बाढीपहिरोले कर्णालीमा १० हजार नागरिक घरबारविहीन

हिमालय टाइम्स
Read Time = 12 mins

विजय रावत/हिटा
जुम्ला । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट कर्णाली प्रदेशमा १० हजार ७१४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार २८२ जना घरबारविहीन भएका छन् । त्यस्तै कालिकोटमा एक हजार ७६३, जुम्लामा एक हजार ७२५, सल्यानमा ६३९, सुर्खेतमा ५६६, हुम्लामा ४७४, दैलेखमा २०७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुम पश्चिममा १५ जना घरबारविहीन भएको प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । बाढीपहिरोबाट कर्णालीमा एक हजार ७२० घरधुरी विस्थापित भएका छन् । जसमा मुगुमा ७२३, जुम्लामा ३६८, कालिकोटमा २३५, सुर्खेतमा १३९, सल्यानमा १२७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुम पश्चिममा चार÷चार र जाजरकोटमा तीन घरधुरी विस्थापित भएको प्रहरीले जनाएको छ ।

यस्तै, बाढीपहिरोमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट जुम्लामा १० जना, मुगुमा आठ, कालिकोटमा ६, हुम्लामा चार, जाजरकोट र सल्यानमा तीन÷तीन, दैलेख र डोल्पामा एक÷एक जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा एक÷एकजना गरी २० जना वेपत्ता भएका छन् । तीमध्ये एकजना नेपाल प्रहरीका जवान रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बाढी पहिरोमा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालिकोटकै १० जना घाइते भएका छन भने हुम्लामा ६ जना, मुगु र जुम्लामा पाँच÷पाँचजना तथा जाजरकोट र रुकुम पश्चिममा एक÷एकजना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा एक हजार १४० घर भत्किएका छन भने आंशिक एक हजार ६१२ घर भत्किएका छन् । त्यस्तै, बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार ४७७ घरधुरी रहेका छन । असोज १९ गतेदेखि २४ गतेसम्म परेको पाँच दिनसम्म लगातार भएको बर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा २५१, हुम्लामा २१७ र सल्यानमा ६४ गरी २४६ पशुचौपाय मरेका छन् । बाढी पहिरोका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार ७०४ जना प्रहरी परिचालन गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा ७५० जना, सल्यानमा ५८०, जुम्लामा २६५, रुकुम पश्चिममा २२९, कालिकोटमा २२५, जाजरकोटमा २१७, सुर्खेतमा १९४, हुम्लामा ११४, दैलेखमा ८०, र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिहरूको खोजी कार्यसँगै अन्य क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिनुभयो ।

‘पहिरोले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरूपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर हुम्ला जाने रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकहरूमा ठूलो क्षति भएको छ । पूर्णरूपमा विच्छेद भएको सडक सञ्जाल आंशिक रूपमा सञ्चालनमा आएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, ‘पूर्णरूपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’

उहाँका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्गहरू पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले दर्जनौं स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विस्थापितहरूलाई प्रदेश सरकारले हेलिकप्टरमार्फत जुम्लामा राहत वितरण गरिरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्मलसहित अन्य राहतका सामग्री बाढीपहिरो प्रभावित जिल्लामा पुर्‍याइएको छ ।

पैदलयात्रा गर्न बाध्य कर्णालीवासी
कर्णाली राजमार्ग पूर्णरूपमा बन्द भएपछि अहिले माथिल्लो कर्णालीका कालिकोट, जुम्ला र मुगुका स्थानीयवासीलाई हवाई सेवाको टिकट पाउन मुस्किल भएपछि पैदलयात्रा गर्न बाध्य भएका छन् ।

कालिकोटको पचालझरना गाउँपालिका-४ बाट चक्र रोकायाले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षा दिनका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाउनुभएन । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता आर्कोतिर बाटोमा अलपत्र परिने हो कि भन्ने चिन्ताले उहाँ दुई दिनको पैदलयात्रा गरेर कालिकोट र दैलेखको सिमानासम्म आइपुगेपछि मात्र फेरि एक दिन गाडी चढेर सुर्खेत पुग्नुभयोे । गत साताको अविरल वर्षाका कारण कर्णाली राजमार्गको धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुँदा रोकायजस्तै हजारौँ यात्रुले यस्तै सास्ती बेहोरिरहेका छन् ।

दशैँ मनाउन घरमा पुगेका हिमाली जिल्लाका व्यक्ति आफ्नो पढाइ र कर्मथलोमा फर्किन थाले पनि कर्णालीको हिमाली जिल्लालाई जोड्ने एकमात्र कर्णाली राजमार्ग नखुल्दा केही व्यक्ति अझैसम्म घरबाट हिँड्न सकेका छैनन् भने केही व्यक्ति बीच बाटोमै अलपत्र छन । रोकाय भन्नुहुन्छ, ‘म तीन दिनको यात्रापछि सुर्खेत आइपुगेँ, मजस्ता हजारौँ यात्रुले सडक नखुल्दा हैरानी बेहोर्नुपरेको छ, केही व्यक्ति बाटोमै अलपत्र छन् भने केही जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।’

अहिले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ७३ ठाउँमा पहिरो गएकाले सवारीसाधन बीच बाटोमै अलपत्र छन् । यहाँका नागरिक पैदलयात्रा गर्न बाध्य छन् । जुम्लाको तिला गाउँपालिकाका टंक न्यौपाने पनि यस्तै अवस्थामा हुनुहुन्छ । सडकअवरुद्ध बन्दा उहाँ आफ्नो कर्मथलो आउन सक्नुभएको छैन । हिमाली भेगका नागरिकलाई हरेक वर्ष यस्तै दुःख हुन्छ । उहाँ भन्नुहुन्छ, ‘दशैँ-तिहार र घर पुग्दा खुसी लिएर जानुपर्ने मान्छे, चिन्ता बोकेर जानुपर्छ, भौगोलिक रूपमा ठगिएका कर्णालीका नागरिक सधैँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा छन् ।

कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउन सम्बन्धित पालिका र सुरक्षा निकाय जुटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

जहाजमा टिकट पाउन सहज छैन
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य भए पनि सहजरुपमा जहाजको टिकट पाउन सकेका छैन । जहाजको यात्रा गर्न टिकट पाउन पनि मुस्किल छ । टिकटमा मनोमानी छ, जुम्लाका स्थानीयवासि तपेन्द्र भट्टराई भन्नुहुन्छ, ‘विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन, पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्जलगायत ठाउँमा जान पनि विमानस्थलमा यात्रुको खचाखच छ ।’ महँगो भाडा भए पनि टिकट नै नपाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । कर्णाली राजमार्ग अवरोध भएपछि विमानस्थलमा झनै चाप बढेको स्थानीयवासी बताउँछन् ।

जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीका अनुसार जुम्लादेखि नेपालगञ्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । ‘बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौँ । उहाँ भन्नुहुन्छ, ‘पर्याप्त जहाज नहुँदा हामीलाई पनि समस्या छ ।’

हवाई उडान कम हुँदा समस्या रहेको छ । दशैँ र तिहारले गर्दा पनि पहिलेको तुलनामा विमानस्थलमा दैनिक भिडभाड भएकाले बढीभन्दा बढी हवाई उडान गराउन समवन्य भइरहेको जिल्ला प्रशासन कार्यालय कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?