दशैँको जमरा र यसको महत्व

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

✍️ शम्भु ढुंगाना
मान्यजनबाट टीका र आर्शिवाद ग्रहण गर्दैगर्दा टीकासँगै हामीले कानमा धान, गहूँ, मकै र जौका लामा आँकुरा (जमरा) लगाउँछौ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौँ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो ।

भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरूमा यो परम्परा पाइँदैन । यसैले पनि यो विजयादशमी नभएर हाम्रो नेपाली परमपराको बडा दशैँ हो भन्ने संस्कृतिविज्ञहरूको भनाइ छ । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आशीर्वादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं साँस्कृतिक एकतालाई प्रतिविम्बित गराउँछ । धार्मिक, सामाजिक, साँस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

शरद ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशैँ)को पहिलो दिन दशैँ घरमा घटस्थापना गरी त्यस घटमा गोबरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरुपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरुपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रिलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरुमा ब्राह्मी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं साँस्कृतिक एकतालाई प्रतिविम्बित गराउँछ । धार्मिक, सामाजिक, साँस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दशैँमा किन प्रसाद स्वरुप जौँको अंकर जमरा लगाइन्छ त ? के महत्व छ त जमराको ?
जौँलाई संस्कृतमा ‘यव’ भनिन्छ । खाद्यपदार्थको दृष्टिले यो पौष्टिक पदार्थ हो भने यसलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रुप मानिन्छ । वैदिक ग्रन्थमा जौँलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ । यसै कारण होला यज्ञयज्ञादिमा जौँको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौँलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौँ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौँको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौँ र जौँको अंकुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौँ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा ज्यादै फाइदा पुर्‍याउँछ ।

यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ उनीहरूको छ । यसैगरी, बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौँबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौँको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्वभन्दा जौँ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मकरुपमा धेरै नै बढी छ ।

अमेरिकाका अन्य विशेषज्ञले पनि जमराको प्रयोगमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्‍याएको बताएका थिए ।

जमरालाई धर्मशास्त्रमा समृद्धिको प्रतीक मानिन्छ । धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ, वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन । वास्तवमा जाँै निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिनहरू प्रशस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँको सातु के गाउँ, के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरू भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ विस्थापित हुँदै गएको छ, जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरूले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँको महत्व अझै धेरै भएको प्रष्ट हुन्छ । जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधीय गुणले पनि युक्त मानिन्छ ।

जमराको रस सौन्दर्य प्रसाधनमा पनि प्रयोग हुन्छ । अध्ययनहरूले अंकुरित जौँमा सागपातभन्दा पनि बढी पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड, आन्द्रा, पेट, छालालगायतका रोगको सफल उपचार सम्भव भइसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरूमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
दशैँको जमरा र यसको महत्व – Shambhu Dhungana
2022-10-13 3:48 pm

[…] जमराको रस सौन्दर्य प्रसाधनमा पनि प्रयोग हुन्छ । अध्ययनहरूले अंकुरित जौँमा सागपातभन्दा पनि बढी पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड, आन्द्रा, पेट, छालालगायतका रोगको सफल उपचार सम्भव भइसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरूमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।साभार : दशैँको जमरा र यसको महत्व – Himalaya Times ।। One of th… […]

रिलेटेड न्युज

छुटाउनुभयो कि ?