करार कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी

हिमालय टाइम्स
Read Time = 3 mins

-संजीवकुमार मिश्रा

बारा । सिम्रौनगढ नगरपालिकाका करारका कर्मचारीहरूले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

नगरपालिकाले केही जानकारी र कुनै कारण नै नदेखाई कात्तिक १ गतेदेखि कामकाज गर्न नपाउने गरि सूचना जारी गरेपछि उनीहरू बिरोधमा उत्रिएका हुन् । बिरोध स्वरुप आफूहरूले बाध्य भएर तालाबन्दी गर्नु परेको करार कर्मचारी संघका अध्यक्ष नितेशप्रसाद यादवले जानकारी दिनुभयो ।

नगरपालिकाले गुपचुप तरिकाले २०७९ असोज २८ गतेको निर्णय अनुसार करारमा कार्यरत कर्मचारीहरूलाई हटाउने निर्णय गरेको विरोधमा तालाबन्दी गरिएको यादवले बताउनुभयो ।

२०७९ असोज २८ गतेको निर्णयानुसार नगरपालिकाको मातहतका सबै शाखा, इकाई, अन्तर्गत साविकका स्थानीय निकायबाट नियुक्ति भई हालसम्म अविछिन्न रुपमा कार्यरत प्राविधिक कर्मचारी तथा नगरपालिकालाई प्राप्त हुन सशर्त अनुदान शिर्षकबाट सेवा सुविधा प्राप्त गर्ने गरि प्रक्रिया पूरा गरी नियुक्ति भएका कर्मचारी बाहेकका कर्मचारीहरूलाई नगरपालिकाको आन्तरिक श्रोत तथा छैठौ नगरसभाद्वारा सेवा करारमा विनियोजित बजेटबाट तलब भत्ता सेवा सुविधा व्यवस्थापन गर्न नसकिने नगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

प्रक्रिया पूरा नगरि विभिन्न मितिमा विभिन्न पदमा सोझै नियुक्ति गरिएका तथा विभिन्न सामाजिक संस्थाबाट नियुक्ति लिई नगरपालिकामा कार्यरत करार सेवा, मासिक ज्यालादारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकहरूलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि २०७९ कात्तिक १ गतेबाट म्याद थप नहुने उल्लेख गरिएको छ ।

यता सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवारले आफूलाई तालाबन्दीको विषयमा कुनै जानकारी नभएको बताउनुभयो । नगरपालिकामा २६४ जना कर्मचारी ज्यालादारीमा कार्यरत रहेको उहाँले बताउनुभयो । केही समय नगरपालिका बन्द भएपनि केही फरक नपर्ने नगरप्रमुख कलवारले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?