धादिङमा डेंगु संक्रमितको संख्या बढ्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

बाबुराम श्रेष्ठ/हिटा
धादिङ । धादिङमा डेंगु संक्रमण हृवात्तै बढेको छ । जिल्ला अस्पताल धादिङका अनुसार बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने जिल्लामा ११४ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी ११४ जनामा डेंगु देखिएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिनुभयो ।

संक्रमण बढ्दै गएपछि धादिङवासी त्रसित बनेका छन् । अहिले संक्रमितहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । यसअघि डेंगु रोगको संक्रमणकै कारण धादिङ अस्पतालमा उपचारत ज्वालामुखी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा धेरै ललितपुर र काठमाडौंमा डेंगु फैलिएको छ । देशभर अहिलेसम्म पाँच हजार २९ जनालाई डेंगु भएको मन्त्रालयको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२ जना छन् भने काठमाडौंमा ८८८ जना रहेका छन् ।

डेंगुको संक्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि संक्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । डेंगुको संक्रमण फैलिरहेकाले स्वास्थ्य संकटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरूसित छलफल थालेको छ । अझै दुई महिना डेंगुको संक्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

समुदायमा डेंगु फैलिरहेकाले घरपरिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रमलगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ । लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्ररूपमा फैलिएको चिकित्सकहरूले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । सूर्य उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?