✍️ देवीभक्त ढकाल
एउटा क्षेत्रमा उत्कृष्ट हुँदै गरेका व्यापारी-व्यवसायीमात्रै होइन बौद्धिक व्यक्तित्वहरू पनि एकाएक राजनीतिमा किन आकर्षित हुन्छन् ? आफ्नो बौद्धिक तथा व्यावसायिक ज्ञान, अनुभवलाई उच्चतम प्रयोग गरेर प्रशस्त देश सेवा गर्न सकिन्छ । आफ्नै पेशाबाट प्रतिष्ठित र सम्मानित बन्न सकिन्छ भन्ने आत्मविश्वासको विकास हाम्रो समाजले तथा राजनीतिले किन गर्न सकेन ? आफ्नो पेशागत कार्यबाट आफू सन्तुष्ट नहुने रोग किन सबैलाई लागेको छ ? एउटा क्षेत्रमा उच्च पदमा रहेको र पेशामा उत्कृष्टताको श्रीपेच भिरेको व्यक्ति फेरि त्यही प्रदूषित राजनीतिप्रति किन आकर्षित हुन्छ ?
राजनीतिलाई शुद्धीकरण गर्ने विशेष योजनाका साथ प्रवेश गरेर राजनीतिलाई शुद्धीकरणको परिणाम दिने काम कारबाही त्यस्ता कुनै व्यक्तिबाट आजका मितिसम्म नभएकाले पेशा परिवर्तन गर्नेहरूबाट सुधार हुन्छ भन्ने विश्वास समेत जनमानसमा नहँुदा यस्ता गैरराजनीतिक व्यक्तिहरूको प्रवेश राजनीतिमा हँुदा नेपाली समाज आशावादी बन्ने अवस्थामा छैन । योजना आयोगजस्तो सम्मानित संस्थामा राजनीतिक नियुक्ति लिनेहरू आफ्नो कार्यकालमा विशेष योजना, त्यसको कार्यक्रमका माध्यमले देश र जनतालाई प्रतिफल दिने विशेष योजनाबाट स्थापित हुने तथा प्रतिष्ठा आर्जन गर्ने सम्भावनाको खोजीमा दत्तचित्त हुनुभन्दा प्रत्यक्ष राजनीतिमा किन हाम्फाल्छन् ?
एक पार्टीबाट अर्को पार्टीमा र एक पेशाबाट अर्को पेशामा स्थानान्तरण हुनेहरू अपवादबाहेक प्रायः असफल नै हुन्छन् । त्यसभित्र नितान्त निजी स्वार्थ हुन्छ । यसको अर्थ राजनीतिमा अन्य क्षेत्रका, अन्य पार्टीहरूका असफलहरूले के अवसर देखेँ ? किन पार्टीमा आएँ ?
झट्ट सुन्दा, पढ्दा सामान्य जस्तै लाग्ने यो विषयको गहिरिएर अध्ययन गर्ने हो भने हाम्रो राजनीति र व्यावसायिक इमानदारीतामा यसले सधैँ प्रश्नचिहृन लाग्ने गर्छ । यो मनोविज्ञान नै देशको प्रगति र उन्नतिमा बाधक हो कि भन्दा पक्कै अत्युक्ति हुँदैन । यस विषयमा सबैले निरपेक्ष रूपमा गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने हुन्छ ।
एक पार्टीबाट अर्को पार्टीमा, एक पेशाबाट अर्को पेशामा स्थानान्तरण हुनेहरू अपवादबाहेक प्रायः असफलहरू नै हुन्छन् । त्यसभित्र नितान्त निजी स्वार्थ हुन्छ । यसको अर्थ राजनीतिमा अन्य क्षेत्रका, अन्य पार्टीका असफलहरूले के अवसर देखेँ ? किन पार्टीमा आएँ ? व्यापारी, व्यवसायी, उद्योगपतिहरू किन राजनीतिमा आकर्षित हुँदैछन् ? किन राजनीतिका शीर्षस्थ व्यक्तित्व व्यवसायीलाई पार्टीमा भित्र्याउन मरिहत्ते गर्छन् ? एउटा व्यवसायी एउटा संसदीय कार्यकाल एउटा पार्टीमा र अर्को संसदीय कार्यकाल अर्को पार्टीको सदस्य बनेर पनि राजनीतिबाट व्यवसायमा हुने सम्भावित लाभलाई कसरी पार्टीका नेताहरूलाई प्रयोग गर्न सकिन्छ भनेर सबै व्यवसायीले पार्टीहरूलाई अपवित्र प्रयोगशाला जस्तै बनाएका छन् ।
ठूला भनिने पार्टीका शीर्षदेखि सबै तहका नेताहरूले आफ्नो पार्टीको हैसियत अनुसारका ठूलादेखि साना व्यवसायीलाई कसरी आफ्नो पक्षमा राख्न सकिन्छ भनेर सधैँ गृहकार्य गरिरहेको विषय घाम झैँ छर्लंग छ । नेताहरूमा र कार्यकर्तामा व्यावसायिक व्यक्तित्वप्रति मोह किन ? यसको कारण र प्रभाव थाहा हुँदाहुँदै केही असल कार्यकर्ताको विरोधका बाबजुद सबै पार्टीहरूमा त्यस्ता कार्यकर्ताले पार्टीभित्र पकड गुमाउँदै गर्दा आयातीत व्यक्ति, व्यवसायीहरूले पकड बनाएका छन् ? पार्टीहरूमा लगानी गर्नेहरू विस्थापित र आयातीतहरू सम्मानित हुने गलत परम्पराको विकास भएको छ । यसले नेपाली राजनीतिलाई प्रदूषित बनाएको छ ।
अहिलेको अवस्था र व्यवस्थाले के देखायो भने राज्य संयन्त्रलाई दुरुपयोग नगरिकन कुनै व्यवसायी तथा औद्योगिक घराना आफ्नो व्यावसायिक सुरक्षा प्रबद्र्धन हुन्छ भन्ने विश्वास गर्दैनन् । यस्तो अवस्थामा व्यवसायीको राजनीतिमा हुने प्रवेशले जनतालाई राजनीति थप प्रदूषित हुन्छ कि भनेर आशंकित बनाउने विषय स्वाभाविकै भन्नुपर्छ । त्यस्तै राजनीति कर्मीहरूमा पनि राज्यसत्ताको दुरुपयोग नगरिकन राजनीतिक भविष्य सुरक्षित हुन सक्दैन भन्ने विश्वासका कारण राजनीतिलाई खुलेयाम दुरुपयोग गर्नेहरूद्वारा पार्टीहरूको नेतृत्व हुँदा राजनीतिमा चरम निराशासँगै विकृति मौलाएको छ ।
त्यसैले राजनीतिक पार्टीका नेताहरूको सुरक्षा र राज्यव्यवस्थाको सहयोगविना व्यवसायमा टिक्न र बिक्न सकिँदैन भन्ने निष्कर्षका कारण सबै पार्टीहरूमा व्यवसायीहरू आबद्ध हुने परम्परा बसेको छ । यस्तो परिस्थितिमा सरकारले आफ्ना र अन्य पार्टीका व्यवसायीलाई विभेद गर्ने सम्भावना उच्च रहेको पुष्टि हुन्छ । विभेद र नाजायज लाभ लिने संस्कृतिको राजनीतिले निराशाबाहेक आशाको बीजारोपण गर्दैन । राजनीतिलगायत सबै क्षेत्रमा स्वार्थ हाबी हुँदा यसले कुशासनको जबर्जस्त आधार बनाएको छ भने सुशासनको सम्भावना पाइलैपिच्छे मेटिएको छ । नेपाल र नेपालीका लागि दुर्भाग्यको पूर्वाधार हो ।
यदि व्यवसायीले राजनीतिबाट नाजायज फाइदा लिने सम्भावना नभएको भए उनीहरू किन सबै राजनीतिमा आकर्षित हुन्थे ? अर्कोतर्फ राजनीति गर्नेहरूले व्यापारी तथा औद्योगिक घरानाहरूबाट नाजायज लाभको सम्भावना नभए किन यिनीहरू सबै पार्टीका र सबै तहका राजनीतिमा आबद्धहरूले आफ्नो हैसियत अनुसारका उद्योगपति, व्यापारी र व्यवसायीलाई आफ्नो पकडमा राख्न किन मरिहत्ते गर्छन् ? यसको प्रभाव प्रशासन, आर्थिक क्षेत्रहरूमा र नेताहरूको रहनसहन, जीवनशैली साथै आर्थिक गतिविधिमा प्रष्टै देखिएको छ ।
यो तीतो सत्यका विषयमा राजनीतिक पार्टीका नेताहरू तैँ चुप मैँ चुपको अवस्थामा छन् । कार्यकर्ताले यसबाट उत्पन्न विकृति र विसंगतिलाई बुझ्दाबुझ्दै किन खुलेर नेताहरूको आलोचना गर्न सक्दैनन् ? समर्थन र आलोचनासमेत आफ्नो फाइदाको दृष्टिकोणबाट हुने राजनीतिमा समर्थन वा आलोचनाको अर्थलाई अनर्थमा परिणत गरिदिएका कारण अहिले समर्थन र आलोचना नै स्वार्थप्रेरित विषय बनेको छ । समर्थन गर्ने र विरोध गर्ने दुवै पक्षप्रति आमजनता विश्वास गर्दैनन् । निष्पक्ष विरोध र निष्पक्ष समर्थनसम्म नहुने राजनीतिभित्रको अन्तरविरोध र विकृतिको निकास खोजीबारे नेपाली राजनीति अझै अलमललमा छ ।
विरोध वा समर्थन व्यक्तिगत फाइदाका लागि हुने राजनीतिले प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउँछ । जनताको विश्वास गुमाएका राजनीति कर्मीहरूबाट देशले विकास र समृद्धि गर्छ भनेर डङ्का पिट्ने र त्यसलाई अन्धसमर्थन गर्नेहरूबाट देशको राजनीति दुर्घटनाग्रस्त बाटोमा अग्रसर भएको अनुभूति आमजनताको मन मस्तिष्कमा हुनु भनेको नेता र व्यवस्था दुवै असफलको प्रमाण हो । व्यवसायीहरू व्यापारी घरानाका व्यक्तिहरू कुनैमा पनि राजनीतिक झुकाव कुनै पार्टी वा नेताप्रति स्थायी छैन । तैपनि उनीहरूप्रति सबै पार्टीका नेता र कार्यकर्ता सधैँ किन आकर्षित हुन्छन् र मरिहत्ते गर्छन् ?
सत्तामा रहेका पार्टीहरूमा आबद्ध हुन व्यवसायी किन मरिहत्ते गर्छन् ? यो भित्री रहस्यमा प्रवेश गर्ने हो भने देशलाई लुटिएको विषय घाम झैँ छर्लंग छ । लाग्छ जुवाको खेलमा जोक्करको के हैसियत हुन्छ त्यही हैसियत सबै पार्टीहरूले व्यावसायिक घरानालाई दिएका छन् । सबै पार्टीमा व्यावसायिक घरानाको प्रवेशले सरकारको निर्णय प्रक्रियामा समेत हस्तक्षेप हुने विषय अब कहीँ कतै गोप्य छैन । सबै पार्टीहरूमा प्रवेश गर्ने व्यवसायीहरूको निजी स्वार्थभित्र राष्ट्र लुट्ने र आफूमाथि उठ्ने योजना छ । तिनै व्यवसायीहरू सबै पार्टीहरूका नेतालाई किन प्रिय हुन्छन् ?
यो विषयभित्र प्रवेश गर्दा राजनीतिमा व्यवसायीहरूको प्रवेशले निम्त्याउने विकृति स्पष्ट हुन्छ । आर्थिक तथा सामाजिक क्षेत्रहरूमा यसको प्रत्यक्ष दुष्प्रभाव देखिएको मात्रै छैन, बजेट निर्माण जस्तो संवेदनशील क्षेत्रमा समेत विकृति छताछुल्ल छ । सबै अर्थमन्त्री सधैँ विवादित र आलोचितसमेत भएका छन् । मुख्य कारण राजनीतिक व्यक्ति र पार्टीहरूमा व्यावसायिक घरानाको प्रवेश र पहुँच मुख्य कारण हो । यहाँ राजनीतिक पार्टीका नेता र कार्यकर्तासमेत व्यापारी, व्यवसायीसँगको सम्पर्कविना आफ्नो राजनीतिक भविष्य सुनिश्चित किन देख्दैनन् ? व्यावसायिक घराना राजनीतिक व्यक्तिहरूको सम्पर्कविना व्यावसायिक प्रगति हुने सुनिश्चितताको सम्भावना किन देख्दैनन् ?
यस्ता विषयले नेपालको राजनीति, राजनेताप्रति अविश्वास र घृणाको पर्खाल बन्छ । यो अविश्वास, घृणाले मात्रै समाधान दिँदैन । यसले के प्रष्ट हुन्छ भने राजनीतिक व्यक्तित्व, व्यावसायिक व्यक्तित्वबीचको स्वार्थप्रेरित सम्बन्धले राष्ट्रिय राजनीति र राष्ट्रको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ भन्ने कुराको सत्य र तथ्यमा आधारित बहस प्रारम्भ हुन जरुरी छ । स्वार्थप्रेरित व्यापारी र व्यावसायिक घराना र बौद्धिक व्यक्तित्वको राजनीतिमा भएको प्रवेशले हुने अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभावको निरपेक्ष मूल्यांकन जरुरी छ । अन्य क्षेत्रमा सफल राजनीतिमा आउँदा त्यसको सन्देश के जान्छ ?
यदि उनीहरू असफल हुन् भने उनीहरू राजनीतिमा किन र कसरी सफल हुन्छन् ? यी आगन्तुक सफल–असफलहरूले राजनीतिमा थप विकृति त थप्दैनन् ? हाम्रो राजनीतिले आमनेपालीलाई चनाखो हुन विशेष सन्देश दिनहुँ प्रवाह गरेको छ । राजनीतिलाई अन्य क्षेत्रका असफल थुप्रने थलो बनाइयो भने राजनीति अझ बिग्रने निश्चित छ । तसर्थ स्वतन्त्रहरूको राजनीतिमा जुन आगमन भएको छ यसमा सकारात्मक पक्ष र नकारात्मक पक्ष दुवै छन् । जसले आफ्नो क्षेत्रमा राम्रो काम गरेको छ अझै राम्रो काम गरेर थप उत्कृष्टता प्राप्त गर्ने साधनामा किन मानिस लाग्दैनन् ?
विनाजोखिम, विनालगानी धनी हुने क्षेत्र राजनीति हो भन्ने सन्देश वर्तमान राजनीतिले दिएकाले नै नयाँ मानिसहरू ओइरो लागेका हुन् भने अझै राजनीतिले नकारात्मक बाटो लिन्छ । अहिले आउने स्वतन्त्रहरू सबैलाई एउटै डालोमा हालेर सकारात्मक र नकारात्मक टिप्पणी नगरौँ । हाम्रो राजनीतिमा सबैलाई घोचेर बोल्न आउँछ तर सोचेर बोल्ने बानी नै छैन । राजनीतिलाई घोचपेच, धनार्जन, पदको बाँडफाँड, परिवार र नातेदारलाई नियुक्ति सरुवा बढुवामा सीमित गर्दा राजनीतिप्रति र राजनीति गर्नेहरूप्रति घृणाको भाव छ । यो देश र समाजको विकास र परिवर्तनका लागि राम्रो लक्षण किमार्थ होइन ।
विनाजोखिम, विनालगानी धनी हुने क्षेत्र राजनीति हो भन्ने सन्देश वर्तमान राजनीति भएकाले नै नयाँ मानिसहरू ओइरो लागेका हुन् भने अझै राजनीतिले नकारात्मक बाटो लिन्छ । त्यसैले अहिले आउने स्वतन्त्रहरू सबैलाई एउटै डालोमा हालेर सकारात्मक र नकारात्मक टिप्पणी नगरौँ ।
अहिलेको निर्वाचनमा समेत यस्तै गलत संस्कृतिलाई मलजल गर्ने काम पार्टीहरूले गरेका छन् । आगामी पाँचवर्षे कार्यकाल पनि झगडा, टन्टामै जानेभयो । विकास र समृद्धि बोलीमा र भाषणमा मात्रै सीमित हुने, व्यवहारमा आफू र आफ्नो समृद्धि नै राजनीतिक आदर्श बन्ने पक्का छ । निर्वाचनप्रति आमजनता कत्ति आशावादी छैनन् । तसर्थ वर्तमान संविधान र व्यवस्थालाई जनताले अस्वीकार गरेको यसभन्दा अर्को प्रमाण के हुन्छ ? हिजो कार्यकर्ताले भगवानसरह मानेका पार्टीका नेताहरूको हैसियत किन अहिले अपराधीमा परिणत भयो ? यस सत्यलाई स्वीकार गर्ने राजनीतिक नेतृत्वको खाँचो सबै पार्टीमा छ ।
जलाश्र लैजाने उमेरका बुढाहरू आर्यघाट, सरकारको र पार्टीको कुर्सी नै लिएर जाने भनेर कम्मर कसेका छन् । अब हामीले हेर्ने नाटक सकारात्मक छैन । नकारात्मक कति हुन्छ त्यो घटनाक्रमलाई पर्खनुको विकल्प छैन । यो प्रजातान्त्रिक शासन व्यवस्था र जनताको दुर्भाग्य हो । सबै पार्टीहरूमा पसिना बगाउनेको भन्दा टिकट किन्नेको मूल्यांकन भइरहेको छ । त्यसैले विकास र समृद्धि बोलीमा राज्यको ढुकुटी नेताहरूको झोलीमा हुने अवस्था नै पुनरावृत्ति भयो भने निर्वाचनको के औचित्य हुन्छ भन्ने विषयले सबैलाई चिन्तित बनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच