हेर्दै मुख रसाउने जुम्ली स्याउ : उचित मूल्य नपाउँदा किसान भने चिन्तित

Read Time = 5 mins

-विजय रावत
जुम्ला । हेर्दा मुखै रसाउने जुम्ली स्याउ उचित मूल्यको अभावमा छ । जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेपनि बजारमा उचित मूल्य पाउन सकेको छैन । यहाँको पातारासी गाउँपालिका –६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन भएको बताउनु भयो । बारीको स्याउले रु ५० भन्दा बढी प्रतिकिलो मुल्य पाउन नसकेको उहाँले बताउनु भयो ।

स्याउ गतवर्ष भन्दा यो वर्ष राम्रो फलेको छ । बजारमा मूल्य छैन बारीमा झण्डै तीन सय स्याउका बिरुवामा फल लागेको छ । करिब १० क्वीन्टल स्याउ त प्रतिकेजी रु २० मा बेचेको उहाँको भनाइ छ । जुम्लामा राम्रै स्याउ फलेपनि उचित बजार नपाएको किसानको गुनासो छ । यो याममा सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ, विराटनगर, बुटवललगायत बजारमा जुम्ली स्याउ पुगेको छ । किसान रतन रावतले भन्नुभयो, ‘वर्षेनी स्याउको बजार खोज्नुपर्छ ।

सरकारले स्याउ उत्पादन मात्र गर भन्छ । बजारीकरणमा सहयोग गर्दैन ।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १५ पछि मात्र स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो । किसानले साउनमै काँचो स्याउ बजारमा लगेपछि जुम्ली स्याउको बजार खस्केको स्थानीय स्याउ व्यापारी बताउँछन् । स्याउमा लागेको रोग कीरा नियन्त्रण, बगैँचा व्यवस्थापन, गुणस्तरीय स्याउ उत्पादनदेखि बजारसम्मको अवस्थाको गहन अध्ययन हुनुपर्ने स्याउ किसान अर्जुन न्यौपानेको भनाइ छ । स्याउको उचित रेखदेख नगर्नु र गुणस्तरीय उत्पादन गर्न नसक्नु किसानको समस्या भए पनि रोग कीरा नियन्त्रणको काम कृषि प्राविधिकको भएको स्थानीयवासी धनबहादुर थापाले जानकारी दिनुभयो ।

स्याउ सुपरजोनका बागवानी अधिकृत विवशकुमार रोकायाले स्याउमा लागेको रोग नियन्त्रणमा कार्यालय लागेकोे जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार दुई सय हेक्टरमा स्याउ खेती हुने गरेको छ । यो पटक १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । स्याउबाट चालु आवमा झण्डै रु ५० करोड आम्दानी हुने कार्यालय प्रमुख गणेश अधिकारीले बताउनु भयो । चन्दननाथ नगरपालिका–९ का स्याउ व्यापारी धर्मसिंह कठायतले सुर्खेतमै जुम्लाको स्याउ प्रतिकेजी ६३ देखी ७० रुपैयाले ६० कुन्टल स्याउ बिक्री गरेको जानकारी दिनुभयो । समग्र हेर्दा जुम्ली स्याउले सोचे अनुसार मुल्य नपाएको उहाँले बताउनु भयो । जुम्ली स्याउको बजारीकरणका लागी गत भदौ २७ र २८ गते स्याउ महोत्सव भएको थियो । जुम्लामा इटालियन फुजी स्याउको राम्रो उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउको उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले जानकारी दिनुभयो ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको स्याउ किसान बताउँछन् । जिल्लामै प्रतिकिलो रू एक सय ५० मा सो स्याउ बिक्री हुने गरे पनि माग अनुसार उत्पादन गर्न नसकिएको व्यवस्थापक सरोज शााहीले जानकारी दिनुभयो । स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्लाले यहाँका स्याउ किसानलाई सिँचाई तथा मलजलका लागि सहयोग उपलब्धदेखी आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा दिने गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?