जयनगर-कुर्था रेल सेवा सितापुरसम्म विस्तारको तयारी

Read Time = 2 mins

पुरन साह/हिटा
जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले जयनगर-कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा विस्तार गर्ने भएको छ । कम्पनीले अब जयनगरदेखि महोत्तरीको भंगहा-सितापुरसम्म रेल सेवा सञ्चालन गर्ने भएको हो । जसका लागि बिहीबार स्पिड ट्रायलसमेत गरिएको छ । बिहान करिब ११ बजे कुर्थाबाट बर्दिबास खण्डमा पर्ने महोत्तरीको भंगहा स्टेशनसम्म रेल गुडाएर स्पिड ट्रायल गरिएको हो ।

ट्रायलका क्रममा कुर्थादेखि भंगहासम्म रेललाई दुईपटक गुडाइएको छ । हरेक पटक रेलको गति फरक-फरक गरी गुडाइएको छ । रेल्वे कम्पनीले कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनको तयारी गरेको भए पनि केही काम बाँकी रहेकाले भंगहासम्म मात्र स्पिड ट्रायल गरिएको हो । ट्रायलपछि भंगहासम्म नियमित रेल सेवाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।

स्टेशन तथा हल्टका भौतिक संरचना निर्माणको केही काम बाँकी रहेको र ती भौतिक संरचना भारतीय पक्षबाट कम्पनीलाई हस्तान्तरण हुन बाँकी रहेकाले केही समय लाग्ने उहाँको भनाइ छ । कुर्था-भंगहा स्टेशनको दूरी करिब १७ किलोमिटर रहेको छ ।

यो खण्डमा पिपरारी स्टेशन, लोहरपट्टी हल्ट, सिंग्याही हल्ट र भंगहा-सितापुर स्टेशन पर्छन् । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?