शववाहन सेवा निःशुल्क

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

कैलाली । कैलालीको टीकापुरमा शववाहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववाहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् । डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो ।

ट्रेड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ । “सञ्चालनमा ल्याएको शववाहन प्रयोग गर्दा रकम लाग्न थालेपछि एक वर्षको लागि सहयोग गरेको हुँ”, तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले भन्नुभयो, “यहाँ उपचारमा आउने धेरै विपन्न परिवार हुन्छन् । हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सघाउन खोजेको हो ।”

उहाँले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताउनुभयो । कोरोना महामारी फैलिएका बेला अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो । “अस्पतालको आह्वानमा चपाईले एक वर्षका लागि सञ्चालन खर्च दिनुभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो”, “हाम्रो आग्रहलाई उहाँले स्वीकार गरी सघाउन तयार हुनुभयो, यसले मृतकका आफन्त र अस्पताललाई पनि सहज भएको छ”, उहाँले भन्नुभयो, “चपाईजस्तै मनकारी भएकाले हामीलाई काम गर्न ऊर्जा मिल्छ । बिरामीको उपचार गरेर आफन्त पीडामा हुन्छन्, यो सहयोगले ठूलो राहत हुन्छ ।”

गत वर्षको लागतका आधारमा अनुमान गरिएको वार्षिक रु तीन लाख रकम चपाईको कम्पनीले बेहोर्ने र यसको दुरुपयोग हुन नदिने अध्यक्ष सोडारीले बताउनुभयो । अब टीकापुर र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?