हाम्रो इतिहास र धरोहरलाई चलचित्रमार्फत् दर्शकमाझ प्रस्तुत गरेका छौँ : अधिकारी

Read Time = 10 mins

निर्देशक/निर्माता रिमेश अधिकारीको चलचित्र ‘नालापानी’ यतिबेला सिनेमाघरमा आएको छ । यो चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको हो । नेपाली कला क्षेत्रमा निर्माता, निर्देशक र कलाकारका रूपमा चिरपरिचित अधिकारी ‘सडक छाप’ चलचित्रबाट यो क्षेत्रमा होमिनुभएको हो । यसअघि विभिन्न नौवटा चलचित्रमा काम गर्नुभएका अधिकारी यतिबेला ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र लिएर दर्शकमाझ आउनुभएको हो । हाम्रो इतिहास, हाम्रो धरोहरलाई यो चलचित्रमार्फत् हामीले दर्शकमाझ प्रस्तुत गरेका छौँ भन्नुहुने निर्माता/निर्देशक रिमेश अधिकारीसँग हिमालय टाइम्सको चलचित्र वार्ताका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

तपाईं निर्माता/निर्देशक रहेको चलचित्र ‘नालापानी’ शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हो, हामीले निर्माण गरेको चलचित्र ‘नालापानी’ शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ । पहिलो दिनको प्रतिक्रिया राम्रै आइरहेको छ ।

कस्तो चलचित्र हो नालापानी ?
हाम्रो इतिहास, हाम्रो धरोहरलाई यो चलचित्रमार्फत् हामीले दर्शकमाझ प्रस्तुत गरेका हौँ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीरयोद्धा कुँवर र उहाँका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ ।

के हो नालापानी युद्ध ?
विश्वलाई आफ्नो कब्जामा पार्ने रणनीतिका साथ अगाडि बढेको अंग्रेज फौजले सगरमाथाको देश एउटा सुन्दर पहाडी राज्य नेपाललाई पनि आफ्नो अधिनस्थ बनाउने अभिलाषाका साथ सन् १८१४ बाट नेपालमाथि आक्रमण सुरु भयो । सो समयमा अंग्रेज सेना र नेपाली गोर्खालीहरूबीच विभिन्न ठाउँमा युद्ध सुरु भयो ।

त्यसैमध्येको हाल भारतमा पर्ने देहरादुनस्थित नालापानी गढीमा भएको युद्ध पनि एक महान् युद्ध हो जहाँ नेपाली फौजका तर्फबाट कप्तानी वीर बलभद्र कुँवरले गर्नुभएको थियो ।

आधुनिक हातहतियारले सुसज्जित अंग्रेज सेनासँग वीर बलभद्र कुँवरको नेतृत्वमा नेपाली गोर्खाली सेनाका साथ महिला, बालबालिकासमेत जम्मा ६०० सेनाले घरेलु हतियार भाला, खुकुरी, गुलेली, मट्यांग्रा, घुँयत्रोसहितले साहसिक युद्ध गरेका थिए । सो युद्ध करिब एक महिनासम्म निरन्तर चल्यो र तीनपटकसम्म अंग्रेज फौजले लज्जास्पद हार बेहोर्‍यो । अन्त्यमा नेपाली फौजसँग कसैगरी पनि युद्ध जित्न नसक्ने निश्चित भएपश्चात् बदनियत र छलकपट गरी नेपाली फौजको पानीको मुहानसमेत बन्द गरियो ।

चार दिनसम्म पानीसम्म नपिई अंग्रेज सेनासँग युद्ध ग¥यो । पानीसम्म पिउन नपाई छटपटिएका आफ्ना सेनालाई बलभद्र कुँवरले देखेर आफ्ना सहकर्मीसँग सल्लाह गरी अदम्यका साथ नेपाली सेना नांगो खुकुरी देखाउँदै करिब ७० जनाको समूह अंग्रेजकै अगाडिबाट उनीहरूलाई लल्कार्दै स्वेच्छाले किल्ला छोडी बाहिरियो । नेपाली सेनाले हार स्वीकार नगरी त्यहाँबाट निस्केको हो । तत्पश्चात् अंग्रेज सेनाले किल्ला प्रवेश गर्‍यो ।

त्यस किल्लाको विकराल परिस्थिति देखेर नेपालीहरूको वीरता र अदम्य साहस र राष्ट्रप्रेमको उच्च मूल्यांकन गर्दै सम्भवतः पहिलोपटक शत्रुलाई सम्मान गर्दै अंग्रेज सेनाले स्तम्भ निर्माण गरी विश्वमा गोर्खाली नेपाली सेनालाई सबैभन्दा बहादुरको उपमासहित सम्मान गरिएको छ । यही विषयवस्तुलाई हामीले चलचित्रमार्फत् प्रस्तुत गरेका छौँ । यसलाई हामीले दस्तावेजी गरेका हौँ ।

किन बनाउनुभयो नालापानी ?
हाम्रो भोलिको पुस्तालाई हाम्रा वीर पुर्खाले गौरवपूर्ण लडेको इतिहासलाई चलचित्रमार्फत् प्रस्तुत गर्ने जमर्को गरेर नालापानी निर्माण र निर्देशन गरेको हुँ । यो चलचित्रका लागि नालापानीमा नै पुगेर पाँच वर्ष खोज अनुसन्धानपछि निर्माणमा जुटेको हुँ ।

कसरी निर्माण भयो नालापानी ?
यो चलचित्र निर्माणमा हामीलाई नेपाली सेनाले ठूलो सहयोग गरेको छ । उहाँहरूको सहयोगबिना यो सम्भव थिएन । प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातहरूसँग पटक-पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायत पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको हो ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशानविजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गंगानारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ । राम भट्टराई र हरि उप्रेतीले रचना गरेको चलचित्रको गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्यको स्वर छ । ‘नालापानी’का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र म छौँ ।

कर छुटको कुरा पनि थियो नि के भयो ?
हो, यो चलचित्रको कर छुटको कुरा थियो । यसका लागि प्रक्रियामा छ ।

अन्त्यमा ?
हामीले ऐतिहासिक चलचित्र बनाएका छौँ । सबैको साथ सहयोगको अपेक्षा गरेका छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?