पर्यटन दिवसमा चार पर्यटनसेवीलाई पाटा अवार्ड

Read Time = 6 mins

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले प्रत्येक वर्ष विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्ने संस्थाको औपचारिक स्थापना दिवस (२६ सेप्टेम्बर १९७५) लाई उत्सवका रूपमा मनाउने गरेको छ । सो अवसरमा काठमाडौंको मण्डिखाटारस्थित गेट कलेजमा पाटा आइडी नामक विशेष कार्यक्रम आयोजना गरेको छ । विश्व पर्यटन दिवस २०२२ को मूल नारा ‘रिथिकिङ टुरिजम’ लाई आत्मसात गर्दै संस्थाको ४७औं वार्षिकोत्सव मनाउन आयोजित पाटा आइडी कार्यक्रम एक सञ्जाल विस्तार, नेटवर्किङ, अन्तरक्रिया, सम्मान तथा पहिचान, आकर्षक लक्की ड्र पुरस्कार र मनोरञ्जन कार्यक्रम सञ्चालन गरिएको पाटा नेपालले जनाएको छ ।

पाटा नेपाल च्याप्टरले आगामी वर्ष २०२३ जुन ६ देखि ९ सम्म आयोजना गर्ने चौथो हिमालयन ट्राभल मार्टको प्रोमो भिडियो सार्वजनिक गरेको छ । संस्थाले सन् २०१७ देखि २०१९ सम्म वार्षिकरूपमा हिमालयन ट्राभल मार्टका तीन अति सफल संस्करण आयोजना गरेको थियो, जुन विश्वव्यापी महामारीपछि आयोजना हुन सकेको छैन । नेपालको पर्यटन व्यवसाय तथा गन्तव्य प्रवद्र्धनका लागि प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाका रूपमा स्थापित हिमालयन ट्राभल मार्टमा विश्वव्यापी क्रेता, हिमालयन बिक्रेता, ट्राभल ब्लगर, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ट्राभल उद्योग व्यवसायी र विश्वभरका प्रतिनिधिको उल्लेखनीय सहभागिता गराई व्यापार आदान-प्रदान तथा सम्बन्ध सञ्जाल विस्तार, ज्ञान तथा सीप आदान–प्रदान गर्ने एक अद्वितीय मञ्च तथा एउटा विशेष लोकप्रिय बी-टु-बी कार्यक्रम हो ।

सो अवसरमा आयोजकले पाटा नेपाल च्याप्टरका संस्थापक कोषाध्यक्ष तथा अग्रज पर्यटन व्यवसायी जोतिलाल खन्नालाई पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । त्यसैगरी पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई पाटा पर्सनालिटी अफ द इयर २०२१ प्रदान गरेको छ भने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ र ग्लोबल कलेज इन्टरनेशनललाई बेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड प्रदान गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन उद्योगको दिगो विकास र पुनरुत्थानका लागि स्वास्थ्य सुरक्षा, पर्यटकको सुरक्षा, गन्तव्य तथा पर्यटन उपजको सरसफाइ र सेवाको मापदण्ड स्तरोन्नतिमा सबै निजी तथा सरकारी सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाली पर्यटनको सम्भावनालाई थप उजागर गर्न तथा पर्यटनबाट अधिकतम लाभ लिन परम्परागत स्रोत बजार कायम गर्दै एसिया क्षेत्रबाट माग बढाउनुपर्ने, डिजिटल क्षमता र सेवा अभिवृद्धि गर्नुपर्ने, गुणस्तरीय लगानीलाई प्रोत्साहन गर्दै पर्यटकीयस्थलको विविधीकरण गर्नुपर्ने, पर्यटन उत्पादन/गन्तव्यको प्रभावकारी व्यवस्थापन र सेवा मानकीकरण गर्नुपर्ने, दक्ष जनशक्ति मानव संसाधन विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

अर्का पर्यटनविद् रवीन्द्रराज पाण्डेले पाटासँगको आफ्नो संलग्नता र पाटा नेपाल च्याप्टरले स्थापना दिवस समारोहलाई हरेक वर्ष पाटा आइडीका रूपमा मनाउने घोषणा स्वागतयोग्य रहेको बताउनुभयो ।

पाटन ललित कार्निभल आयोजना
विश्व पर्यटन दिवसको अवसरमा ललितपुर महानगरपालिकाले पनि मंगलबारमा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाएको छ । सो अवसरमा महानगरपालिकाले पाटन ललित कार्निभल आयोजना गरेको हो । कार्यक्रममा ललितपुर उद्योेग वाणिज्य संघ, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, डान्स एण्ड म्युजिक एकेडेमी नेपाल, ज्यापु समाज याला, बुद्ध विहार संघ ललितपुर, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुर, १६ वडा आर्टिष्ट कमिटीको सहकार्य रहेको आयोजकले जनाएको छ । कार्यक्रमको प्रायोजकमा रुस्लान भोड्का रहेको थियो भने पाटन म्यूजियम, नेपाल हेरिटेज सोसाइटी र ललितपुर हृयाण्डिक्राफ्ट एसोसिएसनलगायतको पनि सहयोग रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?