कृषि क्षेत्रको पूर्ण पुनर्संरचनामा जोड

Read Time = 5 mins

काठमाडौं । पूर्ण नीतिगत प्रक्रियागत पुनर्संरचनाबिना खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता असम्भव रहेको कृषिविज्ञ तथा कृषि अभियन्ताहरूले बताएका छन् । ४२ औं विश्व खाद्य दिवसका अवसरमा अखिल नेपाल किसान महासंघ र दक्षिण एसियाली गरिबी निवारण मञ्चलगायतका संस्थाद्वारा आइतबार काठमाडौं मा संयुक्तरूपमा आयोजित नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता विषयक अन्तरक्रियामा उनीहरूले यस्तो बताएका हुन् ।

राष्ट्रिय किसान आयोगका अध्यक्षसमेत रहनुभएका अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले नेपालको उत्पादन सन् २०३० सालमा अहिलेको उत्पादनभन्दा ५० प्रतिशत र २०५० सालमा ७० प्रतिशतले वृद्धि नगरिए खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता कायम हुन नसक्ने बताउनुभयो । सरकारले कृषि क्षेत्रमा प्राथमिकता नदिँदा मुलुकमा खाद्यान्न आयात बढ्दो क्रममा रहेको भन्दै कृषि क्षेत्र र किसानलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल, कर्जादेखि अन्य सेवासुविधामा जोड दिनुपर्ने बताउनुभयो । खाद्य सम्प्रभुत्ताका लागि कृषियोग्य जमिनको संरक्षण, बिउबिजनमा आत्मनिर्भर, किसान प्रोत्साहन कार्यक्रम, प्रविधि, सिँचाइलगायतका पूर्वाधारमा जोड दिनुपर्ने दंगालको भनाइ छ । उहाँले खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ताका लागि खाने बानीमा र खाना खेर फाल्ने बानीमा समेत सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । किनभने विश्वमा २० प्रतिशत खाद्यान्न खेर फालिने गरेको छ ।

कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको खाद्य प्रणाली आर्थिक, सामाजिक, राजनीतिक र प्राकृतिक प्रणालीसँग जोडिएको विषय भएको भन्दै नेपालको अधिकांश खेतीयोग्य जमिन बाँझो रहँदा नेपालमा खाद्य अभाव भएको र त्यसले भोकमरी निम्तिएको बताउनुभयो । किसानले उत्पादनको उचित मूल्य नपाउँदा र उत्पादन लागत बढी हुँदा अधिकांश युवाशक्ति कृषि छाडेर विदेशिन बाध्य भएको भन्दै उहाँले सरकारले बाँझो जमिन राख्नेलाई कारबाहीभन्दा पनि किसानलाई उचित सेवासुविधामा जोड दिनुपर्ने बताउनुभयो ।

दक्षिण एसियाली गरिबी निवारण मञ्चका संयोजक नेत्र तिमिल्सिनाले समाजवादको कुरा गर्ने पार्टीहरूले किसानका समस्यालाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । किसान ऋणमा डुबेर कृषि पेशा छाड्ने, असली किसान राज्यको सेवासुविधाबाट वञ्चित हुने अवस्था रहेको उहाँले बताउनुभयो । किसानलाई फाइदा हुने नीति नल्याएसम्म निकट भविष्यमै देशमा खाद्य अभावका कारण मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने उहाँको भनाइ छ । तिमिल्सिनाका अनुसार नेपालले सन् १९८१ मा उब्जनी बढाऔं, सन्तुलित खाना खाऔंं भन्ने नाराका साथ पहिलो खाद्य दिवस मनाएको थियो । तर, विश्व भोकमरी सूचक २०२१ का अनुुसार विश्वमा भोकमरीदर बढेको देखाइएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनबाट प्रकाशित प्रतिवेदअनुसार २०१९ सम्म विश्वभरि नै स्थिर रहेको खाद्य तथा पोषण सुरक्षाको अवस्थामा गिरावट आएको छ । कार्यक्रममा महासंघका उपमहासचिव बाबुराम थापा, सामुदायिक सिँचाइ उपभोक्ता महासंघका शम्भुप्रसाद दुलाल, मानव अधिकारकर्मी विदुर सुवेदीलगायतले पनि कृषि नीतिको पूर्ण पुनर्संचरनाबिना कृषि क्षेत्रले गति लिन नसक्ने बताउनुभएको थियो । विश्व खाद्य दिवसका अवसरमा सोही दिन राष्ट्रिय किसान आयोगले पनि कार्यक्रम आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?