राष्ट्रपति भण्डारीद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई आएका विधेयकहरू मंगलबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएका पाँच विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।

एक साताअघि पठाइएको नागरिकता विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको छैन । संघीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक पारित नभएकोमा राजनीतिक वृतमा यसले चर्चा पाइरहेको छ । नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्का दुवै सदनबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको हो ।

प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकतासम्बन्धी विधेयक गत साउन २९ गते आठ बुँदे सन्देशसहित राष्ट्रपति कार्यालयबाट अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी सदनमा फिर्ता पठाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?