ज्ञादी पुलले खोलेको पर्यटनको ढोका

Read Time = 9 mins
A A- A+

पर्वत । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौं लाग्दैन । कुश्मा-ज्ञादी झोलुंगे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ । यस झोलुंगे पुलले स्थानीयका लागि सहजतामात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुंगे पुलका रूपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ । ‘उनताका दूध बेच्न कुश्मा बजार आइन्थ्यो, बडगाउँबाट घाँस काटेर घर फर्कनुपथ्र्यो,’ शंकरपोखरकी ७२ वर्षीया उमाकुमारी तिवारीले भन्नुभयो, ‘बिहान घरबाट हिँडेको फर्कंदा तीन/चार बज्थ्यो, छोटो दिनमा त रातै हुन्थ्यो ।’ अहिले उहाँका लागि कुश्मा र घर पानीपँधेरोजस्तै लाग्छ ।

गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामका लागि घण्टौं हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो । ‘हामी स्कुलको पोशाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न धेरैपटक कुश्मा आउनेजाने गथ्र्यौं,’ ‘पीपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दैै आउनुभएका राजु पौडेलले भन्नुभयो ।
कुश्मा–ज्ञादी झोलुंगे पुल नेपाली इन्जिनियरले बनाएको अग्लो तथा लामो झोलुंगे पुल पनि हो । एउटा डाँडाबाट ३४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि १३५ मिटरमाथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो । दुई डाँडालाई जोड्न सकिन्छ र जोडेरै देखाउँछु भन्दै दिनरात लागिपर्नुभएका इन्जिनियर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो । पौडेलसँगै पुल निर्माणमा जोडिनुभएका पत्रकार भवानीप्रसाद शर्माले भन्नुभयो, ‘त्यतिबेला उहाँलाई स्थानीयवासीले त पागल नै भन्थे । तत्कालीन जिल्ला विकास समितिले पनि उहाँको कुरालाई हाँसोका रूपमा लिएको थियो ।’

धेरैका लागि असम्भव लाग्ने कुश्मा-ज्ञादी झोलुंगे पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । यस झोलुंगे पुल पर्वतका लागि एउटा कोसेढुंगाका रूपमा स्थापित हुन पुग्यो । यो झोलुंगे पुल हेर्न र तर्नका लागि देश, विदेशका पर्यटक यहाँ आउने गर्दछन् । यस पुल निर्माणपछि यसकै सिको गरेर अग्ला तथा लामा झोलुंगे पुल एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई पर्वतसँग जोड्न कुश्मा-कैया झोलुंगे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा-मुडिकुवा झोलुंगे पुल थपियो । फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा-बलेवा झोलुंगे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोडने गरी खरेहामा कुश्मा-अधिकारी फाँट झोलुंगे पुलको निर्माण गरिएको छ ।

कुश्मा-ज्ञादी झोलुंगे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय ठप्पजस्तै भएका बेला ५०० बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुवात गरेका थिए । कालीगण्डकी खोंचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोड्ने काम गरेको छ । दक्षिण बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन् । पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पुर्‍याएको छ भने स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि यसले सहजता प्रदान गरेको छ ।

पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बञ्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बञ्जी ५२५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीको ठीकमाथि २२८ मिटर उचाइमा बञ्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ । बागलुङ र पर्वतलाई जोडेर बञ्जीका लागि झोलुंगे पुलको निर्माण गरिएको छ । बञ्जीले पर्वतको व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेष्टुरेन्ट धमाधम निर्माण भइरहेका छन् ।

द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी, स्विङ (पिङ) लगायतका साहसिक खेल जे–जति बनेका छन् ती सबै कुश्मा-ज्ञादी झोलुंगे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो । पौडेलले केही साथीहरू मिलेर सबैभन्दा पहिले कुश्मा-ज्ञादी झोलुंगे पुलमा बञ्जी गराउन सकिन्छ भनेर सम्भाव्यता अध्ययनका लागि भोटेकोशी गएको बताउनुभयो । ‘हामी पर्वतका सांसद, उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी मिलेर भोटेकोशी गएर बञ्जी ग¥यौं,’ उहाँले भन्नुभयो, ‘त्यहाँबाट प्राविधिक ल्याएर सम्भाव्यता अध्ययन पनि गरेका थियौं तर केही साथीले सार्वजनिक पुलमा बञ्जी गराउन मिल्दैन भनेर विरोध गरेपछि रोकियौं ।’
द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा-कैया झोलुंगे पुलमा बञ्जी गराउन लागिपरेको थियो ।

‘कुश्मा-ज्ञादी झोलुंगे पुल बनेपछि अर्को ठाउँमा कुश्मा-कैया झोलुंगे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बञ्जी गराउन सकिन्छ भनेर लागेका थियौं,’ द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भन्नुभयो, ‘तीन वर्ष लागिपर्दासमेत पुलमा बञ्जी गराउने कुरा नमिलेपछि जग्गा खोज्ने क्रममा चाकलेको डिलमा पुगेर आफ्नै निजी झोलुंगे पुल निर्माण गरी बञ्जी सञ्चालन गरेका हौं ।’

कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जीपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइनको लम्बाई एक हजार ४०० मिटर छ । कालीगण्डकी नदीको सतहदेखि झण्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।

  • रासस ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?