जाडोमा न्यानो कपडा पाएपछि फुरुङ्ग बालबालिका

हिमालय टाइम्स
Read Time = 7 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा न ८ सिड्डिमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका साना साना बालबालिका खुशीले फुरुङ्ग हुँदै विद्यालयको चौर वरपर घुमिरहेका थिए । अनुहारमा खुशी शरिरमा फुर्ती कोहि झोला हल्लाइ रहेका त कोहि नङ्ग टोक्दै हासिरहेका अनि कोहि एक अर्काको कपडा हातले सुम्सुमाइरहेका ।

विजय माध्यामिक विद्यालय कालैमा अध्यनरत विद्यार्थीहरुले यो जाडो सिजनमा न्यानो कपडा र स्कुलको ड्रेस पाएपछि देखिएको दृश्य थियो यो ।

सोरु गाउँपालिकाका भित्र ७ वटा सामुदायिक विद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई व्याक टु लाइफको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी-मुगु) नामक गैर सरकारी संस्थाको सहजीकरणमा न्यानो कपडा र विद्यालय ड्रेस उपलब्ध गराएपछी विद्यार्थीहरु खुशी देखिएका हुन् ।

विद्यार्थी मात्र होइन आफ्ना छोरा छोरिले यो चिसो सिजनको बेला न्यानो कपडा र ड्रेस पाएपछि अविभावकहरु पनि खुशी भएका छन् ।
केसिडिसि मुगु स्वास्थ्य, शिक्षा तथा सामुदायिक परियोजनाका परियोजना प्रवन्धक कृष्ण बोहोराका अनुसार सोरु गाउँपालिकाका ७ र छायानाथ रारा नगरपालिकाको १ विद्यालयमा अध्यनरत १ हजार ८५ विद्यार्थीलाई न्यानो कपडामा ट्र्याक सुट, ज्याकेट, टोपि र ड्रेसमा सट, पाइन्ट, मेण्डि, जुत्ता र मोजा दिइएको छ ।

चिसो मौसममा न्यानो कपडाको अभावले र स्कुल ड्रेस नहुँदा बालबालिकाको मनोबैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस र कपडा कै कारण विद्यालय शिक्षाबाट वन्चित हुन नपरोस् भनेर न्यानो कपडा र ड्रेस वितरण गरिएको केसिडिसी मुगुका अध्यक्ष संगिता मल्ल शाहीले जानकारी गराउनुभयो ।

अध्यक्ष शाहीका अनुसार व्याक टु लाइफको आथिक सहयोगमा सोरु गाउँपालिका विजय मावि कालै ४९१, मष्टा आधारभुत विद्यालय तलिकालै ८९,  शिवदेव आवि खनाया १२८, श्री नेरा आवि सिड्डि ५८, बालज्योती आवि गिलाहा ५६, जनज्योती आवि रुम १३२, महादेव आवि आसिधारा २१ जना गरि जम्मा ९७५ जना छात्र छात्रा विद्यार्थीलाई ड्रेस र न्यानो कपडा वितरण गरिएको छ भने छायानाथ रारा नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ११० जना विद्यार्थीलाई न्यानो कपडा छिट्टै दिइने छ ।

कपडा मात्र होइन यी विद्यालयका विद्यार्थी बालबालिकालाई पटक पटक कापी, कलम, पेन्सिल र झोला पनि दिइँदै आएको जनाइएको छ ।
न्यानो कपडा, ड्रेस र स्टेशनरी पाउन थालेपछि विद्यार्थी नियमित हुने, पढाइमा ध्यान दिने गर्न थालेको विजय मावि कालैका प्रधानध्यापक वीर बहादुर बमले बताउनु भयो ।

ग्रामिण भेगका बासिन्दाको आर्थिक अवस्था नाजुक छ । सामान्य कपडा, कापी कलम सम्म किन्न सक्ने क्षमता छैन । आफ्ना छोरा छोरिलाई कपडा, कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गर्थे ।  कपडा स्टेसनरी सहयोगले कमजोर अविभावकको पीडामा मलम लागेको भन्दै प्रअ बमले सहयोगी दातृ निकाय र संस्थालाई धन्यवाद दिनुभयाे ।

'दशैँ विदा पछि स्कुल खुल्यो । स्कुल आउँदा जाडो शुरु भैसकेको थियो । म सङ्ग बाख्लो लुगा थिएन । पातला ड्रेस र घरका कपडा थिए । बाबा आमालाई ज्याकेट, सुइटर किनिदिन भनेँ, तर बाबाले पैसा छैन पैसा भएको बेला गमगढी बजार गएर किनेर ल्याउँला भन्नू हुन्थ्यो । बाबासङै पैसा भएनछ । १ महिना वित्दा पनि किन्नु भएन अब बाबालाई सजिलो भयो । संस्थाले ज्याकेट, ट्र्याक्सुट, टोपी दियो । स्कुलमा कोठा भित्र दिन भर बस्दा चिसोले आङै काम्थ्यो, कति खेर सर जालान र घाम ताप्न बाहिर जाउँला हुन्थ्यो, अब तातो हुने भयो, बाक्ला लुगा पाइहाल्यौँ '-विजय मावि कालैमा कक्षा १० मा अध्ययनरत जेटकला कामीले भन्नुभयो ।

नेपाल राष्ट्रिय आवि सिड्डिमा बालकक्षामा पढ्ने ४ वर्षिया सुनपुरा रोकायाले आफुले लगाएको ज्याकेट समाएर हल्लाउदै तातो छ भन्दै खुशी व्यक्त गर्नुभयाे ।

व्याक टु लाइफले स्थानिय गैरसरकारी संस्थाको सहकार्यमा विगत लामो समय देखि मुगुमा स्वास्थ्य, शिक्षा, पुननिर्माण, राहत, उपचारलगाएतका क्षेत्रमा काम गर्दै आएको छ । यसबाट गरिव, निमुखा, पीडित र महिलाहरु प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?