ग्रामीण सडकको दुरावस्था : बर्खामा बन्द, हिउँदमा खुल्ला

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । गाउँ-गाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उढाउँदै गाडीहरू पनि गुड्छन् । जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका बागलुङका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीय मर्कामा पर्दै आइरहेका छन् ।

गाउँमा पुगेका अधिकांश सडकबिना इञ्जिनियरिङ निर्माण गर्दा बर्खाको भलसँगै बग्छन् । जसकारण असोज लागि सक्दा पनि सञ्चालन हुँन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयहरूलाई बजारबाट सामान ढुवानी गर्न भरियाको आवश्यक पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पुर्‍याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ ।

गाउँ पुगेका सडकहरू बर्खाका कारण दजनौँ स्थानमा पहिरोले पुरिएका छन् भने कैयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नु परेको निसीखोला गाउँपालिका–१ मा मदन घर्ती मगरले बताउनुभयो । घर्तीले सडकको पहिरोले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुहुन्छ ।

‘गाउँमा बाटो छैन भनौँ भने छ, तर बर्खामा गाडी नै चल्न सक्दैनन्, हिउँदमा त गाडीहरू निरन्तर चल्छन्, बर्खा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेहरूले निकै दुःख पाउनुप¥यो, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ,’ घर्तीले भन्नुभयो, ‘हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् ?, दशैँ आउन लाग्यो, खुलाउने सुरसार छैन ।’

घर्तीले बर्खामा सडक संचालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल झर्नु परेको गुनासो पोख्नुभयो । उहाँले सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुभयो । ‘सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदल यात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने हो कि भन्ने डर उस्तै, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने ?, बोकेर भए पनि अस्पताल पुर्‍याउनु पर्‍यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख ।’

बडिगाड गाउँपालिका-७ का गाडी चालक बोमबहादुर बुढा मगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नु परेको बताउनुभयो । अब दशैँमा सडक खुले मात्रै गाडी चलाउन सुरु गर्ने बताउनुभयो ।

‘बाटो बिग्रिएर खत्तम भएको छ, पहिरोले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताहरूले खनेर खुलाउन सकिने थियो, धेरै ठूलो–ठूलो पहिरोले ठाउँ-ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजारतिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो’ उहाँले भन्नुभयो, ‘पहिरोले गाउँमै अड्कियो, अब दशैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दशैँ मनाउने ?, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खोजेर तिर्नुपर्‍यो ।’

लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलबाट भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडकहरू पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्ने बताउनुभयो ।

‘बर्खामा गाउँहरूमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छेहरू बोक्नै पर्‍यो, सामानहरू ओसार्न परिहाल्यो, अझ गाउँका सडकहरू निकै साँघुरा हुन्छ, धेरै पानी पर्‍यो भने चिप्लिने डर हुन्छ,’ विकले भन्नुभयो, ‘सम्बन्धित निकायले सडक निर्माण गर्छ छोड्छ, कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नु पर्छ, नाली निर्माण भयो भने धेरै सडकहरू बर्खामा पनि चल्छन् ।’

विकले गाउँपालिका तथा नगरपालिकाहरूले अनावश्यक ठाउँहरूमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडकहरू बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडकहरू पनि अवरुद्ध हुने गरेको उहाँको भनाइ छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीहरू समेत उच्च जोखिममा परेको बताउनुहुन्छ ।

‘दुई/चारवटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ, सम्बन्धित निकायलाई थाहा छैन, सकड लेकको टुप्पमा त पुगेको छ, तर त्यसको तलतिर कति धेरै बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन्,’ उहाँले भन्नुभयो, ‘समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ, यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ, र पनि बाटो खन्न छोडेका छैनन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?