कविता : दिदीबहिनीमा पुकार !

बद्रीप्रसाद दाहाल
Read Time = 2 mins

प्यारा दाजु र भाइका हृदयका उल्लास बैनीदिदी !
यौटैकाख र कोखमा उर चुसी हुर्की बढ्यो जिन्दगी ।।
मान्यौ दाजु भनेर जन्म घरमा आज्ञा र निर्देशन ।
बोक्यौ भाइ भनेर काँध बुइमा आमासरीकै मन ।।

खेल्थ्यौ भाइ र दाजुका सँगसँगै, बाज्थ्यौ र मिल्थ्यौ बसी ।
त्यस्तो सुन्दर गेह छोड्नु तनया शास्त्रीयताको दसी ।।
आए चाड र बाड उत्सव भने, फिर्छन् स्वसा माइत ।
कर्मैको घरबाट जन्मघरमा, गर्छन् सधैँ साइत ।।

आयो भाइटिको तिहार रसिलो, आयौँ दिदी हो ! लिन ।
आमाबा भतिजा र दाजु भतिजी, न्यास्रीरहेछन् हिँन ।।
भो, भो, भो महँगा लुगा र मसला बोक्दै नबोक्द्यौ दिदी ।
तिम्रै हार्दिक प्यार मिष्ट-मसलाभित्रै रहोस् जिन्दगी ।।

ढासा नक्कल स्वाङ जो जति चले तोडेर हामी उठौँ !
बैनी दाजु र भाइ हो ! सुरसिलो, आदर्श बुन्नै जुटौँ ! !
अन्तर्देश पुगेर वस्तु बटुली, व्यर्थै नगद्र्यौ व्यय ।
चोखा हार्दिक स्नेह स्निग्ध ममता, घोलेर गाऔँ जय !!

उब्जन्छन् पुरगाउँमा जति कुरा, सौगात नैवेद्य होस् !
सामन्ती नव-आढ्यका चलनको पूरै तिरस्कार होस् ।।
कस्तो हार्दिक धर्मराजयमुना माया थियो निर्मल ।
त्यस्तै प्रेम ममत्व प्रोज्ज्वल बनून् दाज्यै दिदी सुन्दर ।।
समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?