तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर तिहार मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ ।

‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ,’ काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भन्नुभयो,’ ‘गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उहाँका अनुसार होमस्टेमा दैनिक ५०/६० जना आन्तरिक पर्यटक आइरहेका छन् ।

गतवर्ष झण्डै एक वर्ष बन्द रहेको काउलेपानी होमस्टे गत चैतमा मात्रै खुला गरिएपनि वैसाखदेखि कोरोनाको दोश्रो लहर सुरु भएपछि पुनः बन्द भएको थियो । अघिल्लो वर्ष जस्तै दोश्रो चरणको कोरोना संक्रमणको जोखिमसँगै काउलेपानी होमस्टे करिव पाँच महिना बन्द भएको थियो ।

व्यवसाय बन्द हुँदा स्थानीय सामान्य कृषिमा व्यस्त भएका थिए । आन्तरिक पर्यटकका लागि खुला गरिएसँगै काउलेपानीमा पछिल्ला दिनमा पर्यटकहरुको आगमन सुरु हुन थालेपछि होमस्टे व्यवसायीहरु उत्साहित भएका छन् । पहिला जस्तै होमस्टे व्यवसायीहरु पर्यटकको स्वागत सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् ।

दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने जिल्लाका पर्यटकीय गाउँमा अघिल्लो वर्ष ६ महिना भन्दाबढी समय र यस वर्ष करिव पाँच महिना पर्यटकहरुको आगमन शुन्य भएको थियो ।

जिल्लाको काउलेपानीसहित सार्क नमूना घलेगाउँ, राईनासलगायतका व्यावसायिक होमस्टे सञ्चालन भएका गाउँमा अधिकांश स्थानीय पर्यटन व्यवसायमा निर्भर हुन थालेका छन् । घरायसी कामसँगै पर्यटकहरुको स्वागत सत्कारबाट स्थानीयले मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?