिक शक्तिहरूसँग चुनावी गठबन्धन गर्न भनेर समिति बनाइएको हो । ठूला दलहरूसँग चुनावी गठबन्धनका विषयमा छलफल गर्न अर्को समिति बन्छ ।’

शीर्ष नेतासहितको कार्यदलको बैठक निष्कर्षबिहीन
सिट बाँडफाँटमा सहमति जुटाउन बुधबार साँझ सत्तारुढ दलका शीर्ष नेतासहित बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । दलहरूले आ–आफ्नो अडान नछाडेपछि बैठक विना निष्कर्ष टुंगिएको हो । कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ । बैठक आज फेरि बस्ने तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?