सेयर बजारमा सुधार

Read Time = 6 mins

काठमाडौं । दशैँलगत्तै पहिलो कारोबार दिन आइतबार सेयर बजार उकालो लागेको छ । गत असोज १३ गतेको कारोबारमा १६ अंक बढेर बन्द रहेको बजार आइतबार ४५ अंकले उकालो लागेको हो । दशैँअघि १८५३.७६ रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस दिन ४४.६२ अंक बढेर १८९८.३८ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.७८ अंकले बढेर ३७२.२१ अंकमा पुगेको छ ।

त्यसो त कारोबार रकम भने बढ्न सकेन । यस दिन दुई सय २४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ४.६९ प्रतिशतले बढेको छ । एक सय ७५ कम्पनीको सेयर मूल्य बढ्दा आठ कम्पनीको घटेको छ । सप्तकोशी विकास बैंक, उपकार लघुवित्त, गुहृयेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी विकास बैंक, एक्सेल विकास बैंकले कमाएका छन् । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डबाहेक सबैको सेयर मूल्य बढेको छ ।

दशैँअघि १८५३.७६ रहेको नेप्से आइतबार ४४.६२ अंक बढेर १८९८.३८ अंकमा पुगेको हो ।

लगानी र विकास बैंक दुई प्रतिशतभन्दा बढीले बढेका छन् भने हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ४२ लाखको सेयर कारोबार भएको छ । नबिल बैंक साढे ३८ लाख, अपि पावर ३४ लाख, अरुण काबेली २२ लाख र नागरिक लगानी कोषको १९ लाखको सेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको सेयरमूल्य ५.४७ प्रतिशत, सिंगटी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, कालिका लघुवित्त र नेपाल इन्स्योरेन्सको सेयरमूल्य चार प्रतिशतभन्दा धेरै बढेको छ भने माउन्टेन हाइड्रोको सर्वाधिक ३.३१ प्रतिशतले घटेको छ भने अपर हेवाखोला र अपर सोलु जलविद्युत्को तीन प्रतिशतभन्दा बढीले घटेको छ । गत असोज १३ गतेदेखि दशैँ बिदाका कारण बन्द सेयर बजार असोज २३ गतेदेखि खुलेको हो । असोज १३ गते नेप्से १६.२९ अंकले वृद्धि भई १८५३.७६ अंकमा पुगेर बन्द भएको थियो भने नेप्सेमा ६३ करोड २४ लाख सात हजार ६२८ रुपैयाँको सेयर कारोबार भएको थियो ।

३४ कम्पनीको सेयर आउँदै
विभिन्न चार उत्पादनमूलक कम्पनीसहित कुल ३४ कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएका छन् । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासनका लागि आवेदन दिएका हुन् । बोर्डका अनुसार कुल ३४ कम्पनीले १२ अर्ब १० करोड ५७ लाख ३० हजार सात सय ८५ रुपैयाँ मूल्यका आठ करोड १८ लाख २५ हजार चार सय ८१ कित्ता सेयर बिक्रीका लागि अनुमति मागेका छन् । अनुमति माग्नेमा सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर मिनरल्स एण्ड आयल र घोराही सिमेन्ट उद्योगसहितका चार प्रत्यक्ष उत्पादनमूलक उद्योग रहेका छन् ।

ती वास्तविक क्षेत्रका उद्योगले बुक बिल्डिङ विधिमार्फत् धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्नेछन् । आवेदन दिएका ३४ कम्पनीमध्ये २० जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् । बीमा र होटल एण्ड टुरिजमका दुई-दुई, लघुवित्त दुई, अन्य तीन, उत्पादन तथा प्रशोधन चार र एउटा इन्भेष्टमेन्ट कम्पनी छ । जसअनुसार सानिमा मिडिल तमोर, मोदी इनर्जी, आइएमई लाइफ इन्स्योरेन्स, सगरमाथा जलविद्युत् कम्पनी, मैलुङ हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला जलविद्युत्, डिस मिडिया नेटवर्क, मकर जितुमाया सुरी जलविद्युत्, माइखोला हाइड्रोपावर, इनर्वा हाइड्रोपावर, सिटी होटल, भूगोल इनर्जी डेभलपमेन्ट, मेन्चियाम हाइड्रोपावर, डोल्टी पावर कम्पनी, हाथवे इन्भेस्टमेन्ट, थ्रीस्टार हाइड्रोपावर, कालिञ्चोक दर्शन , एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, अपर सांगे हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, बाराही हाइड्रोपावर, शुभम् पावर, मुक्तिनाथ कृषि कम्पनी, कुथेली बुखारी साना जलविद्युत्, आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तलगायत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?